चितवन -३ का चुनावी मुद्दा के हुन् ?

चितवन–३ मा यसपटक पनि कांग्रेस, एमाले, नेकपा, रास्वपा मुख्य प्रतिस्पर्धी छन् । उनीहरूलाई जनताले के कस्ता प्रश्न गरिरहेका छन् ? अनि त्यसको उत्तर उनीहरूले कसरी दिइरहेका छन् ?

फाल्गुन ४, २०८२

रमेशकुमार पौडेल, गंगा बीसी

What are the election issues of Chitwan-3?

What you should know

माडी, चितवन — भरतपुर महानगरपालिका–२३ दराईगाउँ खड्गौलीका ७२ वर्षीय सोमलाल दराईको छोरा विक्रम रोजगारीको सिलसिलामा गत वर्ष इजिप्टमा बिते । त्यसयता सोमलालको मनमा एउटा कुरा बारम्बार खेलिरहन्छ–आफ्नै देशमा काम पाएको भए छोरा बित्दैनथ्यो कि, बुढेसकालको सहारा गुम्दैनथ्यो कि ।

कमाउने छोरा बितेपछि सोमलालको परिवार चरम आर्थिक संकटमा परेको छ । साँझ बिहान के खाने भन्ने अवस्थाबाट गुज्रिरहेका उनी प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले रोजगारी दिने वाचा गरेको सुन्दा झनक्क रिसाउँछन् । ‘ऋण गरेर काम खोज्न इजिप्ट गएको छोरो उतै बित्यो । रोजगार दिन्छौ । काम दिन्छौ भन्ने कुरा कसरी पत्याउनु अब ?’ भेडाबाख्रा चराइरहेको अवस्थामा उनले भने । 

खड्गौली गाउँमै बारीमा पाकेको तोरी थन्क्याइरहेकी बिष्णु दराईलाई पनि निर्वाचनले उत्साह थपेको छैन । आश्वासन लिएर आउने उम्मेदवारको कुरा पत्याइहाल्ने स्थितिमा उनी छैनन् । ‘हामी खेतीकिसानी गर्ने मान्छे हो । किसानको आर्थिक अवस्था राम्रो भयो कि भएन भन्ने प्रश्न हो,’ उनले भनिन्, ‘किसानको अवस्था सुधार हुन सकेका छैन ।’

दराई गाउँमा करिब तीन सय दराई समुदायका घरधुरी छन् । खड्गौलीको दराइ गाउँ चुनावका बेला मिठा आवश्वासनले रनभुल्ल हुन्छ । आशा बाढिन्छ । मत मागिन्छ । लामो समयदेखि आर्थिक, सामाजिक समस्यासँग जुध्दै आएको यो समुदायको सम्वर्द्धनका लागि ठोस कार्यक्रम अघि नबढेको भरतपुर–२३ की वडासदस्य बिन्दु दराईले बताइन् । ‘चुनावका बेला हाम्रो हितका लागि बढी कुरा हुन्छ । अरु बेला सेलाउँछ,’ उनले भनिन्, ‘वडा सदस्यको हैसियतले मैले दराई युवा, महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको छुँ । तर सोचेँजस्तो भएको छैन ।’

भरतपुर–२२ पटिहानी टाउनकी धनकुमारी कार्कीका छोराले वैदेशिक राजगारीमा जान दलाललाई आठ लाख बुझाए । तर, पैसा डुब्यो, रोजगारीमा जान पाएनन् । उनी अहिले कामकै खोजीमा उनी भारत पुगेका छन् । ‘ऋण तिर्न छोरो भारतमा गएको छ । यहीँ काम पाएको भए आठ लाख डुब्ने थिएन्’ उनले दुखेसो सुनाइन्, ‘काम नपाइने, सोझासिधा ठगिने यो कस्तो नेपाल ?’ 

हनुमानझुलाका ७१४ परिवार लालपुर्जाविहीन

माडीको पुर्वी दक्षिण कुनामा रहेको हाल हनुमानझुला भनिने बाँदरझुला वस्ती यस्तै एउटा ठाउँ हो जहाँ बसेका कसैको पनि लालपुर्जा छैन । स्थानीय मोहन स्याङ्तानका अनुसार यहाँ ७१४ परिवार बसोबास गर्छन् ।

What are the election issues of Chitwan-3?चितवन निकुञ्जको वनकट्टा पोस्ट आडको भरतपुर माडी ठोरी सडकमा मोज्याक टायल राखिँदै । निकुञ्जको जंगल हुँदै जाने यो बाटोको विषय हरेक चुनावमा चुनावी मुद्दा हुने गर्दछ । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

माडीबाट पूर्वी बगइदेखि १५ किलो मिटर जंगल हिँडेपछि पर्साको ठोरी चौतारा आउँछ । चौताराबाट तीन किलोमिटर पश्चिम जंगल काटेर गएपछि चितवनको यो विकट वस्ती टेकिन्छ । यहाँ २०४७ सालदेखि विभिन्न ठाउँबाट भूमिहीनहरू आएर बस्न सुरु गरेका हुन् । तर, चितवन राष्ट्रिय निकुञ्जले यसलाई अतिक्रमित वस्ती ठहर गरेपछि कसैसँग लालपुर्जा छैन । २०५८ सालमा संकटकाल लाग्दा निकुञ्जले पुरै वस्ती उठाएको थियो । त्यसपछि फेरि गएर बस्न थाले । चुनाव आउँदा नेताहरू बाँदरझुला पुगेकै हुन्छन् । लालपुर्जाका कुरा सबैले झिक्छन् । ‘अब त यो सुन्दा सुन्दा दिक्क लाग्न थालिसक्यो,’ स्याङ्तानले भने ।

यसपटक कांग्रेस, एमाले, नेकपालगायतका उम्मेदवार बाँदरझुला पुगि सकेका छन् । अव्यवस्थित वस्तीलाई व्यवस्थित गर्ने भन्नेबाहेक लालपुर्जाका बारेमा ठोस कुरा गरेको नसुनेको स्याङतानले बताए । गाउँमा राम्रो बाटो छैन । बिजुली पुगेकै छैन । खानेपानीको समस्या छ । यी समस्या कहिले हल हुने हुन् ? चुनावमा कुरा उठे पनि पूरा नहुँदा स्थानीय निरास बनेको स्याङ्तान बताउँछन् । घरधुरी घट्दै गएर अहिले यहाँ सवा पाँच सय परिवारको बसोबास छ । मतदाता आठ सयभन्दा बढी छन् ।

चितवन–३ मा करिब १५ हजार भूमिहीन, सुकुम्बासी छन् । भरतपुरमा १० हजार २९, माडी नगरपालिकामा पाँच हजार ४ सय ५६ दलित, भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबास गर्नेको संख्या छ । त्यसमध्ये भरतपुर महानगरमा १ सय २९ जना भूमिहिन दलित तथा सुकुमबासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको थियो ।

यस क्षेत्रमा नदी कटान र डुबानको समस्या पनि उस्तै छ । खोलैखोला र चितवन निकुञ्जको आडमा रहेको माडी नगरपालिका–१ मा पर्ने पाण्डवनगर गाउँमा जंगली जनावर र बाढीले स्थानीयलाई दिएको पीडा गहिरो छ । पाण्डवनगर र आसपासका गाउँ वनकट्टा, द्रोपतिनगर आदिवासी बोटे समुदायको बसोबास क्षेत्र हो । 

पाण्डवनगरमा कक्षा एकदेखि पाँचसम्म पढाइ हुने स्कुल २०४४ सालमा स्थापना भयो । नजिकै रिउ खोला थियो । बर्सेनी कटान गर्दै आएको रिउ खोलाले स्कुललाई असर गर्ने जोखिम थियो । त्यसैले २०५२ सालमा अलि सुरक्षित ठाउँमा जग्गा किनेर स्कुल सारेपछि विद्यार्थी घट्दै गएको प्रधानाध्यापक तुलबहादुर नेपाली बताए ।

स्थानीय बाबुराम नेपालीका अनुसार पहिला रतनपुर गाउँमा क्षेत्री/बाहुन बस्थे । ‘उता सोमेश्वरतर्फबाट आउने देउता खोला मरोड खोलाको बाढीको डर उत्तिकै थियो । निकुञ्जको सीमानामा बग्ने रिउ खोला झनै उर्लेर कटान गर्दै बस्तीतिरै आयो । बाघ, भालु गैंडाले सताएकै थिए, जंगली हात्तीको पनि दुःख थपियो,’ बाबुरामले भने ।

२०६९ सालको हिउँदमा ‘ध्रुवे’ हात्तीले धेरै नै सताएको थियो । ध्रुवेले २०६९ सालको मंसिरमा द्रोपतिनगरमा वृद्ध दम्पतीको ज्यान लियो । ध्रुवेले त्यसबेला डेढ महिनाको अवधिमा पाण्डवनगर वरपरकै गाउँका चारजनाको ज्यान लिएको थियो । बाढी र अन्य वन्यजन्तुको त्रासमा बस्दै आएका स्थानीयलाई हात्तीको डर सहन कठिन छ । ‘फेरि यहाँ नबसेर कहाँ जाने ? अन्यत्र घर घडेरी र जग्गा हुने गइसके । हेर्दाहेर्दै रतनपुर रित्तियो,’ बाबुरामले सुनाए ।

यस्तै, समस्याले घेरिएको माडी पनि चुनावका बेला सधैं चर्चामा रहन्छ । यसपटक पनि उम्मेदवारहरूले माडीलाई प्रथामिकतामा राखेर चुनावी अभियान सुरु गरेका छन् । एमाले, नेकपा, रास्वपालगायतका उम्मेदवार माडी पुगिसकेका छन् । खेतीका लागि राम्रो माटो भएको रतनपुरको जमिन आज बाँझै छ । रिउ र अन्य खोलामा बलियो बाँध लगाए बाढी र वन्यजन्तुबाट यो क्षेत्रका धेरै गाउँ जोगिने बाबुरामको भनाइ छ । तटबन्धसहितको रिउ करिडोर निर्माण योजना माडी नगरपालिकाको कार्यक्रममा पनि पर्दै आएको छ ।

What are the election issues of Chitwan-3?
बरूवा बजार माडी । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर 

सदरमुकामदेखि ८० किलोमिटर पर भएपनि चुनावमा उम्मेदवार बाँदरझुला पुगिहाल्छन् । अहिले पनि एमालेका शंकर थपलिया र नेकपाका रेनु दाहाल बाँदरझुला पुगिसके । अरु उम्मेदवार पनि बगई पार गर्ने योजनामै छन् । उम्मेदवारहरूले माडीमै मतका लागि घरदैलो सुरु गरिरहेका बेला माघ १२ गते गैंडाले हानेर माडी–१ का अशोक भट्टराईको निधन भएको छ ।

यसैगरी, माघ ११ गतेदेखि परिवारको सम्पर्कमा नआएका माडी–१ का भानु बोटेको निकुञ्जभित्र जंगलमा खोजी गर्दा रगत, कट्टु र टोपी भेटियो । गाउँदेखि तीन/चार किलोमिटर पर भेटिएका यी सामाग्रीले भानुलाई बाघले आक्रमण गरेको हुनसक्ने आशंका छ । तर, उनको अन्य अवस्था पत्ता लगाउन सकिएको छैन ।

चितवन निकुञ्ज आसपास जंगली जनावरको आक्रमणबाट मात्रै बर्सेनी पाँचदेखि २५ जनासम्मको निधन हुने गरेको तथ्यांक छ । माडी क्षेत्र यो समस्याबाट सबैभन्दा बढी आक्रान्त छ ।
चितवन निकुञ्जले चितवनसहित चार जिल्ला छोएको छ । तीन निर्वाचन क्षेत्र भएको चितवनको पनि क्षेत्र नम्बर १ र ३ ले निकुञ्ज छोएको छ । उम्मेदवारहरूले चुनावका वेला वन्यजन्तुको अक्रमण, नदी कटानलगायत समस्यालाई ध्यानमा राखेको बताउँछन् । निर्वाचन सकिएपछि सबै बिर्सन्छन् ।

के भन्छन् उम्मेदवार ?

चितवन–३ मा यसपटक पनि कांग्रेस, एमाले, नेकपा, रास्वपा मुख्य प्रतिस्पर्धी हुन् । भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएर रेनु दाहाल चितवन–३ मा नेकपाबाट उम्मेदवार भएकी छन् । उनले आफू मेयर हुँदा सुरु गरेका योजनाले निर्वाचन क्षेत्रका बासिन्दालाई ठूलो राहत मिलेको  बताइन् । 

‘म मेयर भएपछि विकासको खाका कोरेको थिएँ र पूर्वाधार विकासका कामहरू अगाडि बढाएको थिएँ । अहिले ती धेरैजसो काम कार्यान्वयनको चरणमा छन् । भरतपुरमा सबैभन्दा ठूलो चुनौती सडक कनेक्टिभिटी थियो । हिजो चुनावी अभियानमा धुँलोमा डुबेर हिड्नुपर्थ्यो,’ उनले भनिन् ‘मेरो निर्वाचन क्षेत्र भरतपुर पुग्न गाह्रो थियो । यो अवस्थालाई सुधार्न झन्डै १७५ किलोमिटर सडक कालोपत्रे गरेका छौं ।’ उनले सडकका साथै कृषि सुधारका लागि दुध उत्पादन गर्ने किसानलाई अनुदान, आधुनिक मेसिन, घरघरमा धारा, नदी कटान रोक्न तटबन्ध, अन्तराष्ट्रिय क्रिकेट मैदानलगायत मास्टर प्लान सुरु गरेका उल्लेख गरिन् ।

पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा महानगरमध्ये भरतपुर सबैभन्दा कम बेरुजु भएकाले सुशासनको जग बसालेको रेनुको भनाइ छ । ‘भरतपुरमा सुशासनका लागि के भयो महालेखा प्रतिवेदनले भनिसकेको छ,’ उनले भनिन् ।

२०७९ को निर्वाचनमा काठमाडौं–२ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोबिता गौतम यसपटक चितवन–३ मा उम्मेदवार भएकी छन् । उनले भूमि, निकुञ्जबाट उत्पन्न समस्या र किसानका समस्या समाधानलाई प्राथमिकतामा राखेको बताउँछिन् । ‘एकदम गम्भीर मुद्दाहरूमध्ये भूमिसम्बन्धी समस्या पनि छ । अर्को वन र राष्ट्रिय निकुन्जसँग जोडिएको कारणले गर्दाखेरि विकास निर्माणमा बाधा परेको कुरा छ । वन्यजन्तु र मानवबीचको त्यो द्वन्द्वको विषयहरू छ,’ उनले भनिन् ।

What are the election issues of Chitwan-3?
बघौडा माडी । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

२०७४ र २०७९ को चुनावमा चितवन–३ मा यी दुवै पार्टीका उम्मेदवार थिएनन् । २०७४ मा बाम तालमेल भएका कारण एमालेले तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेको थियो । त्यो बेला कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डेलाई समर्थन गरेको थियो । २०७९ मा कांग्रेस र तत्कालिन माओवादी केन्द्रबीच चुनावी गठबन्धन भयो । कांग्रेसले उम्मेदवार उठाएन, माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीलाई समर्थन गरेको थियो । एमालेले तत्कालिन जिल्ला अध्यक्ष रामप्र्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको थियो । पछि फिर्ता लिएर स्वतन्त्र उठेका कांग्रेसका तत्कालिन केन्द्रीय सदस्य दिनेश कोइरलालाई समर्थन गर्‍यो । तर, चुनावमा एक्लै लडेका राप्रपाका बिक्रम पाण्डे विजयी भए । यसपटक पनि पाण्डेको चर्चा थियो तर मनोनयन दर्ताका दिन पछि हटे । 

राप्रपाले भरतपुर महानगर समितिका अध्यक्ष दिपक थापा मगरलाई उम्मेदवार बनाएको छ । ‘म राजनीतिमा लागेको लामो समय भयो । राजनीति मात्रै होइन रेडक्रस, मध्यवर्ती समिति, विद्यालय जस्ता सामाजिक क्षेत्रमा पनि सक्रिय छु,’ थापा मगरले भने । राप्रपाको केन्द्रीय नीति संवैधानिक राजसंस्था र हिन्दू राज्य भएको र यसको पक्षमा जनमत भएको उनको दाबी छ । 

कांग्रेसले चितवन–३ मा टेकप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ । उनी जिल्लाका पुराना राजनीतिक व्यक्ति हुन् । ७७ वर्षीय गुरुङ २०२६ सालमै वडाध्यक्ष भएका थिए । ‘पुरानो अनुभव छ । नयाँ पुस्ताको चाहना बुझेको छु । म राजनीतिमै सक्रिय रहेका कारणले युवा, प्रौढ सबैको मत पाउने आशा छ,’ गुरुङले भने ।

एमालेका उम्मेदवार शंकरराज थपलिया समर्थक र शुभचिन्तकहरू उत्साहित रहेको बताउँछन् । ५६ वर्षीय थपलिया भरतपुर पहिटानी क्षेत्रका बासिन्दा हुन् । उनी २०४३ सालदेखि राजनीतिमा संलग्न छन् । उनी जिल्लाको समस्या बारे जानकार रहेको र समस्याको हल निकाल्ने विधि थाहा भएको बताउँछन् ।

२०७९ को निर्वाचनमा रास्वपाले २८ हजार ४०१, राप्रपाले १६ हजार ७५५, माओवादीले १६ हजार ९०,  एमालेले १४ हजार ५२२ र कांग्रेसले १० हजार ५२४ समानुपातिक मत पाएका थिए ।

काम गर्नेलाई भोट :  रेनु दाहाल, नेकपाकी उम्मेदवार

What are the election issues of Chitwan-3?नेकपा उम्मेदवार रेनु दाहालले ‘काम गर्नेलाई यसपटक भोट’ नारा बनाएर चुनावी अभियान थालेकी छन् । ‘मुख्य एजेन्डा मेयर हुँदा गरेका कामको निरन्तरता, सम्पन्नता र चितवन जिल्लालाई देशको केन्द्रीय तथा नमूना सहर बनाउने संकल्प हो । भरतपुरलाई देशकै नमूना सहर र स्मार्ट सिटी बनाउने कन्सेप्टलाई आधार बनाउँछु,’ उनले भनिन्,‘नौ वर्षमा भरतपुरमा बलियो फाउन्डेसन खडा गरेको छु, अब त्यसलाई निरन्तरता दिएर सम्पन्न गर्ने योजना छ । चितवनलाई आर्थिक विकासको केन्द्र, व्यापारिक हब, शिक्षा, खेलकुद, कृषि, पर्यटन र स्वास्थ्यको सुविधासम्पन्न सेन्ट्रल सिटी बनाउने लक्ष्य छ ।’ यो निर्वाचनमा पुराना र नयाँ दलका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेका बेला कामको आधारमा मूल्याङ्कन गर्ने बेला भएको बताइन् ।

उनले चितवनका जनताले आफूलाई जिताएर न्याय गर्ने बताइन् । उनले भनिन्, ‘चितवन–३ का जनताले न्याय दिनुपर्छ । राजनीति भनेको एउटा सेवा हो । रेनु दाहालप्रति निराश हुनुपर्ने कारण केही पनि छैन ।’
उनलाई नेकपा संयोजक दाहालपुत्रीका कारण भरतपुर महानगरमा विकास भएको आरोप गलत भएको बताइन् । ‘म ३० वर्षदेखि राजनीतिमा छु । बुबाका कारण काम भयो भन्ने कुरा खारेज गर्छु,’ उनले भनिन् ।

मतदाता यसपटक मत परिवर्तन गर्ने पक्षमा देख्छु : सोबिता गौतम, रास्वपा उम्मेदवार

What are the election issues of Chitwan-3?रास्वपाकी उम्मेदवार सोबिता गौतमले विगतका सांसदबाट अपेक्षाअनुसार काम नभएकाले मतदाताहरू मत परिवर्तन गर्ने पक्ष रहेको अनुभव गरेको बताउँछिन् ।

‘यसपालि सबै बदलौं । मत फेरौं भन्ने नयाँ उभार आउँदैछ,’ उनले भनिन्, ‘हाम्रो मुद्दाहरूलाई मतदाताले सिरियस्ली लिनुहुन्छ भन्ने अपेक्षा रहेका छौं ।’ चितवनमा एकदम धेरै जेलिएका समस्याहरू समाधानका लागि मतदाता पर्खिरहेको उनको भनाइ छ ।

‘नेपाली जनता कोही पनि एउटा झन्डाको दास चाहीँ हुनुहुँदैन । अब कुन दललाई समर्थन गर्ने नगर्ने भन्ने त्यो विचारले निर्देशित गर्ने हो,’ उनले भनिन्, ‘यो मेरो पकेट क्षेत्र हो भन्ने भनाइलाई मतदाता आफैंले चिरिराख्नुभाको छ ।’

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

गंगा

Link copied successfully