जो विदेशमै रोकिए...

केही समयका लागि गएकाहरु फिर्न तयार भएपछि रोकिनुपर्दा चिन्तामा छन् ।

वैशाख १७, २०७७

माधव घिमिरे

विराटनगर — गल्कोट, बागलुङकी डिलकुमारी न्यौपानेलाई कहिले घर फर्किनु जस्तो लागेको निकै दिन भइसक्यो । ६८ वर्षीया उनी पृथ्वीको पल्लोछेऊमा बसिरहँदा गाउँको घर सम्झिरहेकी छन् । यताका आफन्त, छरछिमेकबारे सोचिरहेकी छन् । ११ महिनादेखि उनी आफ्‍नो थातथलोभन्दा निकै टाढा क्यानडाको टोरन्टोमा छिन् ।

आफ्नै उमेरका श्रीमान् सुर्मादत्त न्यौपानेसँग त्यहाँ पुगेकी उनी छोरा बुहारीसँग बसिरहेकी छन् । साथमा दुई वर्षको नाति छ । त्यही नातिको स्याहार गर्ने भनेर दम्पती त्यता गएका थिए । फर्कने बेला हुनै लागेको थियो । कोरोना संक्रमणको महामारी फैलिएसँगै उडान बन्द भए । उनीहरु अचानक रोकिनुपर्यो ।

‘फर्किहाल्न पाएको भए कति जाती हुन्थ्यो, तर पाइएन,’ अनलाइन कुराकानीमा उनले भनिन्, ‘यता बस्न त कुनै अप्ठेरो छैन, तर बिरानो ठाउँमा घरभित्रै थुनिएर बस्नुपर्दा उकुसमुकुस हुनेरहेछ ।’

छोरा भवि न्यौपाने टोरन्टोमा रिक्रुटमेन्ट कन्सल्ट्यान्टका रुपमा काम गरिरहेका छन् । बुहारी कालिका उच्च शिक्षा अध्ययन गरिरहेकी छन् । अघिपछि यसो घुमघाम गर्न पाउँदा मन भुले पनि लामो समयदेखि घरैमा सीमित भएर उनीहरु बसिरहेका छन् । दुवै जना नातिसँग खेल्ने, मौलिक नेपाली परिकार बनाएर सबैलाई खुवाउने गर्दै समय कटाइरहेका छन् ।

‘२६ वर्षपछि आमाबुबासँग २ महिनाभन्दा लामो समय बस्न पाउँदा खुसी नहुने कुरै भएन,’ छोरा भवि भन्छन्, ‘तर फर्कने तय भइसकेको अवस्थामा अनिश्चित समयका लागि रोकिनुपर्दा उहाँहरु बेचैन हुनुहुन्छ ।’

घर फर्कनका लागि छोराले यसै साताको टिकट तय गरेका थिए । एयरलाइन्सले अर्को सूचना जारी नभएसम्म उडान नहुने खबर गरेपछि उनीहरु फर्कन पाएनन् । त्यहाँको सरकारले सबै उडानहरु रद्द गरेको छ ।

फर्कन पाइने समय निश्चित नभएकाले न्यौपाने दम्पतीमा बेचैनी बढेको छ । ‘उता गाउँमा भए आफन्त छरछिमेक, बस्तुभाउले गर्दा उति गाह्रो हुने थिएन होला,’ डिलकुमारीले भनिन्, ‘यहाँ छोरा बुहारी र नातिबाहेक अरु कोहीसँग भेटघाट छैन, चिनजान भएकाहरु पनि आउजाउ गर्ने अवस्था छैन, कहिले फर्कन पाइएला भन्ने भइसक्यो ।’

***

झापा, बिर्तामोडका दम्पती डिल्ली मिश्र र कृष्णा मिश्रलाई सुरक्षित रुपमा कसरी र कहिले घर फर्कने भन्ने चिन्ता छ । अमेरिकाको न्युयोर्कमा रहेका छोराबुहारी घनेन्द्र र बाबासँग बसिरहेका उनीहरु पनि घरमै थान्‍को लाग्नु परेको छ ।

बुहारी बाबा खनाल मिश्रका अनुसार नेपाल फर्कन अप्रिल १३ को टिकट टुंगो भइसकेको थियो । सरकारले उडानहरुमा प्रतिबन्ध लगायो । फर्कन सक्ने अवस्था तत्काललाई रहेन । न बाहिर कतै घुमफिरको अवस्था नै छ ।

यही भएर ५ वर्षका नाति बिनभ र दुई वर्षीया नातिनी बिअंकासँग खेलेर मिश्र दम्पतीको समय बितिरहेको छ । कहिले लुँडो खेल्ने, कहिले चेस खेल्न सिकाउने गरिरहेको उनीहरुले बताए ।

‘बाहिरफेर गर्न नपाइ एकै ठाउँ थन्‍किनुपर्दा दिक्कलाग्दो त हुने नै भयो,’ बुहारी बाबाले भनिन्, ‘नानीहरु भएकाले भुल्ने मेलो भने छ, कहिले उनीहरुसित लुँडो खेल्नुहुन्छ, कहिले चेस खेल्न सिकाउनुहुन्छ ।’ यो बेला छोराछोरीले हजुरबुबा हजुरआमाबाट नेपाली भाषा पढ्न र लेख्न सिक्दै गरेको उनले बताइन् ।

‘छोराछोरी यहाँ भएका अभिभावक अरु पनि निकै आएका छन्, नाति नातिना हुनेहरु उनीहरुसँगै खेलेर, केही सिकाएर समय बिताइरहेका छन्, बाबाले भनिन्, ‘अरुलाई झन् बढी उकुसमुकस भएको छ, घर कहिले फर्कन पाइएला भन्ने चिन्ताले सताएको छ ।’

***

संक्रमणको महामारीका कारण विदेशमा रोकिनुपरेका अभिभावक निकै रहेछन् । खनाल र न्यौपानेले आफूहरुले चिनेका साथीहरु कसैका आमा, कपितयका आमाबुबा दुबै अनि कसैका परिवारका अरु सदस्य उतै रोकिएका छन् । केही समयका लागि गएका भए पनि फर्कन नपाएर छटपटिएर बसिरहेको उनीहरुको भनाइ छ ।

अन्यत्रबाट आउन नपाएकाहरुको चिन्ता एकातिर छँदैछ । पढ्न र कामका लागि विदेशमा रहेका यताका अभिभावकमा पनि उस्तै चिन्ता छ । संक्रमणबाट जोगिन सबै उपाय अपनाउन, बसेको ठाउँबाट अन्यत्र आजजाउ नगर्न उनीहरुले आफ्ना सन्तानलाई भनिरहेका छन् ।

***

विराटनगर-३ की महाबती राजवंशीलाई रोजगारीका लागि विदेशमा रहेको छोराबारे चिन्ता लागिरहन्छ । २२ वर्षीय छोरा जयराज रोजगारीका लागि दुबइमा छन् । रोजगारीका सिलसिलामा पाँच महिनाअघि गएका उनको अवस्थाबारे हरपल चिन्ता लागिरहने महाबती बताउँछिन् ।

‘फोनमा सम्पर्क हुँदा सबै ठिक छ, सन्‍चै छु, सुरक्षित छु त भन्छ,’ उनले भनिन्, ‘तर मन ढुक्क हुँदोरहेनछ ।’ सुरक्षा गार्डका रुपमा काम गरिरहेका उनी हाल काममै छन् । कम्पनीले सुरक्षा प्रबन्धका साथ कामलाई निरन्तरता दिइरहेको जयराजले बताए ।

दुबईमै रहेका विराटनगरका सुमन राजव‌ंशीको भने काम बन्द छ । स्विमिङ पुल आसपास रहेर पौडन आउने र सिक्नेहरुको रेखदेर्ख गर्ने ‘लाइफ गार्ड’ का रुपमा काम गर्दै आएका उनीसहित कामदारलाई कम्पनीले एउटा कोठामा राखिदिएको छ । कम्पनीले एक समयमात्र खाना दिने गरेको उनले बताए । उनकी आमा रजनी राजवंशीका अनुसार काम पनि बन्द भएकाले छोरोको धेरै चिन्ता लागेको बताइन् ।

‘अरु बेला आफ्नै खर्चमा खाइरहेका छौं,’ सुमनले भने, ‘कहिले उडान खुल्ला र घर फर्कन पाइएला भन्ने लागिरहेको छ ।’

लकडाउनकोरोना भाइरस

माधव

Link copied successfully