रोकिए महिनाभरका प्रतियोगिता

चैत्र ७, २०७६

आनन्द गौतम

ताप्लेजुङ — जिल्लामा हुने खेलकुद प्रतियोगिता धमाधम स्थगित गर्न थालिएको छ । चैत २५ देखि हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद स्थगित भएको छ । जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधी पौडेलले प्रतियोगिता स्थगित भएको बताए । फुङलिङ नगरपालिकाले चैत २१ देखि गर्ने प्रतियोगिता पनि स्थगित हुने नगरपालिकाका खेलकुद विभाग प्रमुख पदमसुन्दर पालुङवाले बताए ।

वर्षौदेखि लाग्दै आएको रामनवमी मेला पनि यो वर्ष स्थगित हुने भएको छ । मेलामा फुटबल, भलिबललगायतका प्रतियोगिता हुँदै आएको थियो । शिसास क्लबका अध्यक्ष ऐश्वर्य थापाका अनुसार सबैतिर बन्द भइरहेको बला प्रतियोगिता गर्नु उपयुक्त नभएकाले स्थगित गरिएको हो । मेला भनिए पनि यहाँ खेलकुद प्रतियोगिता हुने गरेका थिए । आकर्षक प्रतियोगिता भएकाले ताप्लेजुङ र छिमेकी जिल्लाहरू तेह्रथुम, पाँचथर, संखुवासभाका समेत टिमहरू आउने गरेका छन् । यहाँ चैत २० मा सकिनेगरी प्रतियोगिता तय गरिएको थियो ।

मिनी स्पोर्टिङ क्लबले फुङलिङ नगरपालिका १० फरुम्बुमा गर्ने जिल्लास्तरीय प्रतियोगिता पनि स्थगित गरेको खेलकुद विकास समितिले जनाएको छ । पौडेलका अनुसार वैशाखका लागि प्रतियोगिता तय गरिएको थियो । ‘आयोजक पदाधिकारी परामर्शका लागि आउनुभएको थियो, मैले सिडियो साबसँग परामर्श गर्नुहोस्, सबैतिर बन्द भइरहेको छ भनें,’ पौडेलले थपे, ‘उहाँहरू प्रशासन पुगेर फर्किएपछि अहिलेलाई स्थगीत गर्‍यौं भन्नुभयो ।’

पालिकास्तरीय राष्ट्रपति छनोट प्रतियोगिता गराउने तयारीमा रहेका गाउँपालिकाहरूले पनि बन्द गर्ने तयारी गरेको जनाएका छन् । जिल्लामा अहिलेसम्म कुनै संक्रमण नदेखिए पनि अकस्मात कसैलाई केही भए जिम्मेवारी लिनुपर्ने भएकाले प्रतियोगिता नगर्नु उपयुक्त हुने ठानेको पालुङवा बताउँछन् । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिका छन् । सबैजसोले अन्तिम अवस्थामा मात्रै छनोट गर्ने तयारी गरेका थिए ।

कोरोना भाइरस

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully