महामन्त्रीमा उम्मेदवारी नदिने बताउँदै शिशिर खनालले भने- 'सहमतिका लागि छाडें'

यसअघि एक महामन्त्री पदका लागि खनालसहित ८ जना नेताले उम्मेदवारी दिने घोषणा गरेका थिए।

असार १२, २०८३

कान्तिपुर ंसंवाददाता

Saying that he will not run for the post of General Secretary, Shishir Khanal said - 'I left for consensus'

भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल पार्टीको महामन्त्रीमा गरेको दाबीबाट पछि हटेका छन् ।  पार्टी एकता, संस्थागत सुदृढीकरण र नेतृत्व चयनमा सहमतिलाई प्राथमिकता दिन आफूले उम्मेदवारी नदिने उनले बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा खनालले पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै पार्टीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफूले दाबी गरेको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

उनले आफ्नो निर्णयले अन्य आकांक्षी नेताहरूलाई पनि सहमतिका आधारमा नेतृत्व चयन गर्ने वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

खनालले केन्द्रीय समिति सदस्यको निर्वाचनमा आफूलाई देशभर तथा प्रवासबाट आएका प्रतिनिधिहरूले दिएको विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि पार्टीलाई बलियो बनाउन सक्रिय भूमिका रहने प्रतिबद्धता जनाएका छन् ।

'हिजो सम्पन्न केन्द्रीय समितिको निर्वाचनमा मलाई विश्वास गरी देशभरिबाट र प्रवासमा रहनुभएका प्रतिनिधिहरूले व्यक्त गर्नुभएको विश्वास र भरोसाको सम्मान गर्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाउने कुरामा मेरो भूमिका रहने नै छ,' उनले भनेका छन् ।

यसअघि एक महामन्त्री पदका लागि खनालसहित ८ जना नेताले उम्मेदवारी दिने घोषणा गरेका थिए। निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली, मनीष झा, गणेश कार्कीले उम्मेदवारी दिने घोषणा गरेका थिए । त्यस्तै, विवेकशील साझा पार्टीकी तत्कालीन महासचिव रञ्जु दर्शना, सागर ढकाल र प्रमोद न्यौपानेले समेत महामन्त्रीमा उम्मेदवारी दिने बताएका थिए ।

रास्वपा महाधिवेशन

कान्तिपुर

Link copied successfully