खेलाडीको लकडाउन : ‘जहाँ इच्छा, त्यहाँ उपाय’

वैशाख १४, २०७७

पर्वत पोर्तेल

काँकडभिट्टा — लकडाउनअघिसम्म नियमित फिटनेस र क्रिकेट अभ्यासमा व्यस्त थिइन्, नेपाली महिला क्रिकेटकी कप्तान रुबिना क्षत्री । जब लकडाउन भयो, फिटनेस सेन्टर बन्द भयो । उनको नियमित व्यायाम रोकियो । घरबाट बाहिर निस्किन नहुने भएपछि नजिकै खेल मैदान गएर अभ्यास गर्ने तालिका पनि बिथोलियो ।

करिब एक साताको लकडाउन धैर्यसाथ पालना गरिन् । तर, एक सातामै यिनले आफूलाई फिजिकल्ली असजिलो महसुस गर्न थालिन् । सातापछि लकडाउन थपियो । अन्तत: यिनले घरमै फिजिकल फिटनेस र सामान्य अभ्यास गर्ने योजना बुनिन् । उनले सुनाइन्, ‘लकडाउन थपिएको थपिएै गर्दा फिजिकल्ली अनफिट हुने सम्भावना बढ्यो अनि घरमै सुरु गरें ।’ 

रुबिना अरु बेला सामान्यतय: ५ बजे उठिसक्थिन् । त्यसपछि करिब १० मिनेट जति हिँडेर पुग्थिन् क्लासिक फिटनेस । जिम क्लबमा अरु खेलाडीहरू पनि जुटिसक्थे । साढे ५ देखि करिब अढाइ घण्टा पसिना बगाएर लखतरान भएर घर फर्किन्थिन् । ‘खानपिन गरेर आराम गरेपछि अभ्यासका लागि काँकडभिट्टा माविको मैदान पुग्थिन् । ‘करिब ३–४ घण्टाको अभ्यास र अन्तिममा एक घण्टाजति फिटनेस मेरो रुटिन नै थियो,’ उनले सुनाइन्, ‘अहिले दैनिकी नै चौपट हुन पुग्यो ।’

जहाँ इच्छा त्यहाँँ उपाय भनेझै अहिले साढे ५ बजे बिहान उठिसक्छिन् । कहिले कोठाभित्रै त कहिले बाहिर म्याट ओछ्याएर फिटनेस ट्रेनिङ गर्छिन् । ‘ह्यान्ड आई को–अर्डिनेसन’ बाट ब्याटिङको अभ्यास भोक मेट्छिन् । ‘लुगा सुकाउने डोरीमा बल झुन्ड्याएकी छन् । त्यही बल प्रहार गरेर अभ्यास गर्छु,’ उनले सुनाइन् । फिटनेसमा उनी होलबडीसँगै एब्स (पेट घटाउने) को व्यायाममा बढी जोड दिन्छिन् । ‘लकडाउनले गर्दा खाना र रेस्ट ज्यादा भइरहेको छ,’ उनले भनिन्, ‘मीठो खाना र रेस्टले पेट चाँडो बढ्छ । पेटमा बोसो नलागोस् भनेर नियमित एब्सकै व्यायाममा जोड गर्छु ।’ 

फिटनेस सेन्टरमा गरिने व्यायामको तालिका अन्य साथीलाई पनि पठाइदिन्छिन्, मेसेन्जरबाट । महिला टिमकी कप्तानलाई चिन्ता छ, आफूमात्रै फिट भएर हुन्न, अरु खेलाडी पनि उत्तिकै फिट हुन जरुरी छ भन्ने । ‘फिटनेस तालिका त पठाइरहेकी छु तर उनीहरूले त्यसलाई पछ्याइरहेका छन् या छैन मलाई थाहा छैन,’ रुबिना भन्छिन् । साथीहरूसँग बाक्लै गफ हुन्छ सामाजिक सन्जालहरूमा । सबै खेलाडी निरास भइसके जस्तो लाग्छ उनलाई । तर, उनले हरेस खान दिन्नन् । कहिले फिटनेसको भिडियो त, कहिले क्रिकेटसम्बन्धी फिल्महरू पठाइ दिइरहन्छिन् । ‘साथीहरूको ध्यान अन्त नजाओस्, फिट रहुन् भन्ने लाग्छ,’ रुबिना भन्छिन् । 

लकडाउनअघि रुबिना चैत २७ मा भनिएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको तयारीमा आक्रामक ढंगले जुटेकी थिइन् । यिनका प्रशिक्षक बिरु श्रेष्ठले नियमित र कडा अभ्यास गराइरहेका थिए । जसै लकडाउन भयो, यिनको अभ्यास पनि टुट्यो । प्रधानमन्त्री कपका लागि महिला क्रिकेट खेलाडीको जिल्ला छनोट भर्खरै सम्पन्न भएको थियो । प्रदेश छनोट चाहिँ हुन नपाउँदै लकडाउन भइदियो । 

आगामी जुनमा मलेसियामा विश्वकप र एसिया कप छनोट आयोजना हुँँदैथियो । कोरोना भाइरसको सन्त्रासका कारण विश्वकै खेल गतिविधि ठप्प भएका वेला यो प्रतियोगिता हुन्छ या हुन्न यिनी बेखबर छिन् । ‘जुनमा हुने भन्ने सुनेकी थिएँ,’ उनले थपिन्, ‘मिति सर्‍यो या सरेन केही थाहा पाइएको छैन ।’ नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्पर्कवाट समेत रुबिना टाढा छिन् यतिवेला । 

रुबिनालाई मलेसियाको प्रतियोगिता नेपाली महिला क्रिकेटका लागि महत्त्वपूर्ण हो भन्ने लाग्छ । किनभने विगतमा एसिया कप र विश्वकपको छनोट अलग अलग हुन्थ्यो । केही वर्षदेखि सँगै हुन थालेको छ । अरु बेला पहिलो हुने टिममात्रै छनोट हुन्थ्यो । अहिले टप टु लाई छनोट गर्ने नयाँ नियम छ । ‘यसपटक हामी छनोट हुने सम्भावना धेरै थियो,’ उनी थप्छिन्, ‘छनोट महत्त्वपूर्ण छ महिला क्रिकेटको उन्नतिका लागि ।’ 

तर, यतिबेला सायद कुनै पनि महिला खेलाडी प्रतियोगिताका लागि फिट छ भन्ने उनलाई विश्वास छैन । ‘जुनको प्रतियोगिता पछि सर्छ होला,’ उनले भनिन्, ‘मिति सरेन भने हामीलाई गाह्रो हुनेवाला छ ।’ अरुबेला घरमा खासै समय दिन नपाउने रुबिना यतिबेला भने आमालाई भान्छामा सघाउँछिन् । खाना पकाउने र भाँडा सफा गर्ने गर्छिन् । एक महिनादेखि घरमै कैदीझै बस्नुपर्दा उनलाई ज्यादै सकस भएको छ । ‘घरमै थुनिएर बस्नु पनि ठूलो यातना जस्तो हुँदोरहेछ,’ रुबिनाले लकडाउन अनुभव साटिन्, ‘हैट ! ज्यादै बोरिङ, कष्टकर, सकसपूर्ण ।’ 

रुबिना अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीमा पनि जुटेकी थिइन् । तर कोरोनाको कहरले रुबिनासहित झापाका महिला क्रिकेट घर फर्किएका छन् । रुबिनासहित काजोल श्रेष्ठ, रोमा थापा, संगीता राई, अप्सरी खातुन, सवनम राई सबै यतै छन् । यू–१९ का खेलाडी निङ्मा शेर्पा, ललिता राजवंशी र ज्योति दनुवारलाई पनि यतिबेला घरतिरै भेटिन्छ । ‘बिहान–बेलुका ट्रेनिङ र फिटनेस गर्दै थियौं, बिहीबारदेखि त्यो पनि बन्द भयो,’ रुबिनाले सुनाइन् ।

लकडाउन

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully