३५ नेपाली आए, ३६ भारतीय गए

वैशाख १४, २०७७

मनोज पौडेल

कपिलवस्तु — नाका सिल र लकडाउन भएपछि सीमामा रोकिएका आ–आफ्ना नागरिकलाई तीन सातापछि नेपाल र भारत दुवै मुलुकले जिम्मा लिएका छन् । क्वारेन्टाइनको अवधि पूरा भएको र यथास्थितिमै रहे संक्रमणको जोखिम रहन सक्ने भन्दै दुवै देशले सीमा क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा राखिएका आफ्ना नागरिकलाई घर फर्काएका हुन् ।

३५ नेपालीलाई भारतीय अधिकारीले बढनीस्थित गान्धी आदर्श इन्टरकलेज र तुल्सीयापुरस्थित एक विद्यालयमा क्वारेन्टाइनमा राखेका थिए । भारतका विभिन्न सहरबाट उनीहरू नेपाल आउँदा सीमामै रोकिएका थिए । उनीहरूलाई स्थानीय नगर पञ्चायतले आवास, खानपान र औषधि उपचारको व्यवस्था गरेको थियो । साताअघि क्वारेन्टाइनमा बसेका कपिलवस्तुको बहादुरगन्जका एक युवा भागेका थिए । सीमामा उनलाई सशस्त्र प्रहरीले पक्राउ गरी भारतीय अधिकारीलाई जिम्मा लगाएको थियो । त्यसपछि दुवै ठाउँमा क्वारेन्टाइनमा बसेका ३५ नेपालीलाई ३० किलोमिटर पर लगेर राखिएको थियो । सोहरतगढ थाना क्षेत्रमा पर्ने बुढनइयाँस्थित चौधरी सुभाषचन्द्र ग्रामोदय इन्टरकलेजमा रहेको क्वारेन्टाइनमा राखिएका उनीहरूलाई घर फर्काइएको हो ।

भारतको सिद्धार्थनगर जिल्लाका २ ठाउँका क्वारेन्टाइनमा बसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न अघि स्वास्थ्य जाँचका लागि लागेको लाइन । तस्बिर : मनोज पौडेल/कान्तिपुर

शनिबार उनीहरूलाई भारतीय अधिकारीले ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएका हुन् । उनीहरूलाई लिन कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह गएका थिए । नेपाल प्रवेश गरेपछि उनीहरूको आरडीटी गरिएको थियो । ३५ जनाकै नतिजा ‘नेगेटिभ’ आएको छ । स्वदेश फर्किएकालाई आ–आफ्नो घरसम्म सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाइने नगरप्रमुख शाहले बताए ।

२६ दिनपछि आफ्नो देश आउन पाएकामा रूपन्देहीको मर्चवारका कमलेश हरिजन निकै खुसी थिए । भारतको जयपुरमा रोजगारी गर्ने उनी कष्ट खेप्दै सीमा क्षेत्र बढनी बजारसम्म त आए तर स्वदेश भित्रिन पाएका थिएनन् । नेपाल आउन पाउनेमा रूपन्देही, कपिलवस्तु, दाङ र झापाका छन् । उनीहरूमध्ये केही २२ देखि २६ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए । उनीहरूलाई भारतीय अधिकारीले क्वारेन्टाइनमा बसेको कागजात भने दिएका छैनन् ।

भारतीय पनि फर्किए

कृष्णनगर नगरपालिकास्थित सेमरामा पाल टाँगेर बसेका भारतको बलरामपुरका ३६ तीर्थयात्री पनि शनिबार भारत फर्किएका छन् । उनीहरू पश्चिम नवलपरासीको त्रिवेणीमा स्नान गर्न आएका थिए । लकडाउनपछि सीमा बन्द हुँदा उनीहरू यहाँ पाल टाँगेर बसेका थिए । २२ दिनदेखि यहाँ रहेका उनीहरू साइकलमा त्रिवेणी आएका थिए । साइकलमै फर्किएका छन् । उनीहरूलाई स्वास्थ्य परीक्षण गरी भारत प्रवेशको स्वीकृति दिइएको प्रजिअ दीर्घनारायण पौडेलले बताए ।

अध्यादेशलकडाउन

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully