वासिङ्टन — कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तस्थित वुहानबाट सुरु भएको भाइरस संक्रमण विश्वको १ सय ६८ देशमा पुगेको छ भने कुल संक्रमित संख्या २ लाख ५० हजारनजिक पुगेको छ ।
इटालीमा चीनमा भन्दा धेरै मृतक
कोभिड–१९ संक्रमणको उद्गमस्थल चीनमा भन्दा युरोपेली राष्ट्र इटालीमा मृत्यु हुनेको संख्या धेरै भएको छ । शुक्रबारसम्ममा इटालीमा कोभिड–१९ संक्रमणका कारण ३ हजार ४ सय ५ पुगेको छ भने संक्रमित संख्या ४१ हजार नाघेको छ ।
इटालीपछि सबैभन्दा प्रभावित इरानमा शुक्रबारसम्म १ हजार ४ सय ३३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उसका अनुसार १९ हजार ६ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । चौथो अति प्रभावित स्पेनमा पनि मृतक संख्या १ हजार नाघेको छ ।
क्यालिफोर्नियाद्वारा ‘घरमै बस्न’ आदेश जारी
अमेरिकाको क्यालिफोर्निया राज्यले सबैलाई घरमै बस्न निर्देशनात्मक आदेश जारी गरेको छ । अमेरिकाको ५० राज्यमध्ये सबैभन्दा धेरै जनसंख्या भएको क्यालिफोर्नियाले अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन आदेश दिएको हो । क्यालिफोर्नियामा ३ करोड ९० लाखभन्दा बढी मानिसको बसोबास छ ।
निर्देशनात्मक आदेश जारी गर्दै क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले सबैलाई महामारीको अवधिभर घरबाहिर ननिस्कन भनेका हुन् । यसअघि उनले आगामी दुई महिनाभित्र क्यालिफोर्नियाका आधाभन्दा बढी जनतामा कोभिड–१९ को संक्रमण हुन सक्ने भन्दै चेतावनी जारी गरेका थिए । ‘यो समय कडा निर्णय लिने बेला हो । हामीले वास्तविकता पहिचान गर्नैपर्छ,’ बिहीबार निर्देशनात्मक आदेश जारी गर्दै न्युसमले बताए ।
घरमै बस्न भनिए पनि नजिकैको पसलमा अत्यावश्यक सामान वा औषधि किन्न वा कुकुर डुलाउन वा व्यायाम गर्नमा भने रोक लगाइएको छैन । सार्वजनिक कार्यक्रममा भने रोक लगाइएको छ । बैंक, पसल, फार्मेसी र पेट्रोल स्टेसन पनि सञ्चालनमा रहने गभर्नर न्युसमले बताएका छन् । प्रत्येक चौथो दिन राज्यभित्रका केही क्षेत्रमा संक्रमित संख्या दोब्बर भइरहेको यर्थाथताका कारण कडा कदम चालिएको उनको भनाइ छ । कोभिड–१९ लाई लिएर कडा कदम चाल्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ । यसअघि नेभादाले अत्यावश्यकबाहेकका क्षेत्र ३० दिनका लागि बन्द गर्ने घोषणा गरेको थियो ।
अमेरिकामा हालसम्म १४ हजारभन्दा बढीमा भाइरस संक्रमण पुष्टि भइसकेको छ भने मृतक संख्या २ सय ५ पुगेको छ । क्यालिफोर्नियामा मात्र १ हजारको हाराहारीमा संक्रमित पुष्टि भएका छन् भने १९ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाजस्तै न्युयोर्क र वासिङ्टन पनि अति प्रभावित छ भने सबै ५० राज्यमै संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमण र मृत्युदर बढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बिहीबारबाटै सबै अमेरिकीलाई विदेश यात्रामा रोक लगाइसकेको छ । यसअघि उसले युरोपबाट अमेरिकामा हुने सबै उडान रोकेको थियो ।
राष्ट्रपति ट्रम्पले विदेशमा फसेका सबै अमेरिकी नागरिकलाई फिर्ता ल्याउन सेनासँग मिलेर काम भइरहेको बताएका छन् । संक्रमित दर बढ्दै गएपछि उनले शुक्रबारै छिमेकी मेक्सिकोसँगको सिमानाका पनि अस्थायी रूपमा बन्द गर्ने तयारी गरेको ह्वाइटहाउसले जनाएको छ । ह्वाइटहाउसले नै अमेरिकामा हुने यस वर्षको विश्वका ७ शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रको समूह ‘जी–सेभेन’ नेताको बैठक स्थगन गरेको छ । अब उनीहरुबीच भिडियो कन्फरेन्समार्फत बैठक हुनेछ ।
चीनमा विदेशबाट आएका संक्रमितमा वृद्धि
चीनमा आयातित संक्रमितको संख्यामा व्यापक वृद्धि भएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्यांकअनुसार त्यस्ता संक्रमित संख्या २ सय २८ पुगेको छ । देशका विभिन्न प्रान्तमा विदेशबाट आएकामा संक्रमण पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । घरेलु संक्रमितको नयाँ संख्या भने लगातार दोस्रो दिन पनि शून्य रहेको उसले जनाएको छ ।
‘चीनमा आयातित संक्रमणको संख्या बढेको छ र त्यसलाई नियन्त्रणका दबाब पनि बढेको छ,’ बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वाङ बिनले बताए । यसैबीच, आयातित संक्रमण बढ्न थालेपछि महामारीविरुद्ध संयुक्त रूपमा लड्नेबारे चीन, जापान र दक्षिण कोरियाका विदेशमन्त्रीबीच भिडियो कन्फरेन्स भएको छ ।
