कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण

एजेन्सी

बलिउडकी चर्चित गायिका कनिका कपुरले आफूलाई कोरोना भाइरस(कोभिड-१९)को संक्रमण भएको बताएकी छन् ।

बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण

उत्तर प्रदेशको लखनउ सहरमा रहेकी कनिकाले आफ्‍नाे इन्स्टाग्राम एकाउन्टबाट आफूलाई संक्रमण भएको जानकारी गराउँदै आफ्‍नाे सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्‍न आग्रह गरेकी छन् ।


१० दिनअघि भारत बाहिर कन्सर्ट गरेर फर्किएकी 'बेबी डल' गायिकाले ४ दिनअघि मात्रै यो संक्रमणको लक्षण देखिएकाले आफूले धेरैलाई भेटेको बताएकी छन् । उनले संक्रमण भइसकेपछि मुम्बई र लखनउका कार्यक्रममा भाग लिएकी भन्दै अर्की गायकी सोना मोहापात्राले आलोचना गरेकी छन् ।

'सरकारले केही गरेन भन्ने तर आफूले कुनै जिम्मेवारी बोध नगर्ने मूर्खहरुका कारण भारतमा कोरोना व्यापक मात्रामा फैलिने देखियो,' उनले ट्विटरमा लेखेकी छन् । उनले संक्रमण भएकी कनिकाले सहरहरुमा कार्यक्रम गरेको र पाँचतारे होटलमा बसेको भन्दै आलोचना गरेकी हुन् । अभिनेत्री गौहर खानले कनिकाको सम्पर्कमा आएका एक सयजनालाई तुरुन्त आइसोलेसनमा गइ परीक्षण गराउन आग्रह गरेकी छन् ।


कनिका उपस्थित पार्टीमा सहभागी भएका राजस्थानकी पूर्व मुख्यमन्त्री बसुन्धरा राजे र उनका छोरा दुश्यन्तले आफूहरु कसैको सम्पर्कमा नगइ आइसोलेसनमा बसेको बताएका छन् । कनिकाका पिता राजीव कपुरले आज तकसँगको अन्तर्वातामा कनिका विदेशबाट फर्किएपछि ३ सय ५० देखि ४ सय जनाको सम्पर्कमा आएको बताएका छन् । तर, कनिकाले भने यसलाई झुटो भन्दै आफू ३०-३५ जनाको मात्रै सम्पर्कमा पुगेको बताएकी छन् । यस्तै लखनउ एयरपोर्टमा आफ्नो 'ट्राभल हिस्ट्री' लुकाएको भन्ने आरोपको पनि उनले खण्डन गरेकी छन् ।

प्रकाशित : चैत्र ७, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?