टिकटकका दक्षिण एसिया प्रमुख मोत्ताकिनले निर्वाचनका वेला सुरक्षित डिजिटल अभिव्यक्तिको वातावरण तयार गर्ने प्रतिबद्धता जनाए ।
What you should know
काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनका वेला मिथ्या र भ्रामक सूचना फैलिन नदिन र त्यस्ता सामाग्रीबारे मतदातालाई सुसूचित गराउने उदेश्यले निर्वाचन आयोग र भिडियो सेयरिङ प्लाटफर्म टिकटकबीच समझदारी भएको छ । समझदारीअनुसार अब टिकटक एप खोल्नेबित्तिकै निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोहरू स्वतः देखिनेछन् ।
बुधबार आयोगमा आयोजित कार्यक्रममा टिकटकका तर्फबाट दक्षिण एसिया प्रमुख फिर्दोस मोत्ताकिन र आयोगका प्रवत्ता नारायणप्रसाद भट्टराईले समझदारी-पत्र आदनप्रदान गरे ।
कसैलाई हानि पुर्याउने नियतले फैलाइने झुटो विवरण नै मिथ्या सूचना भएको र कुनै पनि समाचार वा सामाग्री सेयर गर्नुअघि प्रयोगकर्तालाई एकपटक सोच्न र हतार नगर्न आयोगका टिकटक भिडियोमा आग्रह गरिएका छन् । यी भिडियोहरू टिकटक खोल्नासाथ प्रयोगकर्ताले देख्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।
आयोगका प्रवक्ता भट्टराईले यसबाट भ्रामक सूचनाविरुद्ध सचेतना फैलाउन मद्दत पुग्ने बताए । टिकटकका दक्षिण एसिया प्रमुख मोत्ताकिनले निर्वाचनका वेला सुरक्षित डिजिटल अभिव्यक्तिको वातावरण तयार गर्ने प्रतिबद्धता जनाए । मोत्ताकिनका अनुसार टिकटकमा निर्वाचनसम्बन्धी सामाग्री विश्वसनीय र पारदर्शी बनाउन आयोगसँग समन्वय गरिएको हो ।
यस सहकार्यअन्तर्गत निर्वाचनसम्बन्धी आधिकारिक जानकारी प्रवाह, मतदाता शिक्षासम्बन्धी सामाग्री प्रवर्द्धन तथा मिथ्या र भ्रामक सूचनाको पहिचान र नियन्त्रणमा संयुक्त प्रयास गरिनेछ । ‘निर्वाचनको समयमा गलत सूचना फैलिन नदिन टिकटकले विभिन्न उपाय अपनाइरहेको छ,’उनले भने, ‘हामीले नेपाली र स्थानीय भाषा बुझ्ने तथ्य-जाँच साझेदारसँगको सहकार्य गरेका छौँ, टिकटकको कम्युनिटी गाइडलाइन कडाइका साथ कार्यान्वयन गरेका छौँ । शंकास्पद सामाग्रीको निगरानी तथा आवश्यक परे हटाउने प्रक्रिया प्रभावकारी बनाइएको छ ।’
मोत्ताकिनका अनुसार राजनीतिक विज्ञापन र संवेदनशील सामग्रीबारे विशेष सतर्कता अपनाइएको छ भने प्रयोगकर्तालाई आधिकारिक स्रोतबाट जानकारी लिन प्रोत्साहित गर्ने व्यवस्था पनि गरिएको छ । टिकटकले लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै जिम्मेवार डिजिटल प्लाटफर्मका रूपमा काम गर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या तथा भ्रामक सूचनाले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामा असर पार्न सक्ने भएकाले आयोगले टिकटकसँग औपचारिक सहकार्य अघि बढाएको बताए । यस समझदारीमार्फत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाहलाई प्राथमिकता दिइने र गलत सूचना नियन्त्रणमा प्लाटफर्मको सहयोग लिइने उनले बताए ।
‘युवा पुस्ताको ठूलो पहुँच भएको टिकटकजस्तो माध्यमसँग मिलेर काम गर्दा निर्वाचनसम्बन्धी सही सूचना छिटो र व्यापक रूपमा पुर्याउन सकिन्छ,’ उनले भने, ‘आयोग लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र प्रविधिको जिम्मेवार प्रयोगबीच सन्तुलन कायम गर्दै निर्वाचन प्रक्रिया सुरक्षित र विश्वसनीय बनाउन प्रतिबद्ध छ ।’
