रास्वपाको विधानमा सभापतिसहित ९९ केन्द्रीय सदस्य र दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीका लागि निर्वाचन हुने व्यवस्था छ ।
What you should know
भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि सर्वसम्मति नभए ६ पदका लागि निर्वाचन हुने भएको छ ।
रास्वपाको विधानमा सभापतिसहित ९९ केन्द्रीय सदस्य र दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीका लागि निर्वाचन हुने व्यवस्था छ । पहिलो चरणबाट सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेका छन् भने केन्द्रीय सदस्यसमेत निर्वाचित भइसकेका छन् । दोस्रो चरणमा केन्द्रीय सदस्यहरुमध्येबाट ६ पदका लागि निर्वाचन हुन लागेको हो ।
रास्वपाको दुई उपसभापति पदका लागि विराजभक्त श्रेष्ठ र स्वर्णिम वाग्लेले उम्मेदवारी घोषणा गरेका छन् । महिला उपसभापतिमा सोविता गौतम, इन्दिरा राना मगर र तोशिमा कार्कीले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
एक महामन्त्री पदका लागि ८ जना नेताले उम्मेदवारी घोषणा गरेका छन् । परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली, मनिष झा, गणेश कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यस्तै, विवेकशील साझा पार्टीकी तत्कालीन महासचिव रञ्जु दर्शना, सागर ढकाल र प्रमोद न्यौपानेले समेत महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् ।
सहमहामन्त्रीमा महिलातर्फ ज्वाला संग्रौला, निशा डाँगी र निशा मेहताले उम्मेदवारी घोषणा गरेका छन् । सहमहामन्त्रीमा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाह, बब्लु गुप्ता नेता यज्ञमणि न्यौपाने, पुकार बम, सुलभ खरेललगायतले उम्मेदवारी घोषणा गरेका छन् ।
रास्वपाले विधानमार्फत १५८ सदस्यीय केन्द्रीय कार्यसमितिको संरचना तय गरेको छ, जसमा प्रत्यक्ष निर्वाचित, समावेशी, प्रदेश प्रतिनिधित्व तथा सभापतिबाट मनोनीत सदस्यहरूको मिश्रित व्यवस्था छ। पदाधिकारीको संख्या १९ पुर्याइएको छ, जसमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ खुला, १ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (२ खुला, १ महिला, २ मनोनीत), प्रवक्ता १ (मनोनित), सहप्रवक्ता ३ (१ महिला, सबै मनोनीत) व्यवस्था छ । कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ पनि समावेशी सिद्धान्तअनुसार मनोनीत गर्ने व्यवस्था छ ।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका तत्कालीन मेयर वालेन्द्र शाहबीच चुनावअघि भएको सहकार्यको सहमतिपछि वालेन्द्र पक्षबाट २६ जना केन्द्रीय सदस्य बनेका थिए, तर तीमध्ये १६ जनाले उम्मेदवारी दिएनन् । सुनील लम्साल, भूपदेव शाह, लक्ष्मण थारू, सन्तोष गिरी लगायतलाई मनोनीत गर्ने तयारी छ ।
रास्वपाको विधानले ५१ सदस्यलाई केन्द्रीय समितिमा सभापतिले मनोनीत गर्ने अधिकार दिएको छ। सोही प्रक्रियाबाट केन्द्रीय सदस्य हुँदै पदाधिकारी बन्ने लाइनमा रहेका नेताहरूले उम्मेदवारी दिएका छैनन् ।
