पार्टीले एक सूचना जारी गर्दै छायांकन, फोटोग्राफी, भिडियो सम्पादन, ग्राफिक डिजाइन तथा सामाजिक सञ्जाल व्यवस्थापन जस्ता क्षेत्रमा जनशक्ति माग गरेको हो।
काठमाडौं — नेपाली कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा मिडिया तथा सूचना प्रविधिको प्रभावकारी प्रयोगका लागि दक्ष जनशक्तिलाई स्वयंसेवकका रूपमा माग गरेको छ ।
पार्टीले एक सूचना जारी गर्दै छायांकन, फोटोग्राफी, भिडियो सम्पादन, ग्राफिक डिजाइन तथा सामाजिक सञ्जाल व्यवस्थापन जस्ता क्षेत्रमा जनशक्ति माग गरेको हो।
कांग्रेस महासमिति अमृत ज्ञवालीले बदलिँदो राजनीतिक तथा सूचना प्रविधिको परिवेशलाई मध्यनजर गर्दै यो पहल गरिएको जानकारी दिए ।
अहिले विभिन्न माध्यमबाट प्रायोजित र भ्रमपूर्ण सूचनाहरू आइरहेको उल्लेख गर्दै उनले सही सूचना तल्लो तहसम्म र उम्मेदवारसँग प्रत्यक्ष रूपमा जोडिएर सम्प्रेषण गर्न स्वेच्छिक मिडिया टिम आवश्यक परेको बताए ।
उनले भने, ‘स्वेच्छिक ढंगले उम्मेदवारसँग जोडिएर तल्लो तहदेखि नै सही सूचना सम्प्रेषण होस् भन्ने हाम्रो उद्देश्य हो पार्टीलाई सहयोग गर्ने र क्षमता भएका व्यक्तिहरूले आफ्नो सीप देखाउन तथा एक्सपोजर पाउन सकून् भन्ने सोचका साथ आहृवान गरिएको हो ।’
उनका अनुसार प्रारम्भिक योजना १६५ निर्वाचन क्षेत्रका लागि भए पनि आवश्यकताअनुसार सोभन्दा बढी स्वयंसेवकसमेत खटाइने छ । सूचनामा धेरैको रुचि देखिएको धेरै फोन तथा सम्पर्कहरू आइरहेको उनले बताए । उनले भने ‘धेरैले चासो देखाउनुभएको छ, अब आवश्यक मापदण्डका आधारमा छनोट गरिनेछ मुख्य उद्देश्य सही सूचना उम्मेदवार र जनतासम्म पुगोस् भन्ने हो, यसले स्वस्थ प्रतिस्पर्धा सुनिश्चित होस् ।’
ज्ञवालीका अनुसार यो सेवा पूर्णरूपमा स्वयंसेवकमा आधारित हुनेछ। स्रोतसाधनको सामान्य व्यवस्थापन गरिए पनि सेवा किन्ने पक्षमा पार्टी नरहेको उनले बताए ।
