उम्मेदवारी फिर्ता लिँदै बुर्लाकोटीले भनेका छन् : 'निरन्तरको संघर्षबाट निर्माण गरिएको पार्टीमा एउटा जिम्मेवारीका लागि करिब दर्जन उम्मेदवार साथीहरूसँग भिडेर जिम्मेवारीको दौडमा रहनु खास चाहनाको विषय रहन सकेन ।'
काठमाडौँ — कविन्द्र बुर्लाकोटीले रास्वपाको महामन्त्रीबाट उम्मेदवारी फिर्ता लिएका छन् । निवर्तमान महामन्त्रीसमेत रहेका बुर्लाकोटीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका हुन् ।
पार्टीको हित नै सर्वोच्चता ठानी आफूले उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ । उनले फेसबुकमा भनेका छन्, 'निरन्तरको संघर्षबाट निर्माण गरिएको पार्टीमा एउटा जिम्मेवारीका लागि करिब दर्जन उम्मेदवार साथीहरूसँग भिडेर जिम्मेवारीको दौडमा रहनु खास चाहनाको विषय रहन सकेन ।'
बुर्लाकोटीले राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने ठाउँमा आफै कमजोर हुने दिशामा जान नहुने बताएका छन् । पार्टीको संस्थापक सदस्यसमेत रहेका उनले करिब दुई वर्ष सहमहामन्त्री, एक वर्ष कार्यवाहक महामन्त्री हुँदै एक वर्ष महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
यसअघि ललितपुर-२ का सांसद जगदीश खरेलले पनि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए । अब १ महामन्त्री पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्यबीच प्रतिस्पर्धा हुनेछ ।
उपसभापति खुला १ पदका लागि भने अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेको छ । उपसभापति महिलाका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ ।
