काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बुधबार बिहान बालुवाटारमा बजेट अधिवेशन बोलाउनेलगायतका विभिन्न विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री र समामुखबीच संघीय संसद्को बजेट(वर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय र सरकारको आगामी नीति तथा कार्यक्रमका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
जेठ १५ मा संसद्मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसपहिले नै प्रि-बजेट छलफल गर्ने परम्परा छ । त्यसका लागि पछिल्ला वर्षहरूमा वैशाख १५ लगत्तै बजेट अधिवेशन बोलाइने गरिन्थ्यो । तर कोरोना भाइरसको महामारीका कारण यस पटक विगतका वर्षहरुमा जति प्रिबजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल नहुने भएको छ । यस पटक प्रिबजेट र सरकारको नीति तथा कार्यक्रमबारेको छलफल अवधि घटाएर बजेट ल्याउने तयारी सरकारले थालेको छ ।
