विमानस्थलबाट सीधै सिभिल अस्पताल लगियाे
काठमाडौँ — बंगलादेशको रंगपुर मेडिकल कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीलाई बुद्ध एयरको चार्टर उडानबाट मंगलबार दिउँसो काठमाडौं ल्याइएको छ । ढाकाबाट ३ सय किलोमिटर दुरीमा पर्ने रंगपुरमा एमबीबीएस चौथो वर्ष अध्ययनरत काठमाडौंकी ती छात्रा बिरामी परेपछि अभिभावककै खर्चमा नेपाल ल्याइएको बुद्ध एयरले जनाएको छ ।
‘बिरामीलाई ढाकाबाट दुबई, बैंकक, भारत र बंगलादेशमा रहेका जहाजमार्फत एयर–लिफ्ट गरेर काठमाडौं ल्याउन परिवारले धेरै दिनदेखि प्रयास गरेका रहेछन्,’ बुद्धका एक अधिकारीले भने, ‘अहिलको अवस्थामा त्यताबाट जहाज चार्ट गर्न नसकिएपछि अभिभावक हाम्राे सम्पर्कमा आएका थिए । सबै प्रक्रिया मिलाउँदा सोमबार राति १० बजे मात्रै परराष्ट्र मन्त्रालयबाट ढाका चार्टरको अनुमतिको पत्र पायौं ।’
अहिले लकडाउनका कारण व्यावसायिक उडानमा सरकारले रोक लगाएकाले उद्धारलगायत मानवीय सहायतासम्बन्धी चार्टर उडानका लागि परराष्ट्र, पर्यटन, गृह मन्त्रालयको अनुमति अनिवार्य गरिएको छ । २३ वर्षदेखि आन्तरिक उडानमा रहेको बुद्धले १० वर्षयता अन्तर्राष्ट्रिय उडान पनि गर्दै आएको छ ।
सरकारको अनुमतिपछि बुद्धकाे एटीआर–४२ विमान मंगलबार बिहान साढे १० बजे दुई नेपाली चिकित्सक, चालकदलका सदस्यसहित ढाका उडेको थियो । ८ जनामात्रै रहेको उक्त उडानमा बिरामीका अभिभावकलाई भने जाने अनुमति थिएन ।
ढाकामा नेपाली दूतावाससहित मेडिकल अध्ययनरत नेपाली विद्यार्थीहरू नवीन यादव, दिगम्बर यादव, अतिश घिमिरे, डा. निरोज कार्कीले बिरामीलाई एम्बुलेन्समार्फत शाह जलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याई नेपाल पठाउने प्रक्रिया मिलाइदिएका थिए ।
काठमाडौंमा दिउँसाे पौने ४ बजे अवतरण भएको जहाजबाट बिरामीलाई बुद्ध एयरले अभिभावकको जिम्मा लगाइदिएको थियो । विमानस्थलबाट थप उपचारका लागि एम्बुलेन्समा राखेर सीधै मीनभवनस्थित सिभिल अस्पताल लगिएकाे हाे ।
कान्तिपुरको सम्पर्कमा आएका बिरामी छात्राका अभिभावकले विस्तृत बोल्न चाहेनन् । चार्टर उडान गर्ने बुद्धलाई पनि बिरामीबारे नखुलाउन अनुरोध गरिएको वायुसेवा कम्पनीले जनाएको छ । ढाकास्थित एक नेपाली चिकित्सकका अनुसार रगत क्यान्सरबाट पीडित २२ वर्षीया छात्राको रगत जाँच गर्दा गम्भीर अवस्था देखिएपछि शनिबार रंगपुर कलेजले हेलिकप्टरमा एयर–लिफ्ट गरेर ढाका पुर्याई पीजी (बीएसएमएमयू) हस्पिटलमा भर्ना गराएको थियो ।
‘किमोथेरापी दिनुपर्ने, अभिभावकको अनिवार्य सहमति लिनुपर्ने, महँगो उपचार शुल्क तथा हेरचाह पनि चाहिने भएकाले नेपाल पठाइएको हो,’ उपचारमा संलग्न नेपाली चिकित्सकले कान्तिपुरसँग ढाकाबाट भने ।
ढाकामा बिरामीका अभिभावक नभएकाले नेपाली सिनियर चिकित्सकहरू जीवन तामाङ, मृदुल जोशी, साजन थापा, ईश्वर सिंह र निरोज कार्कीले उनलाई मंगलबारसम्म उपचारमा मद्दत गरेका थिए ।
