काका र ठूलोबुबालाई पछि पार्दै आशिष सदनमा

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकबाट राजीनामा दिएर सिन्धुली क्षेत्र नं २ मा रास्वपाबाट उमेदवार बनेका गजुरेल प्रतिस्पर्धीलाई तीन हजार बढीको मतान्तरले पछि पार्दै विजयी बने ।

फाल्गुन २४, २०८२

राजकुमार कार्की

Ashish Sadan, leaving behind his uncle and grandfather

काठमाडौँ — उमेदवार मनोनयनको तीनदिन अघिसम्म आफ्नो कामको शिलशिलामा आशिष गजुरेल वीरगन्जमा थिए । चुनावी मैदानमा होमिनेबारे उनी अन्योलमै थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुसँग कुराकानी भने भइरहेको थियो । तर अन्तिममा उनी उम्मेदवार बने । 

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकबाट राजीनामा दिएर सिन्धुली क्षेत्र नं २ मा रास्वपाबाट उमेदवार बनेका गजुरेल प्रतिस्पर्धीलाई तीन हजार बढीको मतान्तरले पछि पार्दै विजयी बने । उनले १७ हजार ९४० मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उमेदवार लेखनाथ दाहालले १४ हजार ७८० मत पाएका थिए । यातायात क्षेत्रका विज्ञ गजुरेलको घर कमलामाई नगरपालिका ४ को ढुंग्रेवासमा हो ।

जर्मनीबाट मास्टर्स इन ट्रान्सपोटेसन सिस्टम अध्ययन गरेका गजुरेल पेशाले इन्जिनियर हुन् । यातायात पूर्वाधार क्षेत्रमा काम गरेका गजुरेल सुधारका लागि सामाजिक सञ्जालमा र मिडियामा बाक्लो उपस्थिति जनाउदै आएका थिए । यातायात र पूर्वाधार क्षेत्रमा अहिले भइरहेको नीति नियमले काम गर्न ज्यादै अप्ठेरो भएको बताउने गजुरेल अब आफैं नीतिनिर्माण तहमा पुगेका छन् । 

दुई कार्यकाल कार्यकारी निर्देशक भएर सुधारका काम गर्दै आएका गजुरेल विगतमा हुने सरकार परिवर्तनसँग वाक्क थिए । उनका बुबा मुरारीप्रसाद गजुरेलका अनुसार विगतमा मन्त्री परिवर्तन हुनासाथ आफ्नो मान्छे भर्ती गर्न राजीनामा माग्ने अथवा ज्यू हजुरी गर्नुपर्ने कारणले समेत आशिष वाक्क भएका थिए । विद्यालय तहको शिक्षा सिन्धुलीमै पूरा गरेर उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौं हुँदै जर्मनी हानिएका थिए । ४७ वर्षीय आशिषको श्रीमती र दुई छोरा छन् ।

यातायात पूर्वाधार क्षेत्रमा सुधार गर्दै सिन्धुलीका जनताको आशाअपेक्षा पूरा गर्नेमा उनका सहपाठीहरु आशातित छन् । रोचक के छ भने उनका काका हरिबोल गजुरेल यही क्षेत्रबाट दुईपटक जितेर कृषिमन्त्री समेत भएका थिए । यो पटक भने नेकपाबाट विद्रोह गर्दै स्वतन्त्र उमेदवार महेश्वर दाहालको प्रस्तावक बसी मुढा चिन्ह लिएर हरिबोल मत माग्दै हिँडेका थिए । मुढाले ५८६ मत पायो । अर्कोतर्फ आशिषकै ठूलोबुबा प्रा.डा. मुकुन्दप्रसाद गजुरेल राप्रपाबाट उमेदवार थिए । उनको हलो चिन्हले २४९ मत पाएको छ ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully