मौलिक शैली र राजनीतिमा यथार्थ टिप्पणी गर्ने बानी भएका ८४ वर्षका केसी यो पटक घरायसी कारण देखाएर प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष उम्मेदवार भएनन् ।
What you should know
बागलुङ — संसद होस् या सडकमा संघीयताको बिरोधमा देखिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यो पटकको निर्वाचनमा समानुपातिक उम्मेदवार छन् ।
मौलिक शैली र राजनीतिमा यथार्थ टिप्पणी गर्ने बानी भएका ८४ वर्षका केसी यो पटक घरायसी कारण देखाएर प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष उम्मेदवार भएनन् ।
२०५१ देखि राष्ट्रिय राजनीतिमा उदाएका केसीको २०५६ देखि निरन्तर संसदीय राजनीतिमा सक्रियता थियो । २०६४ र २०७० को संविधानसभा र २०७९ को संसदीय निर्वाचनमा केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित थिए । अझै पनि केसीले चाहेमा राष्ट्रिय जनमोर्चा अर्को उम्मेदवार अगाडि सर्ने स्थितिमा थिएन । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा केसी उम्मेदवार नभएपछि उनको क्षेत्रमा राष्ट्रिय जनामोर्चाका केन्द्रीय सचिव कृष्ण अधिकारी उठेका छन् । ‘धेरै वर्षसम्म केसीले संसदीय फाँटमा रहेर काम गर्नुभयो, अब नयाँ साथी आउनुभएको छ,’ राष्ट्रिय जनामोर्चाका जिल्ला अध्यक्ष तेजबहादुर थापाले भने, ‘केसीलाई समानुपातिकमा राखेर प्रत्यक्षमा नयाँ साथीहरुलाई अवसर दिने निर्णयमा पुग्यौं ।’
केसीको जस्तै गर्बिलो उपस्थिति भने अन्य उम्मेदवारको नहुने कतिपयले टिप्पणी गर्छन् । २०६४ को संविधानसभा निर्वाचनमा केसीले कांग्रेस उम्मेदवार मणिभद्र शर्मा कँडेललाई पराजित गरेका थिए । झिनो मतले हारेका कँडेल केसीबिरुद्ध अदालत पनि गएका थिए । तर राष्ट्रिय राजनीतिमा केसीको उपस्थितिलाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नै स्विकारेर मुद्दा फिर्ता गराएका थिए ।
अध्यक्ष केसीले उमेरले नभइ यसपाली घरायसी कारणले प्रत्यक्ष तर्फ उम्मेदवार नबनेको बताए । ‘उमेरका कारण अयोग्य हुने कुरै छैन, मेरो पत्नी बिरामी भएकोले निस्कने समय मिलेन,’ केसीले भने, ‘काम गर्न नसक्नेहरु बैशमा पनि अयोग्य हुन्छन् ।’
अनावश्यक टिकाटिप्पणी गर्नेले मात्र चित्रबहादुर बुढो भयो, उमेरका कारण उठेन भनेको उनले सुनाए । ‘बिपक्षीहरुसँग राजमोलाई कमजोर पार्ने एजेण्डा छैन, त्यसैले उमेरको कुरा गरेका हुन्,’ उनले भने, ‘सुशासनको सबालमा राजमोलाई कसैले प्रश्न उठाउन सक्दैन ।’
अध्यक्ष केसी राजनीतिमा आउनुअघि यहाँको गलकोट माविका प्रअ थिए । उनीसँगै नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल विज्ञानका शिक्षक थिए । यसपाली नेकपा यो क्षेत्रमा खनाललाई उम्मेदवार बनाउन लागेको चर्चा भए पनि पछि भएनन् । पञ्चायतबिरुद्ध आन्दोलन छेडेका र भूमिगत रुपमा बसेको स्थानमा अहिले ती दुवै उम्मेदवार छैनन् ।
राष्ट्रिय जनमोर्चाको राजनीतिमा बागलुङ, प्यूठानलगायतका जिल्ला सबैभन्दा बढी चर्चामा आउने गर्छन् । २०४६ पछि २०७९ सम्म आइपुग्दा जिल्लाको राजनीतिमा राष्ट्रिय जनामोर्चाबिरुद्ध अन्य दल हुन्थे । राष्ट्रिय जनमोर्चाको मत उल्लेख्य रहेकोले अन्य दलको प्रतिस्पर्धामा कडा टक्कर पर्थ्यो । बागलुङ क्षेत्र नम्बर १ मा कांग्रेसबाहेकका अन्य दलले राष्ट्रिय जनामोर्चासँग प्रतिस्पर्धी भएर चुनाव कहिले पनि लडेनन् ।
गत निर्वाचनमा राष्ट्रिय जनमोर्चाले कांग्रेससँगको गठबन्धनमा भाग लियो । त्यतिबेला मात्रै एमाले प्रतिस्पर्धी भयो । केसीले २१ हजार ४ सय मत पाउँदा एमालेका सूर्य पाठकले १८ हजार ९ सय मत पाएका थिए । जहाँ रास्वपाले ९ हजार मत पायो । उक्त मतको अधिकांश हिस्सा कांग्रेसको भएको टिप्पणी हुन्छ । कांग्रेसले एकल लड्न खोजेकोमा केन्द्रको गठबन्धनका कारण राष्ट्रिय जनामोर्चालाई दिनुपर्दा मत बाँडिएको कार्यकर्ताहरुको दाबी गर्छन् ।
आसन्न निर्वाचनमा यहाँ नेकपा नेता तथा पूर्वशिक्षा मन्त्री दिननाथ शर्मा पनि समानुपातिकमा बसेका छन् । राजनीतिमा शीर्ष तहमा पुगे पनि उनले प्रत्यक्ष निर्वाचन जितेका छैनन् । २०७० को दोस्रो संविधानसभामा टिकट लिएर आएका शर्मा बागलुङ नआई फर्केका थिए । शर्मा तत्कालीन माओवादीको प्रवक्ता र सचिव भइसकेका छन् ।
अर्का पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले यसपाली तेस्रो पटक चुनाव लडे पनि बागलुङ छाडेका छन् । उनी नवलपरासीबाट उम्मेदवार छन् । २०७४ मा बाम गठबन्धन र २०७९ मा ५ दलीय गठबन्धनबाट मात्र पौडेलले बागलुङ क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए । पौडेल पनि माओवादीका सचिव भइसकेका नेता हुन् ।
अहिले नेकपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन मार्फत क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र क्षेत्र नम्बर २ मा नेकपाका ज्ञामनाथ गैरे उम्मेदवार छन् । अन्य सबै दलका छुट्टाछुट्टै उम्मेदवार छन् । कांग्रेसले क्षेत्र नम्बर १ मा भीम श्रीष र क्षेत्र नम्बर २ मा टेकराज पौडेललाई उम्मेदवार बनाएको छ । श्रीष त्रिभुवन विश्वविद्यालयका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य हुन् भने पौडेल पनि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका हुन् ।
एमालेले क्षेत्र नम्बर १ मा हिराबहादुर केसी र क्षेत्र २ मा मञ्जु चालिसेलाई उम्मेदवार बनाएको छ । गत मंसिरअघि केसी जिल्ला अध्यक्ष थिए भने चालिसे केन्द्रीय सदस्य हुन् ।
रास्वपाले क्षेत्र नम्बर १ का सुशील खड्का र २ मा सोम शर्मा उमेदवार बनाएको छ । दुवै जना सामाजिक सञ्जाल मार्फत अभियन्ताको रुपमा चिनिन्छन् ।
राप्रपाले क्षेत्र नम्बर १ मा कल्याणबित्रम आचार्य र क्षेत्रं २ मा अञ्चल शाहीलाई उम्मेदवार बनाएको छ ।
