पटेल २७ हजार ३१८ मत ल्याएर विजयी भए ।
काठमाडौँ — रौतहट–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र पटेल विजयी भएका छन् । पटेल २७ हजार ३१८ मत ल्याएर विजयी भए । दोस्रो स्थानमा आएका जसपाका नेता गोबिन्द चौधरीले ११ हजार ९५४ मत पाए ।
आमजनता पार्टीका अध्यक्ष प्रभु साहले ९ हजार ८९० मतमै चित्त बुझाउनु पर्यो । यसअघि लगातार चारपटक शाह यस क्षेत्रबाट विजयी भएका थिए ।
२०६४ सालको पहिलो संविधानसभा, ०७० सालमा दोस्रो संविधानसभा, २०७४ र २०७९ सालमा प्रतिनिधिसभा चुनावमा शाह यस विजयी भएका थिए ।
मौलापुर नगरपालिका ९ सोनरनिया घर भएका ४८ वर्षीय पटेल लामो समयदेखि राजनीतिमा सक्रिय थिए । पटेलको राजनीतिक जग नेकपा (माओवादी केन्द्र) बाट बनेको हो । उनी माओवादीभित्र एक जुझारु युवा नेताका रुपमा चिनिन्थे ।
विशेषगरी रौतहटको स्थानीय राजनीति र संगठन बिस्तारमा उनको महत्वपूर्ण भूमिका रहेको थियो । २०५१ सालका माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको सदस्यता लिएर राजनीतिको सुरुवात गरेका हुन् । २०५५ सालमा क्रान्तिकारीको केन्द्रीय सदस्य भए ।
०७४ सालमा मौलापुर नगरपालिकाको नगरप्रमुखका माओवादी पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर पराजित भए । ०७९ सालको प्रतिनिधिसभामा उनी माओवादी केन्द्रबाट उम्मेदवार थिए । तर, यसपटक स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाहले उनलाई पराजित गरे ।
नेकपाको केन्द्रिय सदस्य छाडेर २०८२ मा उनी रास्वपामा आबद्ध भएका थिए ।
जनयुद्धकालदेखि नै पटेलले उत्पीडित वर्ग र समुदायको हक–हितका लागि आवाज उठाउदै आएका छन् ।
परम्परागत पार्टीहरुबाट जनअपेक्षा पूरा हुन नसकेको र पुराना दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको महसुस गर्दै वैकल्पिक राजनीतिको खोजीमा लागेको उनी बताउँछन् । ‘सुशासन, नयाँ सोच र नयाँ शैलीको नारा बोकेर रास्वपामा प्रवेश गरेको हुँ,’उनले भने,‘जनताको गुनासाहरु यस क्षेत्रमा धेरै छन् ।
ती सबै सम्बोधन गर्छु । जनताबाट कहिले टाढा बस्दिँन् ।’ उनले गाउँकै सोनरनिया माबिबाट एसएलसी पास गरे । चन्द्रनिगाहपुरस्थित जनज्योती उच्च माबिबाट प्लस–टु पास गरे ।
पटेल केवल राजनीतिमा मात्र सीमित छैनन्, उनको सामाजिक छवि पनि प्रभावशाली मानिन्छ । युवाहरुलाई संगठित गर्ने र उनीहरुका समस्यामा साथ दिने नेताका रुपमा उनी परिचित छन् ।
‘मधेसका किसानका समस्या, बेरोजगारी र शिक्षाको अवस्थालाई प्रमुख एजेन्डा बनाएको छु,’ उनले भने,‘बर्तमान परिवर्तनका सारथीको रुपमा म काम गर्छु । बेथिति रोक्ने प्रयास गर्छु । शिक्षा, स्वास्थ्यको क्षेत्रमा आमुल परिवर्तन गर्नु पर्ने छ ।’
पटेलको मुख्य चुनावी एजेन्डा सुशासन, भ्रष्टाचार नियन्त्रण र गुणस्तरीय शिक्षा रहेको छ । सोनरनीया माविमा पटेलसँगै पढेका सुबरत पटेलले आफ्नो सहकर्मी माननिय भएकोमा खुशी ब्यक्त गरे ।
‘पटेलले राजनिति जीवनमा धेरै संघर्ष गरेर यंहा सम्म आएका हुन् । उनी समाजमा केही गरौं भन्ने पहिले देखि नै सोच राख्थे, ’उनले भने,‘अब समाज र यूवा पिढिको आवाज बुलन्द गर्नुपर्छ । विकास र समृद्धिको सोचका साथ अघि बढ्नु पर्छ ।’
