प्रस्तावित संरचनाअनुसार केन्द्रीय कार्यसमितिमा कुल ५५ जना महिला रहनेछन्, जुन समग्र सदस्य संख्याको ३३.३३ प्रतिशत हो ।
What you should know
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधानमार्फत १५८ सदस्यीय केन्द्रीय कार्यसमितिको संरचना तय गरेको छ । प्रस्तावित व्यवस्थाअनुसार केन्द्रीय कार्यसमितिमा प्रत्यक्ष निर्वाचित, समावेशी, प्रदेश प्रतिनिधित्व तथा सभापतिबाट मनोनित सदस्यहरूको मिश्रित संरचना रहनेछ ।
प्रस्तावअनुसार केन्द्रीय कार्यसमितिमा राष्ट्रिय महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित सभापति, ९९ जना निर्वाचित केन्द्रीय सदस्य, सभापतिबाट मनोनित ५१ जना सदस्य तथा सातै प्रदेशका प्रदेश सभापति पदेन सदस्य रहनेछन् । सभापति पदमा उम्मेदवार भई कुल मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवार स्वतः केन्द्रीय सदस्य बन्न सक्ने व्यवस्था गरिएको छ ।
निर्वाचित केन्द्रीय सदस्यमध्ये ३५ जना प्रदेशबाट र ६४ जना राष्ट्रिय स्तरबाट चयन हुनेछन्। प्रदेशबाट प्रत्येक प्रदेशका पाँच जनाका दरले ३५ सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । प्रदेशबाट निर्वाचित हुने सदस्यहरूमध्ये कम्तीमा १४ जना महिला हुनुपर्नेछ । प्रत्येक प्रदेशबाट कम्तीमा २ जना महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
राष्ट्रिय स्तरबाट निर्वाचित हुने ६४ सदस्यमध्ये ३२ जना खुला र ३२ जना समन्यायिक समावेशी समूहबाट निर्वाचित हुनेछन् । समावेशी तर्फका ३२ सिटमध्ये खस आर्यबाट १०, आदिवासी जनजातिबाट ९, मधेसीबाट ५, दलितबाट ५, थारुबाट २ तथा मुस्लिम समुदायबाट १ जना निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ। यसै व्यवस्थाभित्र एक जना पिछडिएको क्षेत्र तथा एक जना अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
प्रस्तावित संरचनाअनुसार केन्द्रीय कार्यसमितिमा कुल ५५ जना महिला रहनेछन्, जुन समग्र सदस्य संख्याको ३३.३३ प्रतिशत हो ।
पार्टीको पदाधिकारी संरचनामा १ सभापति, ३ उपसभापति, २ महामन्त्री, ५ सहमहामन्त्री, १ प्रवक्ता, ३ सहप्रवक्ता, १ कोषाध्यक्ष तथा २ सहकोषाध्यक्ष रहने प्रस्ताव गरिएको छ ।
यीमध्ये राष्ट्रिय रूपमा निर्वाचित हुने ६४ जना केन्द्रीय सदस्यबाट दोस्रो चरणमा १२ जना पदाधिकारी निर्वाचित हुनेछन् । निर्वाचित पदाधिकारीमा १ सभापति, २ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्रीसहित ७ जना रहनेछन् । उपसभापतिमध्ये १ पद महिलाका लागि आरक्षित गरिएको छ। त्यस्तै ३ सहमहामन्त्रीमध्ये १ पद महिला आरक्षित हुनेछ।
बाँकी ११ जना पदाधिकारी सभापतिबाट मनोनित भई केन्द्रीय समितिबाट अनुमोदित हुनेछन् । मनोनित पदाधिकारीमा १ उपसभापति, १ महामन्त्री, २सहमहामन्त्री, १ प्रवक्ता, ३ सहप्रवक्ता, १ कोषाध्यक्ष तथा २ सहकोषाध्यक्ष रहने व्यवस्था प्रस्ताव गरिएको छ ।
यसरी रास्वपाले पदाधिकारी संरचनामा निर्वाचित र मनोनित दुवै प्रणाली अवलम्बन गर्दै नेतृत्व चयन र समावेशी प्रतिनिधित्वबीच सन्तुलन कायम गर्ने प्रयास गरेको छ ।
