गैरसरकारी क्षेत्रमा १७ वर्षको अनुभव बोकेकी कामिनी कुमारीले स्वास्थ्य, कृषि र भ्रष्टाचार विरुद्ध संसद्मा नीतिगत सुधार गर्ने प्रतिवद्धता जनाएकी छिन्।
What you should know
महोत्तरी — महोत्तरी भंगहा–६ संग्रामपुरकी कामिनी कुमारी दोस्रो प्रयासमा प्रतिनिधिसभा सदस्य चुनिएकी छन्।
४४ वर्षीया कामिनी कुमारीले २०७९ मै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा आबद्ध भएकी थिइन् । रास्वपाले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनलाई मधेशी महिला कलस्टरमा समानुपातिक सांसदकालागि नाम सिफारिस गरेको थियो ।
रास्वपाकी केन्द्रीय सदस्य रहेकी उनी पार्टीभित्र गुनासो सुन्ने विभागमा पनि काम गर्दै आएकी छन् । रास्वपामा आवद्ध हुनुअघि उनी गैरसरकारी संस्थामा कार्यरत थिइन् । पार्टीले समानुपातिक सूचीमा राखेपछि उनी राजनीतिमा सक्रिय भएकी थिइन् । उनी यसपाली मधेशी महिला कल्स्टरबाटै प्रतिनिधिसभा सदस्य बन्न सफल भएकी हुन् ।
महोत्तरीको मटिहानी नगरपालिका–९ सिमरदहीमा जन्मिएकी उनले महोत्तरी भंगहा–६ संग्रामपुरमा विवाह गरिन् । पछिल्लो समय काठमाडौंमा बस्दै आएकी उनका श्रीमान् व्यापार व्यवसायमा संलग्न छन्।
उनले स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन् । गैरसरकारी संस्थामा १७ वर्षसम्म समाजिक विकास कार्यकर्ता भएर स्वास्थ्य र महिलाका क्षेत्रमा काम गरेको अनुभव छ । भ्रष्टाचारले गर्दा विकास हुन नसकेको र सुशासनका लागि काम गर्न रास्वपामा आबद्ध भएको उनले बताइन् । संसद्मा मधेशको आवाज बनेर भ्रष्टाचार रोक्न र सुशासनकालागि नीतिगत सुधारमा ध्यान दिने उनले बताइन् ।
'मधेशी महिलामाथि हुने हिंसा रोक्न र स्वास्थ्य तथा कृषि क्षेत्रको विकास प्राथमिकतामा राखेको छु,' उनले भनिन्,‘भ्रष्टाचार रोक्न सिस्टममै सुधार आवश्यक छ । स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ । अस्पतालमा भवन छ भने डाक्टर छैन र सबै सुविधा भएको अस्पतालमा सेवा छैन । स्वास्थ्य सेवा तत्काल सुधार गर्न पहल गर्ने छु ।’
कृषिमा सम्भावना प्रचुर भए पनि व्यवस्थित नहुँदा किसानलाई समस्या भइरहेकोले कृषि क्षेत्रमा सुधारकालागि संसदमा अवाज उठाउने उनको योजना छ ।
मुलुकमा परिवर्तनकालागि रास्वपालाई जनमत प्राप्त भएकोले मधेशमा परिवर्तनको अनुभूति गराउन चुनौती भए पनि कृषि, स्वास्थ्य, महिलामाथि हुने अन्यायमा तत्काल सुधार ल्याउन प्रयास गर्ने उनी बताउँछिन् ।
राजनीतिक अनुभव नभए पनि पार्टीको केन्द्रीय सदस्य, पार्टीभित्र गुनासो सुन्ने विभागमा बसेर काम गर्दा सानो समयमै पनि राम्रो अनुभव भएकोले संसद्मा मधेश र देशको लागि भूमिका निर्वाह गर्ने बताउँछिन् ।
