खाना खोज्दै चोकचोकमा पुग्छिन् गर्भवती

सुत्केरी हुने मिति चिकित्सकले यही महिनालाई तोकिदिएका छन् । आराम गरेर पोसिलो खानेकुरा खानुपर्नेमा उनी घरमा सासूसुसरा र छोराछोरीको पेट भर्न पशुपति परिसर र चोकचोकमा माग्न जाने गर्छिन् ।

वैशाख १४, २०७७

मकर श्रेष्ठ

काठमाडौँ — ओछ्याउने थिएन । चिसो पर्खालमा अडेस लागेर बसेकी छन् । पातलो कपडा लगाएकी उनले सल बेरेकी छन् । सलको एक छेउमा थोरै हरियो खुर्सानी र एउटा काँक्रो पोको पारिएको छ ।

अनुहार मलिन देखिन्छ । खुसी होस् पनि कसरी ? सुत्केरी हुने दिन नजिकै जो छ । घरमा खानेकुरा छैन । न साथमा श्रीमान् छन् । वीरगन्ज मुरलीचोककी हाजिरा खातुन काठमाडौंस्थित कोठामा खानेकुरा नभएपछि हरेक दिन बिहान पशुपति आउँछिन् । कसैले केही दिए कोठामा त्यही बाँडेर खान्छिन् । कोठामा सासूससुरा, नन्द र छोराछोरीसहित ६ जना उनले मागेर ल्याउने खानेकुरा पर्खिबसेका हुन्छन् । बिहान ७ बजेतिर पशुपति परिसर आइपुग्ने खातुन १० बजेतिर कोठामा फर्किन्छिन् ।

लकडाउनअघि साहुसँग घर बनाउने काम गर्न मकवानपुरको पालुङ गएका श्रीमान् फर्केका छैनन् । चिकित्सकले यही वैशाखमा सुत्केरी हुने मिति तोकिदिएका छन् । आराम गरेर पोसिलो खानेकुरा खानुपर्नेमा यो बेला उनी घरमा सासूससुरा र छोराछोरीको पेट भर्न पशुपति र चोकचोकमा माग्दै हिँडिरहेकी छन् । ‘घरमा खानेकुरा केही छैन,’ उनले भनिन्, ‘घरमा हुने हो भने यस्तो अवस्थामा म किन माग्न आउनुपथ्र्यो र ?’

उनको परिवार गौशालास्थित टहरामा दुईवटा कोठा भाडामा लिएर बसेको छ । श्रीमान्ले कमाएर राखेको पैसा पनि एक महिनासम्म खाँदै सकिएको उनले सुनाइन् । स्थानीयको अनुरोधपछि वडा कार्यालयले वैशाख १ मा ५ किलो चामल र केही सामान उनको परिवारलाई पनि दिएको थियो । तर त्यो राहतले ६ जनाको परिवारलाई केही छाकभन्दा टरेन । ‘राहतका लागि मेरो मात्रै नागरिकता थियो । सासूससुराले नागरिकता ल्याउनुभएको थिएन,’ खातुनले भनिन्, ‘मलाई मात्रै ५ किलो दिए । त्यो चामल पनि केही दिनमै सकियो । चामल बचाएर धेरै दिन पुर्‍याउन जाउलो मात्रै खायौं ।’ राहतको चामल पनि सकिएपछि छिमेकीले दिएको चामलको जाउलो बनाएर छाक टार्ने गरेको उनले सुनाइन् ।

‘कति दिन वरिवरि माग्नु भनेर पशुपतिमा माग्न आएको पनि ५ दिन भइसक्यो,’ उनले भनिन्, ‘यहाँ पनि मलाई कसैले केही दिएको छैन । आजचाहिँ हरियो खुर्सानी र एउटा काँक्रो दिए ।’ उनलाई दैनिक छाक टार्ने चामल चाहिएको छ । तरकारी नभए पनि उनी नुनसँग मात्रै भए पनि खाना तयार रहेको बताउँछिन् । ‘हामीसँग एक छाक पुग्ने चामल नै छैन,’ उनले कान्तिपुर संवाददातासँग भनिन्, ‘तपाईं त मिडियाको मान्छे, दुई–चार सय होला दिनुस् न ।’ श्रीमान्सँग नियमित फोनमा कुरा हुन्छ । श्रीमान्ले खातुनको स्वास्थ्य अवस्थाको जानकारी लिइरहन्छन् । तर खातुनलाई स्वास्थ्यको भन्दा पनि खानाको चिन्ता बढी छ । मुस्लिम समुदायका सबैजसो शनिबारदेखि रमजान मनाइरहेका छन् । खानाकै समस्या भएकाले यस वर्ष रमजान नमनाउने उनले बताइन् । ‘खानलाई चामल छैन, के रमजान बस्नु ?,’ उनले प्रश्न गरिन् ।

घरमा खानेकुरा नभएपछि छोराछोरीलाई कहिलेकाहीँ पशुपति विकास कोषले वितरण गर्ने खाना खान लिएर आउँछिन् । छोरी ८ र छोरा ४ वर्षका छन् । सुत्केरी हुने दिन नजिकै आए पनि स्वास्थ्यमा समस्या आए खपेर बस्नुको विकल्प नभएको उनले सुनाइन् । ‘जे समस्या हुँदा पनि खपेर बस्नुको विकल्प छैन । जहाँ गए पनि पैसा चाहिन्छ । अनि मर्नै लागे पनि कहाँ जानु ?,’ उनले भनिन्, ‘पैसा नभएकाले जाँच गराउन अस्पताल पनि गएको छैन ।’

लकडाउनकोरोना भाइरस

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully