धनकुटा — आगामी साता हुने भनिएको १५ औं सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्थगित गरिएको आयोजकले जनाएको छ ।
चैत दोस्रो साता प्रतियोगिता गरिने तय थियो । अनिश्चितकालका लागि स्थगित गरिएको जिल्ला फुटबल संघ धनकुटाका अध्यक्ष गोविन्द राईले बताए । एन्फा र राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिता स्थगित गर्न सूचना जारी गरेसँगै प्रतियोगिता स्थगित गरिएको हो । २०५५ सालदेखि सुरु प्रतियोगिता हरेक वर्ष धनकुटाको तल्लो टुँडिखेलमा हुँदै आएको छ । प्रतियोगितामा ‘ए’ डिभिजन लिगसहित भारत, भुटान, अफ्रिकन खेलाडीको टिम सहभागी हुँदै आएको सहिद भीमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए । धनकुटामा हुने प्रतियोगितामध्ये भीमनारायण गोल्डकप सबैभन्दा बढी पुरस्कार राशिको हो । विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
मेयर कप पनि
चैत अन्तिम साता हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता अर्को सूचना जारी नहुन्जेल स्थगित गरिएको आयोजकले जनाएको छ । धनकुटा नगरपालिकासँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता गर्ने तयारी गरेको थियो । विजेताको ७५ हजार र उपविजेताको ५० हजार रुपैयाँ पुरस्कार रहेको छ । स्थिति सहज भएपछि प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।
