धादिङ-२ मा कसले मार्ला बाजी ?

विरासत जोगाउने दाउमा रहेको कांग्रेस, गुमेको साख फर्काउने कसरतमा एमाले, भावनात्मक कार्ड फ्याँकेका नेकपा र विकल्पको राजनीति गरिरेहका रास्वपाबीचको यो प्रतिस्पर्धामा बाजी कसले मार्ला, त्यो भने फागुन २१ को मतदान र त्यसपछिको परिणामले नै प्रस्ट पार्नेछ ।

माघ २१, २०८२

दया दुदराज

Who will win in Dhading-2?

What you should know

काठमाडौँ — धादिङका चिया पसलदेखि चौतारीसम्म अहिले कुन उम्मेदवारले बाजी मार्ला भन्ने गफ हुन थालेको छ । विशेषगरी क्षेत्र नम्बर २ को चुनावी भीडन्त रोचक मोडमा पुगेको छ, जहाँ २४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

नीलकण्ठ नगरपालिकासहित रुबीभ्याली, गंगाजुमना, खनियाबास, नेत्रावती, त्रिपुरासुन्दरी र ज्वालामुखी गरी ६ वटा गाउँपालिका समेटिएको यस क्षेत्रमा मुख्य शक्तिहरूबीचको रस्साकस्सी तीव्र देखिएको छ ।

धादिङ–२ मा २४ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये ८ जना स्वतन्त्र उम्मेदवार छन् । तर व्यवहारतः प्रतिस्पर्धा भने कांग्रेसका रमेश धमला, एमालेका धनबहादुर घले, नेकपाका रामबहादुर भण्डारी र रास्वपाका बोधनारायण श्रेष्ठबीच नै हुने देखिन्छ । 

कांग्रेस उम्मेदवार रमेध धमला पूर्व जिल्ला सभापति भइसकेका नेता हुन् । कांग्रेसको संगठनात्मक संरचना यो क्षेत्रमा बलियो मानिन्छ । तात्कालीन माओवादी केन्द्रको गठबन्धनमा २०७९ को स्थानीय तह निर्वाचनमा क्षेत्रभित्रका अधिकांश पालिकामा कांग्रेसको जितले पनि त्यसको संकेत गर्छ । धादिङमा देउवा पक्ष मानिएका भीम ढुंगाना फ्याक्टरको अन्तरविरोध र रास्वपाको उभार कांग्रेसका लागि मुख्य चुनौती बन्ने देखिन्छ । 

एमालेका उम्मेदवार धनबहादुर घले २०७० मा धादिङ–१ बाट निर्वाचित संविधानसभा सदस्य हुन् । २०७९ मा प्रत्यक्षतर्फ दोस्रो स्थानमा सीमित एमाले अहिले कांग्रेस-माओवादी गठबन्धन कमजोर बनेको मनोवैज्ञानिक फाइदा उठाउन खोजिरहेको देखिन्छ । घले अनुभवी नेता भए पनि उनी लामो समय राष्ट्रिय राजनीतिमा निष्क्रय हुनु र टिकट वितरणमा देखिएको विवादले पार्टीभित्रको अन्तरविरोध उनको लागि चुनौतीपूर्ण देखिन्छ । 

एमालेले सुरुमा घलेलाई नै टिकट दिने भने पनि बीचमा चन्द्र रिजाललाई टिकट दिने निर्णय भएको थियो । तर घले पक्षले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेर विरोध गरेपछि घलेकै नाममा टिकट पठाएको हो । 

यसपटकको निर्वाचनमा 'नेकपा' का उम्मेदवार रामबहादुर भण्डारीको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ । जनयुद्धकालीन जनसरकार प्रमुखको भूमिका निभाएका भण्डारी स्वयं घाइते हुन् भने उनका दुई छोराहरू अझै बेपत्ता छन् । ‍उनको उम्मेदवारीलाई भावनात्मक बनाउने प्रमुख पक्ष हो । तर पछिल्ला निर्वाचनहरूमा माओवादीको मत निरन्तर घट्दो क्रममा छ । २०७९ को समानुपातिक नतिजाले पनि पार्टी तेस्रो शक्तिमा खुम्चिएको देखाउँछ ।

रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ सामाजिक अभियानबाट राजनीतिमा आएका हुन् । पार्टीको केन्द्रीय संगठन विभाग उपप्रमुखसमेत रहेका उनी नयाँ अनुहार, नयाँ शैली र ‘पुराना दलभन्दा फरक’ नारासहित मैदानमा उत्रिएका छन् । २०७९ मा प्रत्यक्षतर्फ ५ हजारभन्दा बढी मत ल्याएको रास्वपाले यसपटक असन्तुष्ट मतदातालाई आकर्षित गर्ने सम्भावना बोकेको छ । तर पार्टीको संगठन र स्थानीय संरचना कमजोर नहुनु उनको लागि चुनौती हो । 

अघिल्ला नतिजाले के भन्छन् ?

२०७९ को निर्वाचन परिणामलाई हेर्दा यो क्षेत्रमा कांग्रेस र माओवादीको संयुक्त गठबन्धन बलियो देखिएको थियो । त्यतिबेला कांग्रेसका रामनाथ अधिकारीले ३४ हजार ७ सय ३६ मत ल्याएर विजयी हुँदा एमालेका खेम प्रसाद लोहनीले २४ हजार १ सय ९० मत पाएका थिए । तर, २०७४ को निर्वाचनमा भने एमाले र माओवादीको वाम गठबन्धनबाट लोहनीले नै बाजी मारेका थिए ।

स्थानीय तहको निर्वाचन २०७९ को नतिजाले पनि यो क्षेत्रमा कांग्रेसको बलियो उपस्थिति देखाउँछ । सातमध्ये ६ वटा स्थानीय तहमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने रुबीभ्यालीमा माओवादी निर्वाचित भएको थियो ।

त्यस्तै २०७४ मा भने एमाले–माओवादी गठबन्धनका लोहनी ३६ हजार २ सय ५६ मतसहित विजयी हुँदा कांग्रेसका दिलमान पाख्रिन ३५ हजार ६ सय १६ मतमै रोकिएका थिए । दुवै निर्वाचनमा झिनो अन्तर देखिनु धादिङ–२ ‘स्विङ’ क्षेत्र भएको संकेत हो । 

गत निर्वाचनको समानुपातिक मत परिणामअनुसार कांग्रेस २० हजार ९ सय ५७ मतका साथ अग्रस्थानमा छ । एमाले १६ हजार २ सय ७५ र माओवादी ११ हजार ४ सय ९४ मतका साथ पछ्याइरहेका छन् । रास्वपाको ५,६२८ मत सहित चौथो स्थानमा थिए ।  

यसपटक कुल मतदाता संख्या १ लाख ३८ हजार ५ सय ९४ पुगेको छ । साना दल र स्वतन्त्र उम्मेदवारले काट्ने मत र नयाँ थपिएका मतदाताको झुकाव नै धादिङ २ को निर्णायक कडी बन्ने देखिन्छ । धादिङ–२ मा यसपटक कुनै पनि दल स्पष्ट रूपमा ‘फेभरेट’ देखिँदैन ।

पुरानो विरासत जोगाउने दाउमा रहेको कांग्रेस, गुमेको साख फर्काउने कसरतमा रहेको एमाले, भावनात्मक कार्ड फ्याँकेका नेकपा र विकल्पको राजनीति गरिरेहका रास्वपाबीचको यो प्रतिस्पर्धामा बाजी कसले मार्ला, त्यो भने फागुन २१ को मतदान र त्यसपछिको परिणामले नै प्रस्ट पार्नेछ ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully