विराटनगर — भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिहरुबाट कोभिड १९ संक्रमण फैलिएको पाइएपछि अपनाउनुपर्ने सावधानी प्रदेश १ मा देखिएको छैन । १४ जिल्ला समेटिएको यो प्रदेशमा अन्यत्रबाट कति मानिस भित्रिए भन्ने यकिन तथ्यांकसमेत सरकारसँग छैन ।
यो बेला विदेशबाट आएकाहरूको तथ्यांक संकलन गरी उनीहरुको परीक्षण गर्नुपर्ने हो । विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा बसिरहेकाहरुको आरडिटी विधिले परीक्षण गर्नुबाहेक अरुको परीक्षण भएको छैन ।
संक्रमण फैलन नदिन गरिएको लकडाउनको अवधि एक महिना नाघिसकेको छ । अरु थप्नुपर्ने उच्चस्तरीय समितिले सरकारलाई सुझाव दिइसकेको छ । लकडाउनकै अवधिमा पनि भारतबाट आउने क्रम जारी छ । लकडाउन अघि आएकाको संख्या त झनै ठूलो छ ।
प्रदेशमा संक्रमितको संख्या २९ पुगेको छ । सुरुमा उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका व्यक्तिबाट कोरोना भाइरसको संक्रमण फैलिएको आशंका गरिएको थियो । तर, प्रदेश सरकारले भारतको सुरत र वैदेशिक रोजगारीमा दुबईबाट फर्किएका व्यक्तिबाट संक्रमण फैलिएको निष्कर्ष निकालेको छ ।
प्रदेशमा भारत र तेस्रो मुलुकबाट कति मानिस आए भन्नेबारे सरकार अनभिज्ञ देखिएको छ । आएकाहरु कहाँ छन् र उनीहरुको अवस्था के कस्तो छ भन्ने त झन् जानकारी हुने कुरै भएन ।
भारत र तेस्रो मुलुकबाट कोरोना भाइरसको संक्रमण प्रवेश हुन नदिन सरकारले फागुन २५ गते सीमा जोगबनीमा हेल्थ डेस्क स्थापना गरेको थियो । नेपाल प्रवेश गर्नेको निगरानी गर्नुका साथै ज्वरो जाँच गर्ने गरिएको थियो । कोरोना संक्रमणबाट बच्न जोगिनुपर्ने सन्देशमूलक कार्यक्रम सञ्चालन गर्दै आएको युवा समूहका अगुवा पेरिस सुवेदीले नाकाबाट धेरै मानिसहरु प्रवेश गरी असुरक्षित तरिकाले गन्तव्यतिर गएको पाएको बताए ।
उनको समूहले लकडाउन सुरु हुनुअघि र पछि पनि जोगबनी नाकामा बसेर भारतबाट आउनेहरुलाई स्यानिटाइजर लगाउन दिने, मास्क दिने अनि सुरक्षाका उपाय अपनाएर आफ्नो घर जाने भनेर सम्झाउने अभियानै चलाएको थियो । ‘नाकाबाट कति आए आए,’ उनले भने, ‘त्यसबेला पर्याप्त सतर्कता अपनाउन सकेको भए संक्रमण फैलने त्रास हुने थिएन ।’
भारतमा किनमेल गरी फर्कने स्थानीय र भारतका विभिन्न ठाउँबाट घर आउनेहरुको संख्या ठूलो थियो । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता सुमनकुमार तिम्सिनाका अनुसार काम विशेषले आउने, सीमावर्ती बजारमा किनमेल गरेर आउने र जानेहरुको सामान्य अभिलेख राखेर स्थास्थ्य जाँच गर्ने गरिएको थियो ।
नाकाबाट आउनेहरुको जाँच गर्न मोरङको जोगबनी, झापाको काँकडभिट्टासमेत गरी विभिन्न ३४ स्थानमा हेल्थ डेस्क राखिएको थियो । फागुन २५ गतेदेखि चैत १० गतेसम्म प्रदेश १ का विभिन्न नाकाबाट २ लाख ५ हजार ७ सय ८४ जना प्रवेश गरेको तथ्यांक ती डेस्कमा संकलन गरिएको थियो । यो संख्यामा सीमावर्ती बजारबाट किनमेल गरेर आउने र जानेहरु पनि समेटिएका छन् ।
लकडाउन सुरू भएपछि चैत ११, १२ र १३ गते भारतबाट ७ सय ८५ जना नेपाल भित्रिएका थिए । तर, नियमित नाकाहरुभन्दा फरक स्थानबाट पनि मानिसहरुको आउजाउ बाक्लै थियो । यसबाहेक तेस्रो मुलुकबाट नेपाल फर्केकाहरु प्रदेशमा कहाँ कहाँ कति आए र उनीहरुको अवस्था कस्तो छ भन्ने जानकारी पनि सरकारसित छैन ।
सरकारले क्वारेन्टिनमा बसेको तथ्यांकलाई नै भारत तथा तेस्रो मुलुकबाट आएको मान्ने गरेको छ । लकडाउनअघि होम क्वारेन्टिनमा २ हजार ६ सय ५२ र सार्वजनिक क्वारेन्टिनमा २ सय ३६ गरी २ हजार ८ सय ८८ जना क्वारेन्टिनमा बसेका छन् । लकडाउनपछि होम क्वारेन्टिनमा ३ हजार ७ सय ५४ र सार्वजनिक क्वारेन्टिनमा १ हजार २८ गरी कुल ४ हजार ७ सय ८२ जना बसेको प्रदेश १ प्रहरीको तथ्यांक छ ।
सामाजिक विकास मन्त्री जीवन मन्त्री घिमिरेले भारत तथा तेस्रो मुलुकबाट आएका करिब ५ हजारजनालाई क्वारेन्टिनमा राखेको दाबी गरेका छन् । प्रदेशका विभिन्न स्थानीय तहमा बनाइएका क्वारेन्टिनमा त्यति संख्यामा मानिसहरुलाई राखिएको उनको भनाइ छ । ‘कहाँकहाँ कुन अवस्थामा छन् भन्ने कुराको जानकारीको स्रोत क्वारेन्टिन नै हो,’ मन्त्री घिमिरेले भने, ‘अन्यत्रबाट आएकाबारे कतिपय स्थानीय तहले पनि जानकारी संकलन गरिरहेका छन् ।’
