निर्माणमा सहजीकरण गर्दै भौतिक मन्त्रालय

निर्माण सामग्री अभाव हुँदा उपत्यकामा कामले गति लिन नसके पनि बाहिरी जिल्लामा धमाधम भइरहेको छ

वैशाख १४, २०७७

विमल खतिवडा

काठमाडौँ — देशभर निर्माणाधीन आयोजनामा सहजीकरण गर्दै कामलाई तीव्र पारिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ । बर्खाअघि नै निर्माण सक्नुपर्ने सबै जिल्लाका डिभिजन सडकअन्तर्गतका आयोजनामा सहजीकरण गरेर लकडाउनका बेला पनि काम गर्ने वातावरण बनाइएको मन्त्रालयले जनाएको छ ।

सबै जिल्लामा निर्माणमा प्रयोग हुने सवारी साधनका लागि पास उपलब्ध गराउनेदेखि निर्माण सामग्रीको जोहो गर्नेसम्मका काममा मन्त्रालयले सहयोग गरिरहेको बताएको छ । ‘हाम्रो सिफारिसमा निर्माणस्थलमा प्रयोग हुने सवारी साधनका लागि सबै जिल्ला प्रशासन कार्यालयले पास दिइरहेका छन्,’ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने, ‘काम गर्न नचाहनेले मात्र पास पाइएन भन्ने गरेका छन् । नत्र काम गर्नेहरूले पास लिएर धमाधम काम गरिरहेका छन् ।’ कतैकतै ढुंगा, गिट्टी र बालुवालगायत निर्माण सामग्रीको समस्या भए पनि सबैतिर नभएको उनको दाबी छ।

‘लकडाउनका बेला धेरै ठाउँमा निर्माणका काम भइरहेका छन्,’ सचिव कार्कीले भने, ‘थप काम पनि सुरु भएका छन् । देशभर रहेका डिभिजन सडकअन्तर्गत सडक र पुल निर्माणका काम भइरहेका छन् । ती ठाउँमा निर्माण सामग्रीको समस्या नभएको उनको दाबी छ । बर्खाअघि सक्नैपर्ने आयोजनालाई प्राथमिकतामा राखेर काम थालिएको उनको भनाइ छ । प्राय: ठूला आयोजनामा त्यहीँ रहेको कामदारमार्फत काम अघि बढाइएको उनले बताए ।

‘यसअघि जस्तो सहजता पक्कै छैन, अहिले मिहिनेत पनि बढी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘खर्च पनि बढी लाग्छ ।’ कुनै–कुनै ठाउँमा समस्या भएको र तिनलाई समाधान गरेर काम अघि बढाइएको कार्कीले बताए । ‘काम गर्न पाइएन भनेर हामीसँग कुनै गुनासा आएका छैनन्,’ उनले भने, ‘सानातिना गुनासा तत्काल समाधान गरेर काम अघि बढाएका छौं ।’

उपत्यकामा निर्माण सामग्री नआएपछि निर्माणको काम प्रभावित बनेको छ । बाहिरी जिल्लामा भने यस्तो समस्या नभएको मन्त्रालयको दाबी छ । अहिले गौशाला–चाबहिल सडक कालोपत्र गर्न काभ्रेबाट निर्माण सामग्री ल्याउन समस्या भएको छ । स्थानीयले अवरोध गरेपछि ल्याउन सकिएको छैन । यसको समाधानको प्रयास भइरहेको उनको भनाइ छ । लकडाउनका बेला समयमै नगरी नहुने पक्की पुलको ढलान र सडक कालोपत्र गर्ने काम देशभर भइरहेको छ ।

‘निर्माण व्यवसायीले जहाँ–जहाँ काम गर्न सक्छन्, त्यहाँ–त्यहाँ सहज बनाइएको छ,’ उनले भने, ‘पहिलाको जस्तो गतिमा काम नभए पनि सबैतिर प्राय: काम निरन्तर छ ।’ अहिले गौरवका प्राय: आयोजना काम भइरहेको उनको दाबी छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने सहज रूपमा सवारी पास र निर्माण सामग्री नपाउँदा काम गर्न समस्या भएको बताए । ‘नदीजन्य निर्माण सामग्री क्रसर उद्योगलाई ढुवानी गर्न दिइएको छैन,’ उनले भने, ‘जसका कारण हामीले निर्माण सामग्री पाएका छैनौं ।’

सिमेन्ट उद्योग पनि राम्रोसँग नचलेकाले समस्या भएको उनले बताए । खानीमा गएर कच्चापदार्थ ल्याउन नपाउँदा सिमेन्ट उत्पादन कम भएको जानकारी पाएको उनको भनाइ छ । ‘व्यावहारिक हिसाबले प्रशासनबाट असहयोग भएको छ,’ उनले भने, ‘सवारी पास पाउनै हप्ता दिन कुर्नुपर्छ । पुलको काम नगरी नहुने छ ।’ मजदुर र निर्माण सामग्री भएको ठाउँमा मात्र काम भएको उनले जानकारी दिए । ‘घर फर्किएका मजदुरलाई ल्याएर काम गराउन सक्ने अवस्था छैन,’ उनले भने, ‘समग्रमा निर्माणको काम सोचेअनुरूप हुन सकेको छैन ।’

निर्माण सामग्री ल्याउन पनि ठाउँठाउँमा स्थानीयले अवरोध गर्दै आएकाले समस्या भएको उनले बताए । काम सकिने अवस्थामा रहेका पुल, सडक र सार्वजनिक भवनको काम लकडाउनमा गर्न सकिने भए पनि निर्माण सामग्रीकै अभाव रहेको उनको भनाइ छ । सबै तारतम्य मिलाएर काम गर्दा लागत पनि बढ्ने उनले दाबी गरे । ‘अब ढुवानी भाडा, कामदार सबैको ज्याला बढ्छ,’ उनले भने । निर्माणस्थलमा रहेका करिब एक लाख हाराहारी कामदार केही दिनयता घर फर्किरहेको उनले बताए ।

सरकारले केही आधारभूत उद्योग, निर्माण र सेवा क्षेत्रलाई क्रमश: खोल्दै लैजाने निर्णय गरेसँगै विकास निर्माणका कामलाई पनि तीव्र पारिने मन्त्रालयले जनाएको छ । अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सेवा क्षेत्र पुन: सञ्चालनमा ल्याएर असंगठित क्षेत्रका श्रमिकलाई काममा आबद्ध गर्ने र त्यसका आधारमा उनीहरूको जीवनयापन हुने व्यवस्था गर्ने निर्णय बताएका थिए ।

लकडाउन

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully