‘आर्थिक हब’ बनिरहेको रुपन्देहीको ग्रामीण भेगमा अभावै अभाव

धेरै पूर्वाधारका सूचकहरुमा सकारात्मक देखिए पनि बुटवल र दक्षिणी क्षेत्रका नागरिकका लागि खानेपानीको समस्या बढ्दो छ । राजनीतिक दलहरुले १५ वर्षदेखि सधैंको चुनावी नारा बनाउने झुम्सा खानेपानी अहिले पनि सम्पन्न हुन सकेको छैन ।

फाल्गुन ४, २०८२

घनश्याम गौतम

Rural areas of Rupandehi, which is becoming an 'economic hub', are facing severe shortages

What you should know

बुटवल — २० वर्षअघि कृषि उत्पादनका लागि उर्बर भूमि रूपन्देही पछिल्लो समय आर्थिक विकासको केन्द्र बनेको छ । खेतीयोग्य जमिन सहरमा परिणत भइरहेको छ । पछिल्लो डेढ दशकमा भएका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यको सुविधा र तीब्र बसाइँसराइले रूपन्देहीको पहिचान नै बदलिरहेको छ ।

रुपन्देही लुम्बिनी प्रदेशकै उद्योग, व्यापार, शिक्षा र स्वास्थ्यको प्रमुख गन्तब्य बन्दै गएको छ । त्यसले कृषि उत्पादनको उर्बर भूमि रोजगारी र अवसरको केन्द्रमा परिणत भइरहेको छ । उद्योग, व्यापारको विकाससँगै अवसरको खोजीमा यस क्षेत्रका पहाडी जिल्लाबाट बुटवल, भैरहवामा बसाइँ सर्नेको संख्या बढ्दै छ ।

रुपन्देहीमा सहरी विकासका लागि आवश्यक पूर्वाधार सडक, पुल, बिजुली, पानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, हवाई यातायातदेखि भारतसँगको सहज नाका पर्याप्त छन् । पर्यटकीय क्षेत्रका पूर्वाधा विकास र ठूला उद्योग स्थापनाले रोजगारी र अवसर सिर्जना गरिरहेको छ । पछिल्लो १० वर्षमा लुम्बिनी प्रदेशका पहाडी जिल्लासँगै गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट मात्र बसाइँ सरेर रूपन्देहीमा आउने परिवारको संख्या २१ हजार बढी छ । तिलोत्तमा नगरपालिकाका मात्र गत आर्थिक वर्षमा १ हजार ४ सय बढी परिवार बसाइँ सरेर आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार देशभरीमै बसाइँ सरेर आउने जिल्लामा भक्तपुरपछि रूपन्देही दोस्रो ठूलो जिल्ला हो । त्यसको मुख्य कारण भनेकै पूर्वाधार विकास र ठूला उद्योग स्थापनासँगै देखिएका अवसरका सम्भावना हुन् ।

१५ वर्षअघि साविक मोतिपुर, सेमलारबाट बुटवल पुग्न महेन्द्र राजमार्गको तिनाउ पुल तर्नुको विकल्प थिएन । त्यसैले मोतिपुर, समेलारलाई धेरैले बुटवलको ‘बत्तीमूनिको अध्यारो’ भन्थे । रूपन्देहीको दक्षिणी क्षेत्रमा पनि पहिलेको तुलनामा पूर्वाधार विकासले फड्को मारेको छ । रोहिणी, घोडाहा खोलामा बनेका पुलले बुटवल र भैरहवाबीचको दूरी छोटिएको छ । फर्साटिकरबाट बुटवल आउने पनि पुल थिएन । तामनगर हुँदै आउँदा पनि बीचमा दानव नदी वर्षायाममा तगारो बन्थ्यो । सैनामैनाका स्थानीय सेमलार आउन तामनगर हुँदै हिँड्नु पर्थ्यो । त्यहाँ पनि दानव नदी नै बाधक बन्थ्यो । मणिग्राम, ठूटीपिपल आउन पनि पश्चिमबाट तिनाउ पुलको विकल्प थिएन । तर अहिले मोतिपुर, सेमलारका बासिन्दा बुटवल आउन तिनाउ पुललाई ‘वैकल्पिक’ ठान्छन् । किनकी सेमलार, मोतिपुरबाट बुटवल जोड्न तिनाउ र दानव नदीका हरेक १ किलोमिटरको दुरीमा दर्जन बढी पुल बनेका छन् ।

बुटवल उपमहानगरपालिका–११, बुद्धनगरका ७२ वर्षीय काजीमान थापाका अनुसार बुद्धनगरबाट बुटवल पुग्न पनि १५ वर्षअघि महेन्द्र राजमार्गकै पुलको विकल्प थिएन । आधा घण्टा घुमेर जानुपथ्र्यो । ‘तिनाउ बेलाबेला उर्लिन्थ्यो । त्यो बेला महेन्द्र राजमार्गमा भएको पुल प्रयोग गरेर बुटवल पुग्न आधा घण्टा लाग्थ्यो,’ २६ वर्षदेखि बुद्धनगरमा बस्दै आएका उनले भने, ‘तर, अहिले तिनाउको देवीनगरमा पुल बनेपछि बुद्धनगर र बुटवल एउटै बजार बनेको छ ।’

बेलबास–बेथरी सडक पनि निर्माणको अन्तिम चरणमा छ । सडक डिभिजन कार्यालय बुटवलका अनुसार पछिल्लो १५ वर्षमा तिनाउ, दानव, रोहिणीमा मात्र २० भन्दा बढी पुल बनेका छन् । यी पुल बनेपछि त्यहाँका नागरिकको दैनिकी फेरिएको छ । अहिले मानपकडी, फर्साटिकर, छपियाका किसान बिहानै बुटवल आएर ताजा तरकारी बिक्री गरेर खाना खान घरै फर्कन सक्ने भएका छन् । 

बुटवलको देवीनगर हाटबजारमा साप्ताहिक तरकारी विक्रिका लागि आउने मानपकडीका रामनरेश लोधका अनुसार सडक र पुलले गाउँको अवस्था नै बदलिएको छ । बुटवलसहित विभिन्न स्थानमा लाग्ने साप्ताहिक हाटमा विक्रि गर्ने गरी मानपकडी, फर्साटिकर, मोतिपुर, भाटालगायतका स्थानमा १ सय बढी युवाले कृषि खेती गर्न थालेका छन् । ‘पुल र बाटो बनेपछि गाउँमा तरकारी खेती गर्ने किसान १ सय भन्दा धेरै भएका छन्,’ उनले भने, ‘तिनीहरुले उत्पादन गरेको तरकारी हामी ७ जनाले हप्तैभरी विभिन्न हाटबजारमा लगेर बिक्रि गर्छौं, हामीलाई पनि आम्दानी किसानलाई पनि मूल्य दुवै भएको छ ।’ १ सय किसानले हप्तामा कम्तीमा १५ लाख आम्दानी गरिरहेको उनले बताए । 

१० वर्षअघिसम्म रूपन्देहीको ६९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धानखेती हुन्थ्यो । ४ लाख ५० हजार मेट्रिकटन धान उत्पादन हुन्थ्यो । ३० हजार मेट्रिकटन भन्दा बढी गहुँ, तोरी, दाल र तरकारी फल्थ्यो । तर, १० वर्षमा ८ हजार हेक्टर जमिन बाँझोमा परिणत भएको छ । अहिले खेतीयोग्य जमिनमा घर ठडिएका छन् । बस्ती विकास भएर बजार बनेका छन् ।

कृषि ज्ञान केन्द्र रूपन्देहीका बरिष्ठ कृषि प्रसार अधिकृत विवेक पन्तका अनुसार २० अघिसम्म रूपन्देही नेपालकै अन्न भण्डारको रूपमा चिनिन्थ्यो । सिँचाइ सुविधा, उष्ण प्रदेशीय हावापानी, मेहनती किसान र पर्याप्त खेतीयोग्य जमिन भएको जिल्लाले मुलुकको कुल ग्राहस्थ उत्पादनमा ३१ दशमलव ७ प्रतिशत र रोजगारीमूलक कृषि क्षेत्रमा ६० दशमलव २ प्रतिशत योगदान पुर्‍याएको थियो । ‘तर, अहिले त्यही कृषि उब्जनी हुने जिल्ला पछिल्लो समय कंक्रिटको सहरका रूपमा विकसित भइरहेको छ,’ उनले भने, ‘अति उब्जनी हुने क्षेत्र मानिने शंकरनगर, मक्रहर, आनन्दवन, देवदह, सेमलार, मोतिपुर, खड्वा र वनगाई क्षेत्रमा खेतीयोग्य जमिन सकिएर सहर बसेका छन् ।’

पछिल्लो १० वर्षमा झन्डै १७ हजार हेक्टर जमिन प्रयोगविहीन बनेको उनले बताए । जिल्लाको १ लाख ४१ हजार ३ सय ६७ हेक्टर भूभागमध्ये ५८ दशमलव ४५ प्रतिशत अर्थात् ८२ हजार ६ सय २२ हेक्टर जमिन खेतीयोग्य छ । खेतीयोग्य जमिनमा बस्ती विकासका लागि पछिल्लो समय बुटवल–भैरहवा ७ लेनको नमुना सडक मुख्य बनेको छ । फराकिलो सडक, किनारमा ग्रिनरी र बीचको डिभाइडरमा बत्ती र बुद्धका मुर्तिले ६ लेनको यो सडक जसरी देशमै नमूना बनेको छ । त्यसरी नै खेतीयोग्य जमिन मासेर कंक्रिट भवन निर्माणका लागि सहयोगी पनि बनिरहेको छ ।

तिलोत्तमा नगरपालिकाले विद्युतीय बत्ती जडान गरेर नगरका भित्रि सडकमा ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ र राजमार्गमा ‘उज्यालो सडक’ अभियान संचालन गरेपछि बस्ती विकास र उद्योग स्थापनामा यस क्षेत्रमै आर्कषण बढेको थियो । नगरपालिकाको दुई अभियानले बुटवल बेलहिया सडक साँच्चै देशमै नमुना सडक बनेको त्यसले बस्ती विकासमा सहयोग पुर्‍याएको तिलोत्तमा नगरपालिकाका पूर्वनगरप्रमुख बासुदेव घिमिरेले बताए । ‘तिलोत्तमालाई ‘क्लिन तिलोत्तमा, ग्रीन तिलोत्तमा’ बनाउने अभियानले नै बुटवलको ६ लेनको सडकलाईसमेत सुन्दर बनायो,’ उनले भने, ‘अहिले तिलोत्तमामा बढिरहेको सहरी विकास र ठूला उद्योग स्थापनाको आर्कषण पनि सडक नै हो ।’

बुटवल बेलहिया सडकलाई आधार मानेर दुवै तर्फ वर्षेनी एक दर्जन बढी उद्योग खुल्ने गरेका छन् । व्यवसायिक कृषिमा युवा पुस्ता जागेको छ । व्यापार बढेको छ । सडकबाट तीन/चार किलोमिटर पूर्व र पश्चिम क्षेत्रका खेत कृषि उत्पादनले हरियाली छन् । मध्य भागमा बुटवल बेलहिया सडक राखेर तीब्र विकासमा अघि बढेको तिलोत्तमा नगरपालिकामा मात्र १ हजार बढी युवाले व्यवसायिक कृषि खेती र कृषि जन्य पदार्थको विविधिकरण गर्ने उद्योग स्थापना गरेका छन् । केही उद्योग निर्माणाधीन छन् । विभिन्न उद्योगमा ३ हजार बढीले रोजगारी पाएका छन् ।

दैनिक १ लाख लिटरसम्म दुध उत्पादन गर्ने र त्यसको पनि विविधिकरण गरेर देशका अन्य सहरमा पठाउने उद्योगका लागि पनि यो सडक मुख्य सहयोगी बनेको छ । सडकको पूर्व र पश्चिम दुवै क्षेत्रमा १ सय बढी व्यवसायिक गाईभैंसी पाल्ने किसान २ सय भन्दा धेरै छन् । झण्डै ८ अर्ब खर्चेर सडकको चौडाई विस्तारपछि बुटवल र भैरहवाको आर्थिक अवस्था नै बदलिएको छ । यही सडकले बुटवललाई ‘आर्थिक हब’को पहिचान दिएको छ । अर्बौं लगानीका एक दर्जन ठूला र पाँच तारे होटल यही सडक आसपासमा खुलेका छन् । 

बुटवल–नारायणगढ सडक खण्ड झण्डै १७ अर्ब लागतमा ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ । त्यही सडकको किनार बुटवलको रामनगरमा २ अर्ब बढी लगानीमा अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ । त्यसकै छेउमा प्रदर्शनी स्थल छ । त्यस बाहेक लुम्बिनी–भैरहवा हुँदै परासीको हुलाकी सडक खण्डले बेलहिया हुँदै आउने स्थलमार्गका पर्यटकलाई लुम्बिनीसम्म छिटो पुर्याउन सहज भएको छ । उद्योगीका लागि सेज, भैरहवा नाका लगायतका क्षेत्रले सहज बनाएको छ । मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा प्रस्ताव गरेर भईरहेको कामले पनि उद्योगी र व्यवसायीमा उत्साह थपिरहेको छ । 

Rural areas of Rupandehi, which is becoming an 'economic hub', are facing severe shortages

हवाई यातायातमा पनि रुपन्देहीले प्रगति गरेको छ । भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण भएर उडान सुरु भएका छन् । तर, अझै उद्देश्य अनुसार उडान हुन नसक्दा पर्यटन व्यवसायी निराश छन् । पूर्वाधारमा भएको विकासले पर्यटन व्यवसाय पनि बढ्दै गएको छ । भैरहवा लुम्बिनी सडकले लुम्बिनीमा आउने पर्यटकका लागि सुविधा थपिएको छ । ४२ वर्ष अघिदेखि सुरु भएको लुम्बिनीको गुरु योजना पूरा हुने चरणमा छ । लुम्बिनीमा वार्षिक २० लाख बढी पर्यटक आउने गरेका छन् । त्यसमा विदेशी पर्यटकको संख्या ठूलो छ ।

बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा र बुटवल क्षेत्रमा पर्यटन लक्षित ६ वटा ५ तारे होटल संचालनमा छन् । अन्य साना होटलले पनि लगानी बृद्धि गरिरहेका छन् । रूपन्देहीले वार्षिक २० लाख बढी विदेशी पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्ने अवस्थामा पुगेको होटल व्यवसायी संघ बुटवलका पूर्वअध्यक्ष लेखनाथ भण्डारीले बताए । ‘यहाँका होटल व्यवसायमा मात्र २५ अर्ब बढी लगानी भएको छ,’ उनले भने, ‘त्यो थपिने क्रम अझै जारी छ ।’ बुटवलमा निजी क्षेत्रबाट २ वटा केबलकार संचालनमा छन् । बुटवलनजिकैको सिद्धबाबामा निर्माणको अन्तिम चरणमा रहेको सुरुङ मार्गले पनि बुटवलको पर्यटन व्यवासयमा आर्कषण थपेको छ । 

स्वास्थ्यमा पनि बुटवल केन्द्र बन्दै गएको छ । साविकको लुम्बिनी प्रादेशिक अस्पताललाई १२ सय शय्यामा विस्तारका लागि ७ अर्ब लागतमा तीब्र गतिमा निर्माण भइरहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा लुम्बिनी प्रदेशसँगै गण्डकी र कर्णाली प्रदेशबाटसमेत उपचारका लागि बिरामी आउने गरेका छन् । दैनिक ३ सय बढी बिरामी ओपिडी सेवाका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालमा भारतका सुनौली, गोरखपुरसम्मबाट पनि बिरामी आउने गरेका छन् । तिलोत्तमामा सरकारी स्तरबाटै मेडिकल कलेज स्थापनाका प्रक्रिया अघि बढेको छ। तिलोत्तमामै सामुदायिक मुटु अस्पताल संचालन गर्ने तयारी छ । क्यान्सर रोगको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै भवन बनिरहेको छ ।

शिक्षामा पनि बुटवल अब्बल बन्दै छ । सरकारी स्तरका कालिका मानव ज्ञान, शान्ति नमुना, कान्ति, नविन औद्योगिक कदरबहादुर रिता माविले देशमै उत्कृष्ट विद्यालयको पहिचान बनाइरहेका छन् । बुटवलमै इन्जिनियररिङदेखि बौद्ध शिक्षा पनि पढाई हुने गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न विधामा कक्षा संचालन गरिरहेको छ ।

विद्युतीकरणका लागि रुपन्देहीकै सियारी गाउँपालिकास्थित मैनहियामा विद्युत प्रसारण लाइनका लागि सबस्टेसन बनेको छ । यो सवस्टेसन मार्फत भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसनमा जोडेर मैनहिया–सम्पत्तिया १३२ केभी डबल सर्किट प्रसारण लाइन विस्तार भएर विद्युत निर्यात सुरु भएको छ। बुटवल–चन्द्रौटा सडक विस्तार जारी छ । तिनाउ नदीमा नमूना सिग्नेचर पुल निर्माणको काम अघि बढेको छ । 

मोतिपुरमा झण्डै १ हजार बिगाहामा औद्योगिक क्षेत्र निर्माण हुँदैछ । यस अघि ४ सय ३४ रोपनी क्षेत्रपफलमा बुटवलमै २०३२ सालमा स्थापना भएको औद्योगिक क्षेत्र भित्र प्लास्टिक, ग्रिल, केबुल, जुत्ता चप्पल, कुलर, साबुन, दुग्ध पदार्थ, डोरी, चकलेटलगायतका ७४ भन्दा बढी उद्योग सञ्चालनमा छन् । 

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अधिकृत एवं सूचना अधिकारी मोहन परियारका अनुसार २०७१ यता रूपन्देहीमा मात्र साना ठूला गरी १२ हजार ३ सय १८ उद्योग दर्ता भएर संचालनमा छन् । ती उद्योगले ५३ हजार ३२ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । ‘३९ हजार २ सय ८० पुरुष र १३ हजार ७ सय ५२ महिलाले रोजगारी पाएका छन्,’ उनले भने, ‘चालु आवको पुषसम्म मात्र ४ सय ७६ उद्योग दर्ता भएका छन् ।’ ती उद्योगबाट ५ सय ७७ जना युवा उद्यमी तयार भएको उनले बताए । कार्यालयको रेकर्ड अनुसार ५ करोड भन्दा कम लगानीका उद्योगमा मात्र १ अर्ब ३३ करोड पुँजी लगानी भएको छ ।

भैरहवामा आर्थिक विकास क्षेत्र सेजले लगानीकर्ताको आर्कषण बढाएको छ । आर्थिक विकासका लागि लगानीका सम्भावना बढ्दै जाँदा रूपन्देहीमा ‘क’ बर्गका बैंक र वित्तिय संस्थाहरु बढेका छन् । साईन रेसुंगा डेभलप्मेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले रूपन्देही आर्थिक हबको रूपमा विकास हुँदै गएको बताए । ‘रूपन्देहीमा लगानीको दर तीब्र रुपमा बढ्दै गएको छ,’ उनले भने, ‘त्यसले नागरिकका लागि रोजगारी र अबसर पनि सिर्जना गरिरहेको छ ।’ राष्ट्र बैंकको तथ्यांक अनुसार प्रदेशका १२ जिल्लामा ‘क’ वर्गका ७ सय ५५ वित्तिय संस्थाले आर्थिक कारोबार गर्छन् । ती मध्ये २ सय २९ वटा रूपन्देहीमा मात्र छन् ।

१ लाख २१ हजार ९ सय ५७ जनसंख्या रहेको रूपन्देहीमा ‘ख’ वर्गका ७७ र ‘ग’ वर्गका २८ सहित ३ सय ३४ वित्तिय संस्था छन् । एउटा वित्तिय संस्थाले ३ हजार ३ सय ५० जनालाई सेवा प्रदान गरिरहेको छ । रूपन्देहीका साक्षरता दर ८१ दशमलब २३ प्रतिशत छ । २०६८ मा रूपन्देहीको गरिबीको रेखा मुनि रहेकाहरुको संख्या २५ दशमलव २ प्रतिशत रहेकोमा २०७८ को जनगणना अनुसार २० दशमलव २७ प्रतिशत रहेको देखिन्छ ।

धेरै पूर्वाधारका सूचकमा सकारात्मक देखिए पनि बुटवल र दक्षिणी क्षेत्रका नागरिकका लागि खानेपानीको समस्या बढ्दो छ । राजनीतिक दलहरुले १५ वर्षदेखि सधैंको चुनावी नारा बनाउने झुम्सा खानेपानी अहिले पनि सम्पन्न हुन सकेको छैन् । दलहरुले झण्डै १५ वर्षदेखि नै बुटवबासीलाई झुम्सा खानेपानी योजनाको सपना बाँडिरहेका छन् । अहिले पनि राजनीतिक दलहरुले झुम्सा खानेपानी योजना सम्पन्न गर्ने झुटा आश्वासन दिंदैछन् । अधुरो योजना पुरा हुन नसक्दा बुटवलबासीले वर्षातको समयमा धमिलो पानी खानु पर्ने बाध्यता छ ।

बुटवल उपमहानगरपालिका–४ लक्ष्मीनगरका उपभोक्ता सीता भण्डारीले बुटवलबासीका लागि झुम्सा खानेपानी योजना ‘सपनाको उपहार’ भएको बताइन् । उनी स्थानीय लक्ष्मी टोलविकास संस्थाकी सदस्य हुन् । ‘नेताहरुले अहिले पनि झुम्साको खानेपानी ल्याउँछौं भनेरै भोट मागिरहेका छन्, अहिले जनताले विश्वास गर्ने अवस्था छैन्,’ उनले भनिन्, ‘बुटवबासीका लागि झुम्सा खानेपानी सपनाको उपहार जस्तै भएको छ ।’ खानेपानी समस्या समाधान गर्न सके अन्य ठूला समस्या नभएको र रोजगारीका काम गरे हुने उनको सुझाव छ। 

त्यस्तै सेवा प्रवाहमा रूपन्देहीमा रहेका मालपोत, यातायात व्यवस्था कार्यालय र बेलहियामा रहेको पर्यटन सूचना केन्द्रको सेवा प्रवाहमा सधैंको गुनासो यथावत रहेको देखिन्छ । सेवाग्राहीले कर्मचारीको ढिलासुस्ती, अनावश्यक झन्झट र हैरानी खेप्नु परेको बताउँने गरेका छन् । इलाका प्रशासनमा राष्ट्रिय परिचय पत्र समयमै बनाउन नसक्ने गुनासो छ ।

गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङका राजेश सुनारले यातायात व्यवस्था कार्यालयबाट आफ्नै सवारी साधनको रजिष्ट्रेशन पास गर्न २ दिन लागेको गुनासो गरे । फाईल फेला नपरेको भन्दै एकै दिनमा हुने काममा दुई दिन लगाईदिएको उनको गुनासो छ । ‘सवारी कार्यालयमा हाम्रा गाडीको फाईल व्यवस्थापन कस्तो छ भन्ने त्यसबाटै थाहा हुन्छ,’ उनले भने, ‘फाइल कर्मचारी आफैले लुकाउने, अनि भेटिएन भनेर हामीलाई दु:ख दिने ।’ अघिल्लो दिन नभेटिएको फाईल अर्को दिन फेरि त्यहीँ भेटिनुले नै कर्मचारीले हैरानी गराउने गरेको उनको दाबी छ । एकै दिनमा हुने काम दुई दिन लाग्दा एक व्यक्तिको ५ हजार बढी खर्च हुने उनले बताए ।

Rural areas of Rupandehi, which is becoming an 'economic hub', are facing severe shortages

बुटवल उपमहानगरपालिकाकी पूर्वउपप्रमुख गोमादेवी आचार्यले रूपन्देहीको पूर्वाधार विकासमा पर्याप्त प्रयास भए पनि नागरिक अझै सन्तुष्ट हुन नसकेको बताइन् । स्थिर सरकारको अभाव र नीतिगत झन्झले बर्षौंदेखिको भूमिहीनहरुको व्यवस्थापन, बुटवलको खानेपानीको समस्या, सरकारी कार्यालयहरुमा हुने ढिलासुस्ती, बेरोजगारीलगायतका समस्या रहेको उनको बुझाई छ । ‘रूपन्देहीमा पूर्वाधारको विकास पर्याप्त भएजस्तो लाग्छ,’ उनले भनिन्, ‘तर, सफ्टवयेरका कामको योजनाबद्ध ढंगको विकास हुनु जरुरी छ, अब नागरिकको चासो र माग पनि त्यही हो ।’ सेवा प्रवाहमा सुधार, सरकारी अड्डामा हुने झन्झटिलो प्रक्रिया, कर्मचारीको व्यवहार सुधारमा पनि अहिलेका उमेदवारहरुको ध्यान पुग्नु जरुरी रहेको उनले बताइन् ।

रूपन्देहीका बुटवल, भैरहवा, लुम्बिनी, सैनामैना, मुर्गिया, देवदह जस्ता ठूला बजार केन्द्रीत विकासका संरचना र पूर्वाधार बढिरहेको भए पनि भारतीय सीमा क्षेत्रमा रहेका दक्षिणी भेगका मर्चवारी, कोटहीमाई, सम्मरीमाई, मझगाँवा, मन्झरियालगायतका ग्रामीण क्षेत्रमा अझै पनि पूर्वाधारकै अभाव छ । ती क्षेत्रमा सडक र खानेपानीमै समस्या छ । स्वास्थ्यका लागि भारतीय बजार र भैरहवा पुग्नु पर्ने बाध्यता छ । कृषि उत्पादनको प्रमुख क्षेत्र भए पनि किसानलाई सिँचाई र मलखादको सधै समस्या छ ।

कोटहीमाई गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्रभुषण यादवले यस क्षेत्रका मर्चवार, कोटहीमाई, सम्मरीमाईका भित्रि गाउँमा अहिले पनि संघीय र प्रदेश सरकारको ध्यान नपुगेको बताए । ‘यहाँ खानेपानी, सडक, बिजुली सबै अभाव छ, पर्याप्त सुविधा नै छैन्,’ उनले भने, ‘यहाँका धेरै मान्छेको पेशा खेतीकिसानी भए पनि मलखादको ठूलो समस्या छ । सरकारले कहिल्यै दिँदैन । भारतबाट ल्याउँदा पुलिसले हैरानी गर्छ ।’ आफु स्थानीय सरकार प्रमुख भएको बेला केन्द्रमा धाएर धेरै योजना ल्याएको भए पनि अहिले त्यो पूरा नभएको उनले बताए । 

कोटहीमाई गाउँपालिका–५ मझगाँवाका व्यवसायी २८ वर्षीय राममंगल पालले गाउँमा बाटोसमेत राम्ररी बन्न नसकेको बताए । अधिकांश कच्ची सडक छन् । बर्षातमा पूरै सडक डुबान हुने र हिउँदमा धुलाम्य हुँदा समस्या हुने गरेको उनले बताए । ‘जतिसुकै विकासका कुरा गरे पनि रूपन्देहीको सबैभन्दा दुर्गममा हामी छौं,’ उनले भने, ‘नेताले सबै विकास भयो भन्छन्, तर दक्षिण क्षेत्रका कोटहीमाई, मर्चवारी, सम्मरीमाई सबैभन्दा पछाडि परेको क्षेत्र हो ।’ चुनावका बेला आउने नेताहरुले विकासका ठूल्ठूला कुरा गर्ने तर, जितेर गएपछि फर्केर नआउने उनको गुनासो छ । तिनाउ, रोहिणी र दानव खोला रहेको रूपन्देहीमा खोलाको कटान पनि अर्को समस्या हो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully