रास्वपाको चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान मस्यौदामा पूर्ण लोकतान्त्रिक गणतन्त्र, विधिको शासन र समावेशितालाई मुख्य मूल्य मानेको छ।
What you should know
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको प्रस्तावित विधानमै पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासनलाई पार्टीको मूल आदर्श मानेको छ ।
चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा प्रस्तावित विधानको वैचारिक आधार र निर्देशक सिद्धान्तमा पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासन, सामाजिक न्याय र उदार अर्थतन्त्र, संवैधानिक समाजवाद, समन्यायिक समावेशिता, योग्यता, सुशासन र सदाचार, सनातन सभ्यता र सांस्कृतिक सहअस्तित्व नै पार्टीको मूल दर्शन रहने कुरा प्रस्तावित विधानको मस्यौंदामा उल्लेख छ ।
तर हाल कार्यान्यनमा रहेको विधानमा भने लोकतान्त्रिक गणतन्त्र, उदार अर्थतन्त्र, संवैधानिक समाजवादजस्ता विषयहरू समावेश छैन । विधिको शासन, सामाजिक न्यायसहितको समनता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणमा समर्पणता, भ्रष्ट्राचारप्रति शून्य सहनशीलता, प्रत्यक्ष सहभागितामुलक लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता र मानवअधिकार मुख्य दर्शन हुने कुरा समावेश छ ।
प्रस्तावित विधानमा उन्नत लोकतन्त्र, सुशासन र पार्टी संचालनका आधारस्तभ हुने कुरा समावेश गरिएको छ । ‘आधारतभूत लोकतान्त्रिक मुल्य, मान्यता र सुशासनका सिद्धान्तहरू पार्टी सञ्चालनका प्रस्थान विन्दु हुनेछन्, पार्टीका सम्पूर्ण संरचना, कार्यविधि र नीतिहरू अनिवार्य रुपमा यसैका अधिनमा रहि निर्देशित हुनेछन्,’ प्रस्तावित विधानमा उल्लेख छ ।
रास्वपाले कानुनी रुपमानै परिवारवाद र नातावादलाई पूर्ण रुपमा निषेध गर्ने प्रबन्ध गरेको छ । प्रस्तावित विधानमा पार्टीमा एकै परिवारका एकजना भन्दा बढी सदस्य पार्टीको कुनै समान तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति मनोनित वा निर्वाचित हुन नपाउने व्यवस्था गरेको छ । पार्टीको केन्द्रीय निकाय र प्रदेश निकायका सदस्यको परिवारबाट पर्टीको कुनै पनि निकाय र पार्टीको तर्फबाट राज्यका कुनै पनि निकायमा नियुक्तिका लागि सिफारिसि वा मनोनित हुन नपाउने प्रबन्ध गरिएको छ । परिवारभित्रको नाताका बारेमा उसले विधानमै परिभाषा गरेको छ । जसमा परिवार भन्नाले पति, पत्नी, बाबु, आमा, सैतेनी बुबा, सौतेनी आमा, छोरा, छोरी, दाजु, भाई, दिदी, बहिनी, नाति, नातिनी, बाजे, बज्यै, ठुलोबुबा, ठुलीआमा, काका, काकी, फूपु, मामा, जेठान, जेठानी, जेठी सासु, देवर, नन्द, साला, साली र निजहरूका पति वा पत्नी समेतलाई जनाउनेछ भनिएको छ ।
यस्तो व्यवस्था हाल कायम रहेको विधानमा उल्लेख छैन् ।
