एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले भने, ‘पार्टीको चुनाव चिन्ह परिवर्तन लगायतका भ्रामक समाचार सामग्री तयार पारी प्रसारण गर्ने कलाकार लगायत जोसुकैलाई पनि कानूनी दायरामा ल्याउन हामी जोडदार माग गर्दछौँ।’
काठमाडौँ — एमालेको चुनाव चिन्ह परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रसारण गरिएकोप्रति एमालेले आपत्ति जनाएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले देशभर सञ्चालन भइरहेका निर्वाचनसम्बन्धी गतिविधि र प्रचार–प्रसारका शैलीमा प्रविधिको गैरराजनीतिक तथा गैरजिम्मेवार ढंगले प्रयोग भइरहेको बताउँदै पार्टी यसको विरोधमा रहेको उल्लेख गरे।
उनले विभिन्न राजनीतिक दल, उम्मेदवार तथा पार्टीका निर्वाचन चिन्हबारे भ्रम फैलाउने उद्देश्यले कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग गर्ने काम भइरहेको बताउँदै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गर्ने प्रयास भइरहेको बताए। उनले भने, ‘पार्टीको चुनाव चिन्ह परिवर्तन लगायतका भ्रामक समाचार सामग्री तयार पारी प्रसारण गर्ने कलाकार लगायत जोसुकैलाई पनि कानूनी दायरामा ल्याउन हामी जोडदार माग गर्दछौँ।’
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति आपत्ति जनाए। उनले भने, ‘हामी यस्ता कुराको कडा शब्दमा भर्त्सना एवं निन्दा गर्दछौं।’
उनले एमालेको चुनाव चिन्ह सूर्य परिवर्तन भएको छ भन्नेसम्मका एआईद्वारा सिर्जना गरिएका सामग्रीप्रति पार्टीको गम्भीर आपत्ति रहेको पनि बताए।
