काभ्रेपलाञ्चोक-२: ओझेलमा एजेण्डा, नयाँ कि पुराना दल भन्ने मात्रै चर्चा

२०७४ र २०७९ काे निर्वाचनमा यस क्षेत्रबाट एमालेका गाेकुल बाँस्काेटा विजयी भएका थिए । यसपटक एमालेले बाँस्काेटालाई टिकट नदिएकाेमा अन्य दलका उम्मेदवार हौसिएका छन् ।

फाल्गुन १३, २०८२

ज्योती श्रेष्ठ

What you should know

काभ्रेपलाञ्चोक — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी प्रचार अभियान अन्तिम चरणमा पुग्दा काभ्रेपलाञ्चोक–२ मा पुराना र नयाँ दलका उम्मेदवार उत्साहित बनेका छन् । यहाँ पुराना दल संगठन र अनुभवको भरमा जित निकाल्ने योजनामा छन् भने नयाँ दल जनमत बदलिने आशमा छ । मतदाता भने नयाँ की पुरानो दल छान्ने बहसमा छन् ।   

यस क्षेत्रमा अघिल्लो दुई निर्वाचनमा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले जित हात पारेका थएि । यसपटक बाँस्कोटा चुनावी दौडमा छैनन् । यहाँ एमालेले धुलिखेलका नगरप्रमुख अशोककुमार व्याञ्जूलाई राजीनामा दिन लगाएर उम्मेदवार बनाएको छ । बाँस्कोटाको पकड रहेको यस क्षेत्रमा उनी चुनावी दौडबाट बाहिर रहँदा अन्य दलका उम्मेदवार हौसिएका छन् । 

यस क्षेत्रमा एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच प्रतिष्पर्धा हुने आंकलन मतदाताको छ । अघिल्लो निर्वाचनमा दलहरूले ल्याएको समानुपातिक मतले पनि यिनै चार दलको प्रभाव देखाउँछ। २०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३४ हजार ७ सय ५ मत ल्याएको थियो । दोस्रो स्थानमा रहेको कांग्रेसले २६ हजार ५ सय ५६ र तेस्रो स्थानमा रहेको रास्वपाले १६ हजार ८ सय २४ मत पाएका थिए । तत्कालिन माओवादी केन्द्रले ७ हजार ९ सय २६ र नेकपा एसले ६ हजार १ सय ४३ मत पाएका थिए । अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरण भएकाले दुवै दलको मत करिब १४ हजार पुग्ने अनुमान छ । 

पुरानालाई संगठन र अनुभवको भर

काभ्रेपलाञ्चोक–२ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवार राजनीतिक दल पुरानो भए पनि भिजन नयाँ रहेकाले मतदाताले पत्याउनेमा आशमा छन् । विगतदेखि तल्लोतहसम्म पार्टी संगठन र संगठित मत परिवर्तन नहुनेमा उनीहरू विश्वस्त छन् । निर्वाचन क्षेत्रका सबैजसो वडामा चुनावी प्रचार अभियान सकेका उनीहरू मतदाताको विश्वास आफूतिरै रहेको दाबी गर्छन् । 

कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्य निर्वाचनको प्रारम्भिक चरणमा देखिएको मतदाताको निराशा र राजनीतिक वितृष्णा क्रमशः उत्साहमा रूपान्तरण हुँदै गएको बताउँछन् । पछिल्लो समय कांग्रेसले ‘नयाँ नेतृत्व र नयाँ कार्यक्रम’ प्रस्तुत गरेपछि जनमतमा सकारात्मक परिवर्तन आएको उनको दाबी छ । चुनावी अभियानमा विशेषतः  सभापति गगन थापाको नेतृत्वलाई नयाँ राजनीतिक सम्भावनाका रूपमा प्रस्तुत गरिएको छ । यसले कांग्रेसलाई ‘पुरानो संरचना तर नयाँ ऊर्जा’ भएको दलका रूपमा स्थापित गर्ने प्रयास गरेको उनले बताए । 

घरदैलो अभियानका क्रममा मतदाताबाट उठेका मागले दुई तहको राजनीतिक अपेक्षा देखाउँछन् । एकातिर नागरिकहरू सांसदको भूमिकाबारे सचेत हुँदै नीति निर्माण र प्रभावकारी कानुन निर्माणको अपेक्षा राखिरहेका छन् । अर्कोतर्फ, आधारभूत विकास—सडक, कृषि, साना व्यवसाय, शिक्षा, स्वास्थ्य र रोजगारी—अझै पनि प्राथमिकतामा छन् । उनका अनुसार, मतदाताको चेतना बढे पनि भौतिक पूर्वाधार विकास र अवसरको अभाव प्रमुख राजनीतिक मुद्दा बन्दै आएका छन् । ग्रामीण र शहरी क्षेत्रबीच अपेक्षामा भिन्नता भए पनि विकासमुखी राजनीति नै प्राथमिकतामा रहेको उनको भनाइ छ । उनले भने, ‘दीर्घकालीन विकास निर्माणको ढाँचा बनाएर अघि बढेको छु, एउटा स्वच्छ छवि समाज विकासको लागि, राजनीतिक विकासको लागि आवश्यक छ भनेर जनताले खोजिरहेकाले उहाँहरूले खोजेको उपयुक्त पात्र म भएको पाएको छु ।’

यस निर्वाचन क्षेत्रमा २४ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा एमालेसँग रहेको उनको भनाइ छ । परिपक्व राजनीतिक दल र स्पष्ट सिद्धान्त भएका पार्टीप्रति मतदाताको झुकाव देखिएको उनको दाबी छ । साना वा वैकल्पिक दलप्रति प्रारम्भिक आकर्षण भए पनि अहिले ‘परिपक्व र सिद्धान्तमा आधारित दल’प्रति मतदाताको झुकाव बढेको उनको भनाइ छ ।  

००००

एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले चुनाव प्रचार तथा जनताको घरदैलो पुग्ने क्रममा राजनीतिक दलहरूसँग विविध प्रश्न, जिज्ञासा र अपेक्षा राखेको बताए । यहाँका ग्रामीण तथा शहरी क्षेत्रका नागरिकको मुख्य अपेक्षा आधारभूत आवश्यकता परिपूर्ति, स्वदेशमै रोजगारी सिर्जना, उद्योग–व्यवसाय प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको सुधार रहेको उनले बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा कृषि, रोजगारी र पूर्वाधार विकास प्राथमिक मुद्दा बनेका छन् भने शहरी क्षेत्रमा व्यवस्थित शहर, व्यापार–व्यवसायमा सहज, उद्योग स्थापना र सेवा–सुविधा विस्तारको माग बढेको छ । 

‘युवाहरू आफ्नै देशमा रोजगारी पाउनुपर्छ भन्ने चाहन्छन्,’ उनले भने, ‘त्यसका लागि उद्योग, पर्यटन र उत्पादनमूलक क्षेत्रलाई सशक्त बनाउनु जरूरी छ ।’ त्यस्तै, नयाँ पुस्ताको सोच र दृष्टिकोणलाई सबै दलले साझा एजेन्डा बनाउनु पर्ने आवश्यकता रहेको उनले औंल्याए । 

आफ्नो जितको आधारमा उनले काभ्रेपलाञ्चाेकमा एमालेको उपस्थिति, जनतासँगको सम्बन्ध र विगतका विकास निर्माणलाई दिए । ‘ग्रामीण र शहरी दुवै क्षेत्रका आवश्यकता बुझेको छु,’ निर्वाचनमा आफू विजयी हुनेमा विश्वस्त हुँदै उनले भने, ‘संसदमा पुगेर तिनै मुद्दाको प्रभावकारी वकालत गर्न सक्छु भन्ने विश्वास जनतामा छ ।’ यसपटक जनताले पार्टी र एजेण्डाको स्पष्ट पहिचानका आधारमा निर्णय गर्ने वातावरण बनेको उनको भनाइ छ । उनले कुनै एक दल वा उम्मेदवार आफ्नो प्रतिस्पर्धी भएको र सबैलाई समान रुपमा हेरेको बताए ।  

एमाले नेतृत्वमाथि लागेका आरोपबारे उनले सत्य–तथ्यको आधारमा निष्कर्षमा पुग्नुपर्ने बताए । नयाँ दलप्रतिको आकर्षण र पुराना दलप्रतिको वितृष्णाबारे उनले राजनीतिक बहसलाई ‘विचार र कार्यक्रम’का आधारमा हेर्नुपर्ने बताए । ‘नयाँ/पुरानोभन्दा पनि नीति, विचार र कार्यक्रम कस्तो छ भन्ने महत्वपूर्ण हो,’ उनले भने । 

००००

नेकपाका उम्मेदवार बसुन्धरा हुमागाईले यो निर्वाचन नियमित नभए पनि मतदातामा अहिले सकारात्मक माहोल देखिएको बताए । ‘काभ्रेपलाञ्चाेक–२ का जनताले मलाई उत्साहपूर्वक साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ उनले भने । प्रचारका क्रममा मतदाताले मुख्य रूपमा सुशासन, भ्रष्टाचारमुक्त समाज र समृद्धि चाहेको उनले बताए । त्यससँगै सडक, पुल, खानेपानी, सिँचाइ, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनाजस्ता विषयमा काम गर्न जनताको माग रहेको छ । वैदेशिक रोजगारी घटाएर देशमै अवसर सिर्जना नगरेसम्म वास्तविक राष्ट्र निर्माण सम्भव नहुने उनको भनाइ छ । 

पूर्व गाउँ विकास समिति अध्यक्ष र बागमती प्रदेशको पूर्व मन्त्री समेत भइसकेको उल्लेख गर्दै हुमागाईंले इमान्दारिता र कामको मूल्यांकन नै जितको आधार हुने दाबी गरे । 

संसदमा पुगेपछि महिला अधिकार, दलित तथा अल्पसंख्यक समुदायको अधिकार, किसान–मजदुरको हित र रोजगारी सिर्जनाका पक्षमा बलियो आवाज उठाउने प्रतिबद्धता जनाए । राम्रो कानुन निर्माणमा आफूले सक्रिय भूमिका निर्वाह गर्ने उनले बताए । 

उनी आफ्नो प्रतिस्पर्धा व्यक्तिसँग नभइ यहाँको समस्यासँग रहेको बताउँछन् । मतदाताले पार्टीभन्दा पनि स्वच्छ र काम गर्ने उम्मेदवार रोज्ने वातावरण बनेको उनले बताए । 

००००

नयाँको दाबी : पुरानालाई जनताले पत्याउँदैनन् 

काभ्रेपलाञ्चोक–२ मा रास्वपा दोस्रोपटक निर्वाचन लड्दैँछ । नयाँ दलको रूपमा उज्यालो नेपाल पार्टीसमेत चुनावी प्रतिष्पर्धामा थपिएको छ । पुराना दलप्रति जनआकर्षण कम भएको दाबी गर्ने नयाँ दलका उम्मेदवारहरू जनमत आफूतिर ढल्किनेमा विश्वस्त छन् । मतदाता परिवर्तनको पक्षमा देखिएको रास्वपाका उम्मेदवार बदन भण्डारीले बताए ।

उनका अनुसार, घरदैलो अभियानका क्रममा भेटिएका मतदाताहरूले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेका छन् । सडक स्तरोन्नति, कालोपत्रे, ढल निकास तथा खानेपानी व्यवस्थापन मुख्य गुनासोका रूपमा आएका छन् । कृषि क्षेत्रमा मल, बीउबिजन र विषादी अभाव, उत्पादनको उचित मूल्य नपाउने तथा बिचौलियाको समस्या व्यापक रहेको भण्डारीले बताए । उनका अनुसार, युवाहरूको पलायन अर्को गम्भीर चुनौतीका रूपमा देखिएको छ ।  ‘गाउँमा वृद्ध बा–आमामात्रै बस्नुभएको छ,’ उनले भने, ‘युवाहरू विदेश वा काठमाडौं केन्द्रित छन्, स्थानीय तहमा रोजगारी सिर्जना गर्न नीतिगत पहल आवश्यक छ ।’ कांग्रेस, एमालेलगायत दल प्रतिस्पर्धामा रहे पनि १० हजार मतान्तरले आफू विजयी हुने उनको दाबी छ । उनले भने, ‘पार्टीको राष्ट्रिय योजना, वाचापत्रका आधारमा पनि जनताले मत दिनुहुन्छ र विजय गराउनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

उम्मेदवारी प्रक्रियामा टिकट खोसेको आरोपबारे भण्डारीले पार्टीको आन्तरिक प्रक्रियाअनुसार नै टिकट पाएको स्पष्ट पारे । ‘नौजना आकांक्षीमध्ये प्रक्रियाबाटै मेरो नाम टुंगिएको हो,’ उनले भने । 

उज्यालो नेपाल पार्टीबाट यो क्षेत्रमा उम्मेदवार बनेकी ज्योत्सना सैंजू पुराना दलप्रति जनताको भरोसा टुटेको र आफूहरू उक्त भरोसा जित्नेमा ढुक्क रहेको बताउँछिन् । अब समृद्ध र उज्यालो नेपालको अभिभारा आफ्नो पार्टीलाई दिनेमा ढुक्क रहेको र निर्वाचन प्रचारको अभियानमा पनि जनताको आकर्षण आफूहरूतिर रहेको पाइएको उनको भनाइ छ ।

विगतमा यस्तो थियो परिणाम 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा एमाले र तत्कालिन नेकपा माओवादीबीच गठबन्धन भएको थियो । गठबन्धनको बलमा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई १८ हजार ७ सय ७३ मतान्तरले पराजित गरेका थिए । बाँस्कोटाले ५५ हजार ५ सय २६ मत पाएका थिए भने आचार्यले ३६ हजार ७ सय ५३ मत पाए ।

२०७९ मा यो क्षेत्रमा कांग्रेस र तत्कालिन माओवादी केन्द्रबीच गठबन्धन भयो । यद्यपि, गठबन्धनले बाँस्कोटालाई पराजित गर्न सकेन् । गठबन्धनमा कांग्रेसको भागमा परेको यो क्षेत्रमा बाँस्कोटा ४५ हजार ३ सय ४५ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंले ३९ हजार ४ सय ८२ मत पाए । यो निर्वाचनमा रास्वपाका दिनेश हुमागाईंले १० हजार ५ सय ७३ मत पाएका थिए । अहिले कांग्रेसका शिवप्रसाद हुमागाईंले टिकट पाएनन् भने रास्वपाका दिनेशप्रसाद हुमागाईंले पनि टिकट नपाएपछि कांग्रेस प्रवेश गरिसकेका छन् ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully