दाङ-१ : पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री र पूर्वसांसद चुनावी मैदानमा

जेन-जी आन्दोलनपछि राजनीतिमा युवा सहभागिताको सवाल उठे पनि दाङ-१ का मुख्य प्रतिस्पर्धी अधिकांश ५० वर्ष उमेर पार गरेका छन् । यस क्षेत्रका १४ जना उम्मेदवारमध्ये ३ जना मात्र ४० वर्षमुनिका छन् ।

माघ २१, २०८२

दुर्गालाल केसी

Dang-1: Former Chief Minister, former Minister and former MP in the election fray

What you should know

दाङ — फागुन २१ को प्रतिनिधिसभा सदस्यका लागि नयाँ र युवा उम्मेदवारको प्रवेशसँगै दाङ–१ मा चिरपरिचित र पाका नेताबीच चुनावी प्रतिस्पर्धा छ । यस क्षेत्रमा युवा उम्मेदवारसँगै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वसंघीयमन्त्री, पूर्वसांसद र यसअघिका संसदीय चुनावमा उम्मेदवार भइसकेका व्यक्ति नै प्रतिस्पर्धी छन् ।

जेन-जी आन्दोलनपछि राजनीतिमा युवा सहभागिताको सवाल उठे पनि दाङ-१ का मुख्य प्रतिस्पर्धी अधिकांश ५० वर्ष उमेर पार गरेका छन् । यस क्षेत्रका १४ जना उम्मेदवारमध्ये ३ जना मात्र ४० वर्षमुनिका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) का प्रकाश शाही ४० वर्ष, राष्ट्रिय परिवर्तन पार्टीका रञ्जित चौधरी ३२ वर्ष र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय बीसी ३२ वर्ष उमेरका छन् ।

विगतका निर्वाचन मत परिणाम हेर्दा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच मुख्य प्रतिस्पर्धा छ । कांग्रेसबाट सहमहामन्त्री योगेन्द्र चौधरी चुनावी मैदानमा छन् । उनी ५१ वर्ष पुगे । चौधरी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट ०७० मा समानुपातिकतर्फ संविधानसभा सदस्य भएका थिए । ०६४ को संविधानसभा सदस्य निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) बाट उम्मेदवार भएर २ हजार ७ सय ६९ मत प्राप्त गरेका थिए ।

०७४ मा फोरमले कांग्रेससित एकीकरण गरेपछि चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । शेरबहादुर देउवानिकट चौधरी पछिल्लो समय गगन थापा नेतृत्वको विशेष महाधिवेशनमा सहभागी भएर सहमहामन्त्री बनेका हुन् । अहिलेसम्म प्रत्यक्षतर्फबाट निर्वाचित हुने अवसर नपाएकाले उनका लागि यो परीक्षाको घडी बनेको छ ।

एमाले केन्द्रीय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा घिमिरे ६८ वर्षका भइसके । घिमिरेसँग निर्वाचनमा विजय र पराजयको अनुभव छ । दुई निर्वाचनमा निर्वाचित भएका छन् भने दुईपटक पराजित भएका थिए । उनी पाँचौँ पटक निर्वाचनमा सहभागी हुँदैछन् । ०५४ मा चैलाही गाविस अध्यक्ष र ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । ०७४ मा दाङ १ (२) बाट १९ हजार ३ सय ५४ मतका साथ लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । ०५९ देखि २०६२ सालसम्म एमालेको जिल्ला सचिव थिए ।

उनी दाङ– १ बाट ०६४ र ०७० को संविधानसभा सदस्यका पनि उम्मेदवार थिए । ०६४ मा माओवादीका इन्द्रजित थारु र ०७० मा कांग्रेसकी पार्वती डीसी चौधरीसँग पराजित भएका थिए । यसपटक सबै पार्टीका उम्मेदवार भएको र मुख्य प्रतिस्पर्धी मेटमणि चौधरीलाई कांग्रेसका योगेन्द्र चौधरी र बागी उम्मेदवार कुलप्रसाद केसीले समस्या पारेका कारण एमालेको मत बचाउन सकेमा कडा प्रतिस्पर्धामा रहने देखिन्छ ।

नेकपाबाट मेटमणि चौधरी चुनावी मैदानमा छन् । उनको यो तेस्रो चुनावी यात्रा हो । यसअघि उनी यही क्षेत्रबाट दुईपटक निर्वाचित भइसकेका छन् । ०७९ को निर्वाचनमा चौधरी कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनबाट उम्मेदवार भएर २६ हजार ५ सय ७६ मत प्राप्त गरी विजयी भएका थिए । ०७४ मा तत्कालीन एमालेबाट यही क्षेत्रमा ३७ हजार ९ सय ८ मत प्राप्त गरी निर्वाचित भएका थिए । 

एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेर सहरी विकासमन्त्री भएका थिए । उनलाई यसपटक थारू समुदायका उम्मेदवार र बागी उम्मेदवारले चुनौती थपिदिएका छन् । कांग्रेसका चौधरीले थारू समुदायको मत विभाजन गरिदिँदा र लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री केसी बागी उम्मेदवार बनेकाले चुनौती बढेको छ । नेकपाका नेता केसीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पूर्वमाओवादी केन्द्र र रोल्पाबाट बसाइँ सरेर देउखुरी क्षेत्रमा आएका मतदाताको मत प्रभावित गर्नसक्ने देखिन्छ ।

केसी ०७४ मा माओवादी केन्द्रबाट रोल्पा १ (१) मा १८ हजार ५ सय १२ मतका साथ प्रदेश सांसद निर्वाचित भई लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए । संस्थापक मुख्यमन्त्री भएका एमाले महासचिव शंकर पोखरेल अल्पमतमा परेपछि केसी दोस्रो मुख्यमन्त्री भएका थिए । पोखरेल ०७४ फागुन ३ देखि २०७८ साउन २७ सम्म मुख्यमन्त्री भएका थिए भने । केसी ०७८ साउन २८ देखि २०७९ पुस २७  सम्म मुख्यमन्त्री भएका थिए ।

रास्वपाबाट देवराज पाठक पनि प्रतिस्पर्धामा छन् । ६० वर्षीय पाठक दोस्रोपटक निर्वाचनको मैदानमा छन् । ०७९ को निर्वाचनमा दाङ–१ मै रास्वपाबाट उम्मेदवार बनेर १३ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए । 

त्यस्तै दाङ-१ मा राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य, मंगोल नेसनल अर्गनाइजेसनबाट खुमबहादुर गाहा मगर, नेसनल रिपब्लिकन नेपालबाट मीनबहादुर ठेडी मगर, जनता समाजवादी पार्टीबाट भरतलाल चौधरी, आम जनता पार्टीबाट सीताराम यादव र स्वतन्त्र मालिकराम यादव पनि चुनावी प्रतिस्पर्धामा छन् ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully