सुनसरी-१ मा विकासका एजेन्डासहित २६ उम्मेदवार प्रतिस्पर्धामा

धरानसहित सुनसरी–१ क्षेत्रका २६ जना उम्मेदवारले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका एजेन्डा लिएर मतदातालाई आकर्षित गर्न तीव्र अभियान चलाइरहेका छन्।

फाल्गुन ११, २०८२

एलिना राई

26 candidates with development agendas in competition in Sunsari-1

What you should know

धरान — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उम्मेदवार रहेको सुनसरी–१ मा खानेपानीकाे मुद्दा मुख्य चुनावी नारा बनेको छ । धरान उपमहानगरपालिकाका पूर्वप्रमुख साम्पाङ फरक शैली, जनसहभागिता र श्रमदान अभियानले लोकप्रिय बनेका थिए ।

उपमहानगर प्रमुख हुँदा खानेपानी समस्या समाधानका लागि श्रमदान अभियान सञ्चालन गरेकाले स्थानीयस्तरमा सकारात्मक प्रभाव थियो । प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका साम्पाङले खानेपानी समस्याको दीर्घकालीन समाधान, भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन प्रणाली, रोजगारी सिर्जना, पर्यटकीय पूर्वाधार विकास तथा धरानलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन् । 

साम्पाङले चुनावी अभियानका क्रममा मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् । गाउँ–टोलमा पुगेर उनले मतदातासँग भेटघाट गर्दै उनीहरूका समस्या र सुझाव सुन्न सक्रिय रहेका छन् । विकासका काममा जनसहभागिता अनिवार्य रहेको मतदातालाई बुझाउँदै भोट मागिरहेका छन् । पारदर्शितामार्फत मात्र जनताको विश्वास जित्न सकिने उनको भनाइ छ ।

स्वतन्त्र राजनीतिक छवि र सामाजिक अभियानका कारण विशेषगरी युवा वर्ग र वैकल्पिक राजनीतिक सोच भएका मतदातामा उनको प्रभाव देखिएको छ । दुई पटक वडाध्यक्ष निर्वाचित भइसकेका सूर्यबहादुर भट्टराई (मनोज) नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका छन् । उनी वडाध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हुन् । 

26 candidates with development agendas in competition in Sunsari-1

स्थानीय तहमा लामोसमय काम गरेका उनले आफ्नो कार्यकालमा गरेका विकासका कामलाई आधार बनाएर समर्थन जुटाइरहेका छन् । नीति निर्माण, नीतिगत सुधार, भौतिक पूर्वाधार विकास, खानेपानी समस्या समाधान, सहरी व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवा सुधार, कृषि क्षेत्रको आधुनिकिकरण तथा युवालाई रोजगारी सिर्जना गर्ने लगायत १६ वटा मुख्य एजेन्डा सार्वजनिक गरेका छन् । धरानलाई योजनाबद्ध रूपमा विकास गर्न संघीय सरकारसँग सहकार्य आवश्यक रहेको मनोजले बताए । 

स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर ठूला विकास आयोजना सञ्चालन गर्न सकिने उनको विश्वास छ। विकासलाई दीर्घकालीन रूपमा अघि बढाउन स्पष्ट नीति, प्रभावकारी योजना र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक रहेको भन्दै त्यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

साम्पाङ र मनोजबीचको प्रतिस्पर्धालाई यस क्षेत्रमा मुख्य प्रतिस्पर्धीको रूपमा हेरिएको छ । स्थानीय सरकारमा रहँदादेखि नै यी दुई नेताबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत एक–अर्काको आलोचना गर्ने क्रमले उनीहरूबीच सम्बन्ध चिसिएको थियो । 

26 candidates with development agendas in competition in Sunsari-1

पुरानै प्रतिस्पर्धी बीच यसपटक निर्वाचनमा दोहोरिएकाले निर्वाचन थप रोचक र चासोपूर्ण बनेको छ । एमालेका उम्मेदवार टिकाराम माङ्लेन पार्टीको परम्परागत जनाधार जोगाउने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय शिक्षा, कृषि आधुनिकीकरण तथा पर्यटन प्रवर्द्धनलाई आफ्नो मुख्य एजेन्डा उनले बनाएका छन् । 

एमाले नेतृत्वमा विगतमा सुरु भएका विकास आयोजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदातासँग समर्थन मागिरहेका छन् । आफ्नो उम्मेदवारी क्षेत्रको समग्र विकास र नागरिकको जीवनस्तर सुधारका लागि भएको उनको भनाइ छ । जनता समाजवादी पार्टी नेपालका उम्मेदवार संजय राईले पनि घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै चुनावी अभियानमा सक्रिय रहेका छन् । उनी मतदाताको घरदैलोमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै समस्या, सुझाव र अपेक्षा बुझ्ने काममा जुटेका छन् । 

राईले विशेषगरी भौतिक पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, शिक्षा क्षेत्रको सुधार, दीर्घकालीन खानेपानी समस्या समाधान तथा पहिचान र अधिकारका मुद्दालाई आफनो मुख्य चुनावी एजेन्डाका रूपमा अघि सारेका छन् । समावेशी विकास र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्दै क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

अन्य दलका उम्मेदवार पनि अहिले चुनावी प्रचारप्रसार र घरदैलोमा व्यस्त छन् । सुनसरी–१ लाई  व्यवस्थित, आधुनिक र आर्थिक रूपमा सक्षम सहरका रूपमा विकास गर्ने प्रतिबद्धता उम्मेदवारहरुले मतदातासामु राखिरहेका छन् । धरान क्षेत्रमा लामो समयदेखि खानेपानी समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रमुख मुद्दाका रूपमा रहँदै आएका छन् ।

26 candidates with development agendas in competition in Sunsari-1

सबै उम्मेदवारले यी समस्या दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । यसैगरी, युवालाई रोजगारी सिर्जना गर्ने, स्वरोजगार कार्यत्रम सञ्चालन गर्ने, स्थानीय उद्योग प्रवर्द्धन गर्ने, पर्यटन विकास गर्ने तथा पूर्वाधार विस्तार गर्ने विषय नै अधिकांश उम्मेदवारको मुख्य चुनावी एजेन्डाका रूपमा रहेका छन् ।
यहाँका मतदाता भने उम्मेदवारको एजेन्डा, विगतको कार्यसम्पादन, इमान्दारिता र विकासप्रतिको प्रतिबद्धतालाई आधार बनाएर निर्णय गर्ने तयारीमा रहेका छन् । 

धरान–१७ की ६८ वर्षीया लक्ष्मी राईले खानेपानी समस्या, सडकको अवस्था, बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवा सुधारजस्ता विषय चुनावी मुद्दा बनिरहेको बताइन् । तर, प्रतिबद्धता गरे पनि त्यस अनुरुप काम नभएको उनले सुनाइन् । सधैं आश्वासन र गफ मात्रै दिन्छन् । यसपाली बुझेर मात्र भोट दिने उनले बताइन् । 

कांग्रेसका उम्मेदवार सुजेन्द्र गोले तामाङ पनि टोलटोल पुगेर मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा र १७ बुँदे प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक पूर्वाधार र सिँचाइ व्यवस्थापनमा प्राथमिकता उनको मुख्य एजेन्डा रहेको छ । यसैगरी यस्तै, धरान उपमहानगरपालिका, बराहक्षेत्र र रामधुनी नगरपालिकाका अधुरा योजना पूरा गरी नयाँ विकास योजना प्रारम्भ गर्ने उनले बताएका छन् ।

खानेपानी समस्या हल गर्न संघीय सरकारसँग समन्वय गरी दीर्घकालीनरुपमा समाधान गर्ने, देवस्थल तथा सार्वजनिकस्थलहरुको संरक्षण र स्तरोन्नति गर्न पहल गर्ने गरी धार्मिक पर्यटकीयस्थलकोरुपमा विकास गरिने युवा सहभागिता र स्थानीय तहमा पारदर्शी सुशासन कायम गर्ने विषयमा उनले मतदातासँग आफ्नो योजना स्पष्ट पारिरहेका छन्।  

त्यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा अशोक राईसँग पराजित भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सरिन तामाङ यसपटकको चुनावमा नयाँ रणनीति र दृष्टिकोणका साथ चुनाव जित्ने लक्ष्यसहित मैदानमा छन् । अघिल्लो हारलाई अनुभवका रूपमा लिएर उनले मतदातासँग प्रत्यक्ष संवाद, घरदैलो र समस्या–समाधान केन्द्रित अभियानमा जोड दिएकी छन्।

26 candidates with development agendas in competition in Sunsari-1

अघिल्लो निर्वाचनमा पाएको भन्दा बढी मत ल्याएर आसन्न निर्वाचन जित्ने उनले दाबी गरिन् । उनले २०७९ को निर्वाचनमा १६ हजार ६०६ मत पाएकी थिइन् ।  सुनसरी १ जहिल्यै आफ्नो प्राथमिकतामा रहेको भन्दै ३०, ४० वर्षदेखिको जनताका पीडालाई संसद र सरकारमा पुर्याउने बताउँदै भोट मागिरहेकी छन् ।  

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार संजय राई पनि मतदाताको घरदैलोमा पुगेर समस्या, सुझाव र अपेक्षा बुझ्ने काममा जुटेका छन् । राईले विशेषगरी भौतिक पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, शिक्षा क्षेत्रको सुधार, दीर्घकालीन खानेपानी समस्या समाधान तथा पहिचान र अधिकारका मुद्दालाई आफनो मुख्य चुनावी एजेन्डाका रूपमा अघि सारेका छन् । साथै, समावेशी विकास र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्दै क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

सुनसरी–१ मा २६ जना उम्मेदवार छन् । जसमध्ये १९ जनाले विभिन्न दल र ७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार महेश श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसन राजेन्द्र गुरुङ, नेकपा माओवादीबाट दिलबहादुर बास्तोला (नगेन्द्र), राष्ट्रिय साझा पार्टीबाट भूपी राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीका राजकुमार राई, संयुक्त नागरिक पार्टी नरेश विक, उज्यालो नेपालबाट डम्बर लावती, नेकफा संयुक्तबाट श्याम नारायण राजधामी, जनमुत्तिबाट यामबहादुर लिम्बू, आम जनताबाट रायबहादुर विष्ट, जनता समाजवादी पार्टीका नगेन्द्रबहादुर लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठ र मितेरी पार्टी नेपालबाट डा. रक्षकुमार राई उम्मेदवार रहेका छन् । ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा, चेतबहादुर राई, जीवनकला राई, सुमित राई र देउमान लिम्बू स्वतन्त्र उम्मेदवार छन् । 

सबैले उम्मेदवारले आफ्नो पक्षमा जनमत आकर्षित गर्न तीव्र चुनावी अभियान सञ्चालन गरिरहेका छन् । सुनसरी–१ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेका छन् । जसमा ७२ हजार १ सय ८० पुरुष, ७८ हजार २ सय १२ महिला र यौनिक तथा लैंगिक अल्पसंख्यक १ जना रहेका छन् ।

यस निर्वाचन क्षेत्रमा धरानका २० वडा, बराहक्षेत्रका १, २, ३, ४ र ५ तथा रामधुनीका ६ र ७ नम्बर वडा समेटिएका छन् । सहरी र अर्धसहरी क्षेत्रको मिश्रण रहेको यस निर्वाचन क्षेत्रमा खानेपानी, सडक, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासन जस्ता विषय नै उम्मेदवारको प्रमुख एजेन्डा रहेका छन् ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully