बजेट अधिवेशन २८ गतेभित्रै, सरकारले संसद् सचिवालयलाई भन्यो- तयारी अवस्थामा रहनू- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट अधिवेशन २८ गतेभित्रै, सरकारले संसद् सचिवालयलाई भन्यो- तयारी अवस्थामा रहनू

प्रधानमन्त्रीका लागि 'विशेष व्यवस्था', दुई सांसदका बीचमा एक कुर्सी खाली रहने
जयसिंह महरा

काठमाडौँ — बजेट अधिवेशन बोलाउनेबारे सरकार र संसद्ले तयारी तीव्र पारेका छन् । संघीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले संसद् अधिवेशनको तयारी सुरु भएको हो । बजेट आउनु पहिला प्रि- बजेट छलफल र नीति तथा कार्यक्रम हुने भएकाले यसै महिनाभित्र संसद् अधिवेशन बोलाएर कम्तीमा प्रि-बजेट छलफल सक्ने तयारी भइरहेको छ ।

संसद्को बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् । सभामुख सापकोटाले बजेट अधिवेशनका लागि संसद् सचिवालयले तयारी गरिराखेको जानकारी गराउँदै सरकारको तयारीबारे चासो राखेका थिए । प्रधानमन्त्रीले बजेट अधिवेशन बोलाउने तयारीमा सरकार रहेको जनाएका थिए । उनले कोरोना भाइरसको संक्रमण फैलिने कुरालाई ध्यानमा राखेर बजेट अधिवेशन बोलाउने सोचमा रहेको सभामुख सापकोटालाई बताएका थिए ।

मुलुक अहिले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि जारी गरिएको लकडाउनमा छ । यो लकडाउन वैशाख २५ गतेसम्मका लागि जारी गरिएको छ । त्यसपछि कस्तो अवस्था आउँछ भन्ने निर्क्यौल भइसकेको छैन । सरकारले लकडाउनका बीचमा पनि स्वास्थ्य सुरक्षा अपनाएर संसद् अधिवेशन बोलाउने तयारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसँगको भेटमा प्रधानमन्त्रीले संसद् भवन हेर्ने इच्छा व्यक्त गरेका थिए । त्यसपछि प्रधानमन्त्री ओली, सभामुख सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतले संसद् भवन र बैठक कक्षको अवलोकन गरेका थिए । त्यस क्रममा सभामुख, अध्यक्ष र संसद् सचिवालय कर्मचारीहरूले संसद् भवनमा भइरहेको तयारी, सुरक्षा व्यवस्था लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

मन्त्रिपरिषद्को आगामी बैठकबाट संसद् अधिवेशन बोलाउने निर्णय हुनसक्ने स्रोतले जानकारी दिएको छ । वैशाख २१ गते पहिलेको मन्त्रिपरिषद् बैठकले ७ दिनको समय राखेर संसद् अधिवशेन बोलाउने तयारी गरेको बताइएको छ । सरकारले २८ गते पहिल्यै बजेट अधिवेशन बोलाउने तयारी गरेको हो ।

प्रतिनिधिसभाको बैठक कक्ष अवलोकनका क्रममा प्रधानमन्त्री, सभामुखलगायत।

सरकारले संसद् सचिवालयलाई बजेट अधिवेशनको लागि तयारी अवस्थामा रहन भनिएको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन् । 'आज संसद् भवनको अवलोकन गरेर आएका छौं । संसद् सचिवालयलाई अधिवशेनका लागि तयारी अवस्थामा रहन भनिएको छ,' उनले भनिन्, 'सामाजिक दूरी कायम गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।'

यसपटक प्री-बजेट छलफलका लागि पर्याप्त समय नमिल्ने बाध्यात्मक अवस्था आएको पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् । 'पहिला १५ दिन प्री-बजेट छलफलका लागि समय दिइन्थ्यो । बीचमा १५ दिन पनि दिइन्थ्यो । यसपालि समय घटाउनुपर्ने बाध्यात्मक अवस्था आएको छ । सरकारले चाहेर होइन कि बाध्यात्मक अवस्था आएको हो,' उनले भनिन् ।

सरकार प्री-बजेट छलफल पहिले गर्ने कि नीति तथा कार्यक्रम प्रस्तुत पहिले गर्ने भन्ने निष्कर्षमा पुगेको छैन । नीति तथा कार्यक्रम पहिला ल्याउने र त्यसपछि प्री-बजेटमाथि छलफल गर्ने परम्परा छ । यसपटक भने सरकारले पहिले प्री-बजेट छलफल गर्ने र त्यसपछि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ । संसद् सचिवालयका एक अधिकारीले भने सरकारले वैशाख महिना नै प्री-बजेट छलफल गराउने र जेठ पहिलो हप्ता नीति तथा कार्यक्रम गर्ने सम्भावना रहेको बताए ।

प्री-बजेट छलफल बजेट प्रस्तुत हुनु १५ दिन (जेठ- १५) पहिल्यै सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीलमा लेखिएको छ । सांसदहरूले उठाएका विषयलाई बजेटमा समेट्नका लागि बजेट प्रस्तुत हुनु १५ दिन पहिले यस्तो छलफल सक्नुपर्ने अभ्यास छ ।

प्रधानमन्त्रीका लागि 'विशेष व्यवस्था', दुई सांसदका बीचमा एक कुर्सी खाली रहने

बजेट प्रस्तुत गर्दा राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठक बस्ने गर्छ । दुवै सदनमा ३३४ सांसद रहेका छन् ।

संघीय संसद्को संयुक्त बैठक प्रतिनिधिसभाको बैठक कक्षमा बस्ने गर्छ । त्यहाँ सबै सांसदका लागि दूरी कायम गरेर बस्ने व्यवस्था गरिन लागेको संसद् सचिवालयले जनाएको छ ।

संसद् भवन अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम राख्नेबारे चासो राखेका थिए । मन्त्री तुम्बाहाङ्फेले यसबारे भनिन्, 'प्रधानमन्त्रीको सिट प्लानिङ कसरी गरिएको रहेछ भन्ने विषयमा हामीले अवलोकन गरेका छौं । सांसदहरूलाई कति दूरीमा राख्ने व्यवस्था गरिएको छ भन्ने पनि हेर्‍यौं ।'

संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले प्रधानमन्त्रीका लागि विशेष व्यवस्था गरिन लागेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली बस्ने लाइनमा अरू मन्त्रीहरूलाई राखिने छैन । पहिलो लाइनको बीचको सिटमा प्रधानमन्त्री ओलीमात्रै बस्नेछन् । उनी पछाडिको दोस्रो लाइनका सबै कुर्सी खाली राखिनेछ । एक 'रो'को एक लाइनमा ६ कुर्सी हुन्छन् ।

संसदमा आफू बस्‍ने सिटबारे जानकारी लिँदै प्रधानमन्त्री ओली । तस्बिरः रासस

प्रधानमन्त्रीको हालै मिर्गौला प्रत्यारोपण गरिएका कारण संक्रमणको जोखिम बढी हुने भएकाले विशेष व्यवस्था गर्न लागिएको हो ।

सांसदहरूका लागि भने निश्चित दूरी राखेर बैठकमा सहभागी हुने व्यवस्था गरिँदै छ । योगीका अनुसार दुई सांसदको बीचमा एक कुर्सी खाली गरेर दूरी कायम गर्ने तयारी भइरहेको छ । सांसदहरूलाई बैठक कक्षमा ठाउँ नपुगेमा दर्शक दीर्घामा सांसदहरूलाई राख्ने तयारी भइरहेको छ ।

संसद् भवनमा सांसद र अन्य सहभागीको स्वास्थ्य जाँचको व्यवस्था पनि गरिन लागिएको संसद् सचिवालयका सहप्रवक्ता तथा सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको संक्रमणलाई ख्यालमा राखेर स्वास्थ्य सुविधा संसद् भवनमा थप गर्न लागिएको हो । त्यसका लागि संसद् प्रवेश गर्ने हरेक ढोकामा डिसइन्फेक्सन गर्ने प्रविधि जडान गर्ने र सबैको ज्वरो नाप्ने व्यवस्था गर्न लागिएको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : वैशाख १७, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्

फुटबल खेलाडीलाई सहयोग गर्ने एन्फाको प्रतिबद्धता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल फुटबल संघ एन्फाले नेपाल तथा विश्वभरि फैलिएको कोभिड १९ (कोरोना) महामारीका कारण उत्पन्न भएको जटिल परिस्थतिमा फुटबल खेलाडी तथा फुटबलसम्बद्ध पदाधिकारीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै एन्फाले उक्त कुरा जानकारी दिएको हो ।

नेपालमा लकडाउनको अवधि थपिदै गर्दा फुटबल खेलाडी तथा यसमा समर्पित अन्यलाई परेको समस्या पहिचान गरी सहयोग गर्ने एन्फाले बताएको हो । एन्फाले यसका लागि संघका स्वास्थ्य समितिका संयोजक रत्नकुमार श्रेष्ठको संयोजकत्वमा राहत तथा सहयोग समन्वय समिति पनि गठन गरेको जनाएको छ ।

प्रकाशित : वैशाख १७, २०७७ १९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×