बाहुनडाँगीको हात्ती आतंक नियन्त्रण सधैं चुनावी एजेन्डा

मेचीनगर–४ बाहुनडाँगीका ७४ वर्षीय कमल राई भन्छन्– 'हात्तीले पुल्ठो, पटका, माहुरी, खुर्सानी र बिजुलीको झट्का सबै पचाइसक्यो । कसैगरी उनीहरूलाई रोक्न सक्ने अवस्था छैन ।'

फाल्गुन ४, २०८२

पर्वत पोर्तेल

Controlling the elephant terror of Bahundangi is always an election agenda

झापा — साँझ परेपछि सीमावर्ती देहात बाहुनडाँगीमा सधैं हात्तीको हुल मेची तरेर आउन थाल्छ । स्थानीयले हात्तीको हुलसँग पौँठेजोरी खेल्न थालेको वर्षौ भइसक्यो । मान्छे र हात्तीबीचको ‘लडाइँ’ वर्षौदेखि जारी छ । यो लडाइँ न मान्छेले जितेको छ नत हात्तीले । 

कुनै वेला स्थानीय हात्ती आतंकबाट यति धेरै आजित थिए कि हात्ती मार्न पनि तम्सिन्थे । बाहुनडाँगी गाविसका तत्कालिन अध्यक्ष निलकण्ठ तिवारीले त ‘हात्ती मार्न जनतालाई बन्दुक दिइनुपर्छ’ भन्ने विवादास्पद अभिव्यक्ति दिएर उतिवेला चर्चामा पनि आए । 

तर, अहिले त्यो आक्रोश कम भए पनि उनीहरूको पीडा चाहीँ दोब्बरले बढेको छ । यतिवेला स्थानीयहरू मानव–हात्ती सहअस्तित्वको खोजीमा छन् । 

मेचीनगर–४ बाहुनडाँगीका ७४ वर्षीय कमल राईले हात्तीसँग पौँठेजोरी खेल्न थालेको ५० वर्षभन्दा धेरै भयो । बाल्यकालको सम्झना सुनाउँछन्, ‘सानै छँदादेखि यहाँ हात्ती आउथ्यो । पुल्ठो बालेर हात्तीलाई लखेटिन्थ्यो ।’ राईले अहिले पनि हात्तीको पीडा दैनिक व्यहोरिरहेका छन् । पहिला पुल्ठो बाल्दा हच्किने हात्ती अहिले विद्युतीय तारवारबाट पनि डराउँनन् । ‘हात्तीले पुल्ठो, पठका, माहुरी, खुर्सानी र बिजुलीको झट्का सबै पचाइसक्यो,’ राई सुनाउँछन्, ‘कसैगरी उनीहरूलाई रोक्न सक्ने अवस्था भएन ।’ Controlling the elephant terror of Bahundangi is always an election agendaकमल राई

स्थानीयदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हरेकपटक यो क्षेत्रको पीडा चुनावी एजेन्डा बन्छ । नेताहरू बाहुनडाँगीको पीडामा टेकेर नगरमा, प्रदेशमा र संघमा सांसदको रूपमा सयर गर्छन् । तर, यहाँको पीडा सधैं उस्तै हुन्छ । २०४६ सालदेखि हात्ती आतंक व्यहोर्दै आएका स्थानीय डिल्लीराम बराल भन्छन्, ‘हाम्रा भोटले जितेका नेताहरू सांसद, मन्त्री बन्छन्, हामी सधैं पीडित ।’

Controlling the elephant terror of Bahundangi is always an election agendaडिल्ली बराल 

हात्तीका विशेषज्ञ तथा वन विभागका अधिकारीहरूका अनुसार खासमा यो क्षेत्र विगतमा हात्ती ‘कोरिडोर’ थियो । जब मानववस्ती बस्यो, तब कोरिडोर मासिँदै गयो । ‘यहाँ वर्षौदेखि हात्ती हिड्दै आएको छ,’ हात्ती विशेषज्ञ डा. नरेन्द्र प्रधान भन्छन्, ‘वर्षौदेखि हिड्दै आएको बाटोमा हात्ती हिड्दा अहिले मान्छेसँग द्वन्द्व भएको हो ।’ उनका अनुसार विगतमा यहाँ घरहरू धेरै थिएनन् । त्यसकारण हात्तीको पीडा त्यति साह्रो थिएन । तर, अहिले वस्ती बढेपछि हात्ती आतंक पनि बढेको हो । 

‘पहिला त यति साह्रो हात्ती आतंक थिएन,’ २०२८ सालदेखि बाहुनडाँगीमा बस्दै आएकी ७२ वर्षीया कमला दाहाल भन्छिन्, ‘२०५० सालपछि अलि धेरै आतंक बढ्न थालेको हो ।’ उनका अनुसार विगतमा पनि फाट्टफुट्ट हात्ती आउथ्यो । क्षति ज्यादै न्यून थियो । दाहाल भन्छिन्, ‘हात्ती आफ्नै बाटो आएर फर्किन्थ्यो क्षति खासै गर्दैनथ्यो ।’ 

विज्ञहरूका अनुसार हात्तीलाई जब बिच्क्याउन थालियो तब क्षति बढ्न थालेको हो । विज्ञ प्रधान भन्छन्, ‘हात्तीलाई बिच्क्याउनु, जिस्क्याउनु घातक हुन्छ ।’ 

वर्षौंदेखि जंगली हात्तीको त्रास सहँदै आएका स्थानीयहरू भोट माग्न आउने नेताहरूलाई एउटै प्रश्न तेर्स्याउँछन्, ‘हात्तीको पीडा हामीले अझै कतिन्जेल सहनु पर्ने हो ?’ 

बाहुनडाँगी बजारभन्दा अलि तल्तिरै महिलाहरू तोरी काट्दै थिए । त्यसमध्येकी जानुका खतिवडाले भनिन्, ‘यसपटकबाट तोरी पनि हात्तीले खान थालेछ । अब केही बाँकी नराख्ने पर्यो ।’ वडा नम्बर ४ ले अघिल्लो वर्ष हात्तीबाट क्षति नहुने बालीको रूपमा ‘तोरी मौरी–घरलौरी’ भन्ने कार्यक्रम ल्याउँदै किसानलाई तोरी अनुदान उपलव्ध गराएको थियो । 

तर, केही दिनअघि वडा नम्बर ४ कै आलडाँगी क्षेत्रका किसानको तोरीमा हात्तीले क्षति पुर्याएपछि उनीहरू थप चिन्तित बनेका हुन् । ‘धान, मकै, कोदो, फापर केही बाँकी नराख्ने पर्यो हात्तीले,’ स्थानीय उषा दाहाल भन्छिन्, ‘हाम्रो पीडा नेताले बुझ्दैनन् ।’

स्थानीय विमला दाहालको भने हात्ती नियन्त्रणका लागि भिन्न माग छ । नेपाल र भारतको सरकार मिलेर हात्तीलाई नाकामा रोक्नुपर्छ । ‘त्यसो हुँदा बल्ल हामीलाई राहत हुन्छ,’ उनी थप्छिन्, ‘नत्र यो पीडामा कहिल्यै मलम लाग्ने छैन ।’ 

हात्तीलगायतका जंगली जनावरहरू कुनै पनि देशका हुँदैनन् । यी जहाँ जहाँ पुग्छन्, त्यहीँका हुन्छन् । तर, बाहुनडाँगीका किसानलाई लाग्छ नेपालका बाली खुवाउन भारतले जानीबुझी हात्ती छाडिदिन्छ । जसका कारण पीडा भोग्नु परेको हो । ‘नेपालमा अन्नबाली पाक्न थाल्यो है भनेपछि इन्डियाले चर्न पठाउँछ,’ दाहाल आरोप लगाउँछिन्, ‘नत्र धान, मकै पाकेकै वेला किन हात्ती आएका हुन् त ?’

अघिल्ला स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पनि हात्ती नियन्त्रणको बाचा नभएको हैन । बितेका दुई दशकको कुरा गर्दा २०६४ मा माओवादीका धर्म घिमिरेले हात्ती नियन्त्रणको वाचा गरे, जितेर सांसद बने तर हात्ती आउन छाडेनन् । घिमिरेपछि एमालेका रविन कोइराला प्रतिनिधिसभा सदस्य निर्वाचित भए । उनले पनि घिमिरेले झै वाचा गरे । नियन्त्रणको प्रयत्न पनि गरिहेरे । तर, सकेनन् । कोइरालापछि माओवादी नेता राम कार्की संसद भवन उक्लिए । उनको वाचा पनि खेर गयो । अघिल्लोपटक कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अघिल्लो नेताले झै प्रतिबद्धता जनाए । विद्युतीय तारवार निर्माण र मर्मतलगायतका काम पनि गरे । तर, हात्ती आउने क्रम रोकिएन । 

‘नेताहरूले पनि नसक्ने रहेछन् यहाँको समस्या सुल्झाउन,’ स्थानीय दलबहादुर कार्की भन्छन्, ‘नेताहरूको काम हाम्रा भोटले चुनाव जित्ने, संसदमा उक्लिने मात्रै भयो, हाम्रो पीडा उस्तै ।’ 

मेचीनगरका वडा नम्बर १, २, ३ र ४ हात्ती प्रभावित क्षेत्र हुन् । साथै बुद्धशान्तिको माथिल्लो भेग, अर्जुनधाराको चुरे क्षेत्र हुँदै दमकको उपल्लो क्षेत्रसम्म नै हात्तीको पीडा छ । यो पीडा क्षेत्र नम्बर १ को मात्रै हैन ५ वटै निर्वाचन क्षेत्रको साझा समस्या हो । तर, यो समस्या समाधानका लागि कुनै पनि नेताले कुनै प्रयत्न नगरेको आरोप सम्बन्धित निर्वाचन क्षेत्रका हात्तीपीडित मतदाताहरूको छ । 

‘केपी ओली तीनपटक प्रधानमन्त्री भए’, स्थानीय रणबहादुर कार्की भन्छन्, ‘जाबो झापाको हात्ती आतंक नियन्त्रणका लागि कुनै ठोस र दीर्घकालीन योजना ल्याउन सकेनन् ।’ 

हात्ती आक्रमणबाट दुई दशकमा सयभन्दा बढीले गुमाए ज्यान 

झापामा हात्तीको आक्रमणबाट दुई दशकयता सयभन्दा बढीले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । यस अवधिमा ३० भन्दा बढी हात्ती पनि मारिएका छन् । करोडौंको भौतिक क्षति भएको छ । अन्नबालीको क्षति पनि उस्तै छ । 

स्थानीय कृष्णमाया खत्री भन्छिन्, ‘धुलाम्ये सडक कालोपत्रे भयो, खानेपानी आयो । तर, हात्तीको समस्या समाधान गर्न नेताहरूलाई के ले रोक्यो ?’ खत्रीले करिब चार बिघा जमिन अधियामा खेती गर्दै आएकी थिइन् । तर, हात्तीका कारण खेती नै छाड्न बाध्य भइन् । ‘दुई वर्षअघि त एक दाना अन्न पनि उठाउन पाइएन,’ उनी भन्छिन्, ‘सधैं यस्तो पीडा सहेर कतिन्जेल बाँच्नु ?’

हात्तीका कारण धेरै किसानले धान खेती छाडेर चिया खेती सुरू गरेका छन् । तर, चियाको उचित मूल्य नपाउँदा उनीहरूमा चिन्ता थपिएको छ । चिया किसान मीनबहादुर कार्की भन्छन्, ‘लागत बढ्दै गएको छ, तर बिक्री गर्दा भाउ छैन ।’ 

करोडौंको विद्युतीय तारबार छ तर प्रभावहीनControlling the elephant terror of Bahundangi is always an election agendaहात्ती नियन्त्रणका लागि बनाइएकाे विद्युतीय तारवार । 

हात्ती आतंक रोक्न विश्व बैंकको सहयोगमा करिब दुई करोड रूपैयाँ खर्चेर विद्युतीय तारबार निर्माण गरिएको थियो । तर, अहिले त्यो संरचना प्रभावहीन बन्दै गएको स्थानीयको गुनासो छ ।

तारवार छिचोल्दै दैनिक हात्ती आएर किसानका अन्नबालीमा क्षति र घरमा बिझ्याँइ गर्ने क्रम रोकिएको छैन । स्थानीय विमल खड्का भन्छन्, ‘तारबारले रोकेको भए हात्ती कहाँबाट छिरिरहेको छ ?’ उनका अनुसार सोलार ब्याट्री बिग्रिएका छन्, तार काटिएका वा चोरी भएका छन् र संरचना लथालिंग अवस्थामा छ । वेला–वेला मर्मत पनि भइरहेको देखिन्छ । तर, हात्ती आउने क्रमलाई विद्युतीय तारवारले रोकेको छैन । 

स्थानीयले बाहुनडाँगीलाई ‘हात्ती प्रकोप क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन् । हालसम्म औपचारिक घोषणा नभएको भन्दै स्थानीय आक्रोसित छन् । जनप्रतिनिधिहरूले यस विषयमा चासो नदेखाएको आरोप उनीहरूको छ । 

लामो समयदेखि हात्ती आतंक नियन्त्रणमा सक्रिय वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्की भन्छन्, ‘हात्ती आतंक छ । जनतालाई बिमा, क्षतिपूर्तिलगायतका राहत कार्यक्रममा वडाले पहल गरिरहेको छ ।’ कार्कीका अनुसार बर्दियाको उज्यालो नेपाल नामक संस्थासँगको सहकार्यमा पीडित किसानको बिमा गर्न पहल भइरहेको छ । 

बाहुनडाँगीको हात्ती समस्या र रैथाने हात्तीहरूबारे जानकार स्थानीय शंकर लुइटेलका अनुसार हात्ती समस्याको दीर्घकालीन समाधानको खाँचो औल्याउँछन् । ‘यो क्षेत्रमा मान्छे र हात्ती दुवै प्राणीको अस्तित्वको रक्षा हुने किसिमको दीर्घकालीन योजना जरूरी छ,’ लुइटेल भन्छन्, ‘अनि मात्रै यहाँका सर्वसाधारणले हात्ती आतंकबाट मुक्ति पाउनेछन् । हात्तीले पनि स्वतन्त्र रूपमा आउजाउ गर्न पाउने छ ।’ 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully