‘रुट टप गाडी’मा उभिएर प्रचार गर्दा उम्मेदवारलाई नै जोखिम हुन सक्ने भन्दै यो निर्णय लिइएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
What you should know
काठमाडौँ — गृह मन्त्रालयमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले उम्मेदवारहरूलाई ‘रुफ टप’ गाडी प्रयोग गर्न रोक लगाउने निर्णय गर्यो ।
चुनावभरका लागि लागू हुनेगरी त्यस्ता गाडी प्रयोग गर्न रोक लगाइएको मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले बताइन् । ‘सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै यो निर्णय लिइएको हो,’ उनले कान्तिपुरसँग भनिन् ।
२१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह, सभापति रवि लामिछानेसहितका नेताहरूले यस्ता सवारीसाधन प्रयोग गरिरहेका छन् । खासगरी बालेन्द्रले पूर्वदेखि पश्चिमसम्मका यात्रामा अधिकांश समय त्यस्ता गाडी प्रयोग गरेका थिए ।
तर, सुरक्षा निकायले त्यस्तो गाडीको प्रयोग सुरक्षा दृष्टिकोणले चुनौतीपूर्ण हुनसक्ने निष्कर्ष निकाल्दै प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव सुरक्षा समिति बैठकमा गरेका थिए । ‘रुट टप गाडी’मा उभिएर प्रचार गर्दा उम्मेदवारलाई नै जोखिम हुन सक्ने भन्दै यो निर्णय लिइएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी पनि विगतमा सुरक्षा निकायको सल्लाह अनुसार यो निर्णय भएको भए ठिकै मान्न सकिने बताउँछन् । ‘विगतमा विदेशमा त्यस्तो गाडीबाट बाहिर निस्किएका बेला आक्रमण भएका घटनाहरू छन्, फेरि त्यहाँ सम्बन्धित व्यक्ति स्पष्टसँग देखिने हुँदा कसैले गलत नियत राखे टार्गेट बनाउन सजिलो हुन्छ,’ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का पूर्वप्रमुखसमेत रहेका उनले भने, ‘गाडीभित्र हुँदा को, कहाँ बसेको छ भन्ने पनि हुँदैन, फेरि सुरक्षाकर्मीले जतिबेलै नजरमा राख्न पनि सजिलो हुन्छ ।’
सुरक्षा सम्बद्ध अधिकृतहरूका अनुसार, चुनाव बिथोल्न चाहने पक्षले त्यसरी हिँडेका उम्मेदवारलाई ढुंगा हानेरसमेत परिस्थिति भड्काउन सक्ने अवस्था हुन सक्नेसमेत ब्रिफिङ बैठकमा भएको थियो । त्यही बैठकले सुरक्षा संवेदनशीलताका आधारमा झापा, दोलखा र रामेछापमा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रहरी प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसहित सैनिक उच्च अधिकृतहरूको समेत उपस्थिति थियो ।
त्यही अवसरमा ‘जुम’मार्फत गृहमन्त्री अर्यालले ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए । प्रदेश प्रमुख सचिव तथा प्रजिअ संयोजक रहने जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट बैठकमा प्रस्तुतीकरणसमेत भएको गृहमन्त्रीका प्रेस संयोजक पुरुषोत्तम खत्रीले जानकारी दिए ।
