अछामको मंगलसेनस्थित बहुप्राविधिक शिक्षालयमा ‘डिप्लोमा इन फार्मेसी’ पढ्दै गरेकी नीरा यतिबेला आफ्नो भविष्य र गाउँको नियतिबीचको खाडल नापिरहेकी छन् । उनी पहिलो पटक मतदान गर्ने अवसर पाउँदैछिन् ।
What you should know
अछाम — सरकारी तथ्यांक भन्छ– नेपालका ७ सय ५३ स्थानीय तहमध्ये गरिबीको सूचीमा सबैभन्दा अगाडि छ, जाजरकोटको जुनीचाँदे गाउँपालिका । यही गाउँपालिका–६ की २४ वर्षीया नीरा शाहीलाई यो ‘नम्बर एक’ को ट्यागले पीडा दिइरहेको छ ।
अछामको मंगलसेनस्थित बहुप्राविधिक शिक्षालयमा ‘डिप्लोमा इन फार्मेसी’ पढ्दै गरेकी नीरा यतिबेला आफ्नो भविष्य र गाउँको नियतिबीचको खाडल नापिरहेकी छन् । उनी पहिलो पटक मतदान गर्ने अवसर पाउँदैछिन् ।
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढिरहेका बेला देशकै सबैभन्दा ‘गरिब’ स्थानीय तहकी यी मतदातालाई भने चुनावी नाराले नछाेएकाे जस्तो लागिरहेकाे छ । ‘अछाममा बसेर फार्मेसी (औषधि विज्ञान) पढ्दैछु । तर मेरो मन गाउँकै उकालो–आरालोमा अल्झिएको छ,’ नीरा भन्छिन्,‘बिरामीलाई कुन औषधि दिने भनेर त म सिक्दैछु, तर मेरो गाउँको विकटता र गरिबीको रोग निको पार्ने ओखती कुन चुनावले ल्याउला र? हामीलाई ठूला सपना होइन, बिरामी पर्दा अस्पताल पुग्ने भरपर्दो सडक र स्वास्थ्य चौकीमा सिटामोल चाहिएको हो ।’
बहुमूल्य जडीबुटी र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने पुलसहितको पक्की सडक, गाउँमै सुविधासम्पन्न अस्पताल र दरबन्दी अनुसारका डाक्टरको उपस्थिति, नजिकमै प्राविधिक शिक्षालय र पढेका युवालाई गाउँमै ‘एडजस्ट’ गर्ने नीति, बिजुलीको राष्ट्रिय प्रसारण लाइन विस्तार र इन्टरनेटको पहुँच जुनीचाँदेको आवश्यकता भएको नीरा बताउँछिन् ।
जुनीचाँदेलाई सधैं चामल अनुदान दिने ठाउँको रूपमा मात्र चिनाएको र अब नयाँ मतदाताको माग फरक रहेको उनले बताइन् । ‘बर्खामा पहिरोले सडक थुन्छ, बिरामी बोकेको गाडी बीचमै अड्किन्छ । अझै पनि जुनीचाँदेमा सुत्केरी व्यथाले च्याप्दा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन,’ उनी भन्छिन्,‘गरिब बस्तीमा लाखौं खर्चेर हेलिकप्टर बोलाउन सक्ने सामर्थ्य कसको हुन्छ ? स्वास्थ्य चौकीमा सिटामोल र डाक्टर छैनन् भने हामीले फार्मेसी पढेको के अर्थ ?’
बझाङको बित्थडचिर गाउँपालिका–२ का १८ वर्षीय सुशील बोहरा पनि मंगलसेनस्थित बहुप्राविधिक शिक्षालयमा ‘डिप्लोमा इन फार्मेसी’ अध्ययनरत छन् । उनी पनि यसपाली पहिलोपटक मतदान गर्दैछन् । उनी आफ्नो पहिलो मतप्रति जति उत्साहित छन्, त्यतिनै प्रश्न पनि बोकेका छन् । ‘हाम्रो पुस्ता(जेन–जी)ले रेडियो, टिभीमार्फत र हाम्रा अभिभावकबाट पनि नेताहरुले धेरै आश्वासन दिएको सुनिसक्यौं,’ उनी भन्छन्,‘अब भाषण गर्ने नेता होइन, बझाङको दुःख निको पार्ने ‘डाक्टर’ जस्तै नेता चाहिएको छ ।’
उनी दलगत निष्ठाभन्दा कार्यक्षमता हेरेर मतदान गर्नुपर्ने धारणा राख्छन् । ‘विकासको नाममा डोजर त चले, तर सडकले गाउँ जोड्नुको सट्टा पहिरो निम्त्यायो । भूकम्पले भत्काएका घर मात्रै होइन, मानिसहरूको मन पनि अझै जोडिन सकेको छैन । हामी भने अब सचेत भएका छौं,’ उनले भने,‘पुराना दलले इतिहास बनाए, तर वर्तमान सुधार्न सकेनन् । नयाँ दलमा ऊर्जा देखिन्छ । तर विकट जिल्लाको वास्तविकता बुझ्ने क्षमता कति छ भन्ने परीक्षण बाँकी छ ।’
फागुन २१ को निर्वाचनमा भविष्यको लगानीका रूपमा मत दिने उनको भनाइ छ । ‘कुनै दलप्रतिको अन्ध समर्थन नभई भविष्यप्रतिको लगानीको रुपमा मत दिनेछु । बित्थडचिरदेखि दुर्गम बस्तीका आवाजले उम्मेदवारहरूलाई विकासका ठोस एजेन्डातर्फ ध्यान दिनुपर्ने दबाब सिर्जना पनि गर्ने छ,’ बोहराले भने ।
मंगलसेनमा ‘डिप्लोमा इन फार्मेसी’ अध्ययनरत तुर्माखाँद गाउँपालिका–४ का डबल बुढा एजेन्डा मात्रै बोकेर आउनेभन्दा काम गरेर देखाउने नेतृत्वलाई अघि सार्नु आवश्यक रहेको बताउँछन् । ‘कागजमा लेखिएका योजना धेरै सुनियो, तर व्यवहारमा काम देखिएको छैन । अब विकासको नारा होइन, परिणाम दिने नेतृत्व चाहिएको छ ।’
देशका ७७ जिल्लामध्ये गरिबीको सूचीमा अग्रस्थानमा रहेको अछामको अवस्था सुधार्ने स्पष्ट योजना कुनै पनि राजनीतिक दलले प्रभावकारी रूपमा अघि सार्न नसकेको उनको बुझाइ छ । विकासका हिसाबले पछाडि परेको जिल्लालाई माथि उठाउन दीर्घकालीन सोचसहितको कार्यक्रम आवश्यक रहेको उनी बताउँछन् ।
स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने उनले बताए । विशेषगरी मंगलसेन–जंगलघाट–चिसापानी सडक खण्डको स्तरोन्नति तथा जंगलघाटमा निर्माणाधीन पक्की पुलको काम छिटो सम्पन्न गराउन सक्ने उम्मेदवारलाई आफूले मत दिने उनी बताउँछन् । ‘सडक र पुल बनेपछि मात्रै गाउँको अर्थतन्त्र चलायमान हुन्छ। हामीलाई भाषण होइन, काम अघि बढाउने प्रतिनिधि चाहिएको हो,’ उनले भने ।
