झापा–५ ले यसपटक सांसद मात्र होइन, सम्भावित प्रधानमन्त्री पनि दिन सक्छ भन्ने बहस छ । यही कारण मुख्य प्रतिस्पर्धा ओली र बालेन्द्रबीच केन्द्रित भएको हो ।
What you should know
काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहबीचको मुख्य प्रतिस्पर्धाका कारण यतिबेला झापा चुनावी चर्चाको केन्द्रमा छ । मतदाताको बदलिँदो मनोविज्ञान, नयाँ राजनीतिक शक्तिको उदय र परम्परागत प्रभावको परीक्षणबीच झापाको चुनावी समीकरण कता मोडिने हो भन्ने चासो सर्वत्र देखिन्छ । यही परिवेशमा रिडर्स झापाका सदस्य तथा मेचीनगरको हिमालय मल्टिपल कलेजका अध्यापकसमेत रहेका विश्लेषक सागर शिवाकोटीसँग झापाको समग्र चुनावी अवस्था, प्रमुख प्रतिस्पर्धा र बदलिँदो राजनीतिक प्रवृत्तिबारे कान्तिपुरका गौरव पोखरेल र पर्वत पोर्तेलले गरेको कुराकानीको सम्पादित अंश :
झापाको चुनावी माहोल कस्तो देख्नु भएको छ ?
झापा अहिले एकदमै तातेको छ । मौसमजस्तै चुनावी माहोल पनि ‘गर्माएको’ छ । सामाजिक सञ्जालदेखि गाउँ–घरको छलफलसम्म चुनावकै चर्चा छ । बाहिरबाट हेर्दा झापा–५ बढी तातेको देखिन्छ । तर, भित्र पसेर हेर्दा झापाका सबै क्षेत्रमा चुनावी सक्रियता तीव्र छ ।
झापा–५ मा ओली र बालेन्द्रबीचको प्रतिस्पर्धालाई कसरी हेर्नुहुन्छ ?
मैले फिल्डमै गएर हेर्दा बालेन्द्र शाहको सम्भावना अलि बलियो देखिएको छ ।एमालेको संगठन बलियो छ । ओलीले क्षेत्र नम्बर ५ मा धेरै भौतिक पूर्वाधार विकास गरेका पनि छन् । त्यसले पार्टीप्रति मतदाताको लगाव पनि देखिन्छ । तर, अहिलेको माहोल संगठनभन्दा माथि गएको जस्तो देखिन्छ ।
केही दिनयता ओली स्वयं अत्यन्त सक्रिय भएर घर–घर पुगेका छन् । यो सक्रियताले एमालेको मत होल्ड गर्न सहयोग गर्छ कि भन्ने लागेको छ । तर, अहिलेको परिस्थितिमा त्यो पर्याप्त छ कि छैन भन्ने प्रश्न खुला छ ।
झापा–५ मा अन्य उम्मेदवारहरू छायाँमा परेका हुन् ?
झापा–५ ले यसपटक सांसद मात्र होइन, सम्भावित प्रधानमन्त्री पनि दिन सक्छ भन्ने बहस छ । यही कारण मुख्य प्रतिस्पर्धा ओली र बालेन्द्रबीच केन्द्रित भएको हो । माओवादी केन्द्रका युवा उम्मेदवार रन्जित तामाङ र अन्य दलका उम्मेदवार पनि छन् । तर, राष्ट्रिय बहस ‘को प्रधानमन्त्री ?’ भन्ने प्रश्नमा केन्द्रित हुँदा अन्य उम्मेदवारहरू छायाँमा परेको जस्तो देखिएको छ ।
झापा–२ को प्रतिस्पर्धा चाहिँ कस्तो देख्नुहुन्छ ?
देशव्यापी रूपमा विकल्प खोज्ने लहर झापा–२ मा पनि छ । एमालेको संगठन यहाँ पनि बलियो छ । कांग्रेस, माओवादी, राप्रपा, स्वतन्त्र सबै खालका उम्मेदवार छन् । यहाँ जातीय संरचना पनि प्रभावकारी देखिन्छ । पहाडबाट बसाइँ सरेर आएका ब्राह्मण–क्षेत्री समुदाय र स्थानीय राई–लिम्बु समुदायको उपस्थिति उल्लेखनीय छ । अघिल्ला चुनावमा जातीय फ्याक्टरले भूमिका खेलेको थियो । यसपटक पनि त्यो फ्याक्टरको महत्त्व छ । यसपटक मत विभाजन धेरै तहमा हुन सक्ने संकेत छ । त्यसैले यहाँको परिणाम अनुमान गर्न कठिन छ ।
झापा–१ मा चाहिँ के देखिन्छ अवस्था ?
झापा–१ नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा को क्षेत्र हो । यहाँ कांग्रेसको सक्रियता बढी छ । एमाले, कांग्रेस र अन्य दलका उम्मेदवार व्यक्तिगत रूपमा सबल छन् । तर, फिल्डको अवस्थाले कांग्रेस र वैकल्पिक शक्तिबीच प्रतिस्पर्धा तीव्र देखिन्छ ।
यसपटक झापा–३ मा एमाले–राप्रपा सहकार्यको सम्भावनाको पनि गुन्जायस छ ?
यदि सहकार्य भयो भने त्यसको परिणाम नेतृत्वले सोचेजस्तो ‘सिधै ट्रान्सफर’ नहुन सक्छ । आजका मतदाता स्वतन्त्र छन् । नेताको निर्देशन अब मतदाताले सहजै मान्ने स्थिति देखिँदैन । बरु जबरजस्ती सहकार्य भयो भने कार्यकर्तामाझ ‘रियाक्सन’ आउन सक्छ । त्यसले अप्रत्याशित नतिजा पनि ल्याउन सक्छ ।
समग्र झापा जिल्लाको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
समग्र झापा अत्यन्त तरल अवस्थामा छ । पहिले राष्ट्रिय राजनीतिमा चौथो शक्ति मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक मुख्य प्रतिस्पर्धी जस्तो देखिएको छ । मतदातामा विकल्प खोज्ने मनोविज्ञान बलियो छ ।
विकासका गतिविधिहरू हुँदाहुँदै पनि मतदाता विकल्प किन खोजिरहेका छन् ?
पूर्वाधार बनाउनु मात्र विकास होइन । विकास भनेको नागरिकको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति हो । सडक, पुल, भवन बने पनि यदि सुशासन छैन, आत्मसम्मान छैन भने त्यो विकास अधुरो हुन्छ । नागरिकले वडा कार्यालय वा प्रहरी कार्यालय जाँदा आत्मसम्मानमा ठेस पुग्नु भएन । विदेशबाट फर्किएको युवाले स्वदेशमै केही गर्न सक्छु भन्ने आशा गरोस् । त्यो अनुभूति नहुँदा मतदाता विकल्पतर्फ आकर्षित भएका हुन् । विकल्पका रूपमा अहिले दुई अनुहार देखिन्छन्, गगन थापा र बालेन्द्र । गगनले पुरानो पार्टीलाई रिफ्रेस गर्ने प्रयास गरिरहेका छन् । बालेन्द्र र रविले नयाँ राजनीतिक शैली प्रस्तुत गरिरहेका छन् । एक पक्ष ‘फ्रेस विकल्प’ रोजिरहेको छ भने अर्को पक्ष ‘संरचनासहितको सुधारिएको विकल्प’ रोजिरहेको देखिन्छ । कस्तो विकल्प रोज्ने, त्यो जनतालाई खुला छ ।
झापाको समग्र नतिजा कस्तो आउन सक्ला ?
संख्या भन्न गाह्रो छ । तर, यति चाहिँ निश्चित छ, पहिले जस्तो नतिजा दोहोरिने सम्भावना ज्यादै कम छ । झापामा नयाँ हावा चलेको छ । ‘लालकिल्ला’ भन्ने पुरानो परिभाषा अब कमजोर भएको देखिन्छ । यसपटक झापाले कुनै न कुनै रूपमा उथलपुथल ल्याउने संकेत देखिन्छ ।
