मन्त्रिपरिषद् बैठक सर्‍यो, लकडाउनबारे निर्णय हुने [अपडेट]

कार्यदलको सिफारिसअनुसार लकडाउन एक हप्ता लम्बिनसक्ने

वैशाख १४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न आइतबार दिउँसो २ बजेलाई बोलाइएको मन्त्रिपरिषद्‍को बैठक ५ बजेलाई सारिएको छ । २ बजेका लागि तय भएको बैठक ५ बजेका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

शुक्रबारको मन्त्रिपरिषद्‍ बैठकमा नै लकडाउनबारे छलफल भएको थियो । सरकारले जारी गरेको लकडाउनको अवधि वैशाख १५  गते (भोलि) सकिँदैछ । 

एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद्‍ले लकडाउन एक हप्ता बढाउने सम्भा‍वना छ । कोभिड -१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा लकडाउनको अवधि बढाउनेबारे छलफल भएको थियो । समिति अन्तर्गत गरेको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउन थप्न सिफारिस गरिसकेको छ । 

चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको हो । आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइसकिएको छ । 

संक्रमण देखिएका र नदेखिएका क्षेत्रहरु छुट्याएर उद्योग धन्दा तथा कलकारखाना खोल्नेगरी लकडाउन खुकुलो बनाउने कि भन्ने विकल्पमा पनि छलफल भएको समितिका एक सदस्यले बताए । तर, उदयपुरलगायतका स्थानमा अझै संक्रमण देखिएकाले नेपाल कोभिड संक्रमण प्रसारको खतराबाट मुक्त भइनसकेको निष्कर्ष सरकारको छ । 

लकडाउनकोरोना भाइरस

कान्तिपुर

Link copied successfully