२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनले उनको सार्वजनिक राजनीतिक परिचयलाई नयाँ उचाइमा पुर्यायो । यद्यपि, आन्दोलनअघि नै उनी सामाजिक सरोकारका विभिन्न विषयमा भने सक्रिय थिइन् ।
What you should know
सुनसरी — रास्वपाबाट प्रतिनिधिसभा सदस्य बन्न सफल इटहरीकी सृष्टि भट्टराई नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने सांसद्का रूपमा चर्चामा छिन् ।
१९ भदौ २०५५ मा इटहरीमा जन्मिएकी सृष्टिको राजनीतिक यात्राको औपचारिक सुरुवात भने हालैको जेन–जी आन्दोलनपछि भएको हो । २३ र २४ भदौमा भएको आन्दोलनले उनको सार्वजनिक राजनीतिक परिचयलाई नयाँ उचाइमा पुर्यायो । यद्यपि, आन्दोलनअघि नै उनी सामाजिक सरोकारका विभिन्न विषयमा सक्रिय रहँदै आएकी थिइन् ।
इटहरीमै हुर्किएर यही परिवेशमा शिक्षादिक्षा हासिल गरेकी २७ वर्षीया भट्टराईले युवापुस्ताका मुद्दा, महिला सशक्तीकरण र सुशासनका विषयमा निरन्तर चासो राख्दै आएकी छन् । उनले प्रारम्भिक शिक्षा इटहरीको हाम्रो बोर्डिङ स्कुलबाट भएको हो भने उच्च शिक्षा विश्वआदर्श कलेजबाट पूरा गरिन् ।
इटहरीकै जनता बहुमुखी क्याम्पसबाट समाजशास्त्र तथा पत्रकारितामा स्नातक गरेकी उनी विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा ग्रामीण विकास विषय अध्ययनरत छिन् ।
रास्वपाले २०७९ को निर्वाचनपछि समानुपातिकतर्फ नयाँ अनुहारलाई प्राथमिकता दिने रणनीति अवलम्बन गर्दै आएको छ । यही रणनीतिअनुसार जेन-जी आन्दोलनपछि पार्टी प्रवेश गरेकी भट्टराईजस्ता युवा अनुहारहरू यसपटक पनि अघि आएका हुन् । ‘नयाँ सोच, नयाँ नेतृत्व’को नारासहित पुराना राजनीतिक परम्पराभन्दा फरक ढंगले प्रतिनिधित्व चयन गर्दा उनी जस्ता युवालाई अवसर मिलेको देखिन्छ ।
जेन–जी आन्दोलनका क्रममा भट्टराईले एक समूहको नेतृत्व समेत गरेकी थिइन् । उनका अनुसार शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन घुसपैठका कारण अनियन्त्रित बनेपछि इटहरीमा दुईजनाको ज्यान जानुका साथै ठूलो भौतिक तथा मानवीय क्षति भएको थियो ।
आन्दोलनका क्रममा मृत्यु भएका मोहन सरदार र अभिषेक श्रेष्ठको शव व्यवस्थापनदेखि दाहसंस्कारसम्म उनले नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । साथै, घाइते तथा सहिद परिवारका लागि सहयोग तथा राहत संकलन र हस्तान्तरणमा पनि उनी सक्रिय रूपमा संलग्न रहिन् ।
सामाजिक क्षेत्रमा पनि उनको सक्रियता उल्लेखनीय छ । उनले ‘न्यानो कपडा संकलन अभियान’ सञ्चालन गरी विपन्न समुदायलाई सहयोग गर्दै आएकी थिइन् । यसका साथै सुनसरी जिल्ला अदालतमा बाल मनोवैज्ञानिक परामर्शदाताका रूपमा काम गर्दै बालबालिकाको न्यायका लागि योगदान पुर्याएकी छन् ।
इटहरी–१६ बालग्राम निवासी भट्टराईकी आमा सरस्वती कार्की सरकारी विद्यालयकी शिक्षिका हुन् । छोरीको राजनीतिक यात्रामा परिवारको पूर्ण साथ र सहयोग रहेकाे उनकाे भनाइ छ । कार्की भन्छिन्, ‘देश परिवर्तनको अभियानमा छोरी लागेकोमा गर्व छ । जेन–जी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सहिद परिवारको न्यायका लागि उसले प्रभावकारी भूमिका खेल्नेमा म विश्वस्त छु ।’
भट्टराईको संसद यात्रा व्यक्तिगत उपलब्धि मात्र नभई इटहरी र समग्र कोशी प्रदेशका लागि पनि नयाँ सन्देशका रूपमा हेरिएको उनका बुबा ध्रुव भट्टराई बताउँछन् । छोरीको संसदीय यात्राले विशेषगरी महिला तथा युवा सहभागिताको दृष्टिकोणले उनको उपस्थितिले सकारात्मक संकेत दिएको उनको विश्लेषण छ ।
संसदमा पुगेपछि भट्टराईले महिला, बालबालिका र युवाका मुद्दालाई प्राथमिकतामा राख्ने बताएकी छन् । उनका अनुसार पछिल्लो समय युवामा बढ्दो आत्महत्या दर, सीमान्तकृत तथा पिछडिएका समुदायका महिलाको अवस्था सुधार गर्न आवश्यक नीति निर्माणमा केन्द्रित हुनेछन् ।
साथै, जेन–जी आन्दोलनका क्रममा सहिद बनेका परिवारसँग निरन्तर सम्पर्कमा रही उनीहरूको न्यायका लागि पहल गर्ने उनको योजना छ । यसका अतिरिक्त रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनका क्षेत्रमा पनि प्रभावकारी भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ ।
इटहरीबाट संघीय संसदसम्म पुगेकी सृष्टि भट्टराई अहिले केवल एक सांसद् मात्र होइनन्, परिवर्तनको अपेक्षा बोकेको नयाँ पुस्ताको प्रतीकका रूपमा उभिएकी छन् । अब उनका कार्यसम्पादनले त्यो अपेक्षालाई कति सम्बोधन गर्छ भन्ने चासो बढेको छ ।
