वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेसँगै अमेरिकाले परीक्षणको दायरा बढाउने दाबी गरेको छ । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै नै दैनिक ५० लाख परीक्षण गरिने बताएका हुन् ।
विभिन्न राज्यका गभर्नर र स्वास्थ्य अधिकारीहरुले परीक्षणका लागि पर्याप्त स्वास्थ्य उपकरण नभएको गुनासो गरिरहेका बेला राष्ट्रपति ट्रम्पले छिट्टै नै अमेरिकाले दैनिक ५० लाखको परीक्षण गरिने बताएका हुन् । रिपोर्टहरुका अनुसार अमेरिकाले अहिले दैनिक रुपमा करिब २ लाख व्यक्तिको स्वास्थ्य परीक्षण गरिरहेको छ ।
कोभिड ट्रयाकिङ प्रोजेक्टका अनुसार पछिल्लो दुई महिनामा अमेरिकाले करिब ५७ लाख परीक्षण गरेको छ र आवर वल्र्ड इन डेटाका अनुसार अमेरिकामा प्रतिहजार १६ जनाको परीक्षण भइरहेको छ जुन इटालीको भन्दा कम हो । इटालीमा प्रतिहजार ३० जनाको परीक्षण भइरहेको छ । अमेरिकामा अहिलेसम्म सबैभन्दा बढी अप्रिल २२ मा ३ लाख १४ हजार १ सय ८२ परीक्षण भएको थियो ।
अमेरिकाले परीक्षणको दायरा बढाइरहेको बताए पनि कसको परीक्षण भइरहेको छ भन्ने चाहिँ अन्योल भएको विज्ञहरु बताउँछन् । राज्यहरुका अनुसार परीक्षण सीमित संख्यामा भएकाले यसको दायरा तत्काल बढाउनुपर्ने आवश्यकता देखिएको छ ।
बुधबार दिउँसोसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १२ हजार ५ सय ८३ पुगेको छ । त्यस्तै कोरोना भाइरसबाट ५८ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ । संक्रमित पुष्टि भएकामध्ये एक लाख १५ हजार ९ सय ३६ जना निको भएका छन् ।
