देशकै बढी मतदाता भएको क्षेत्र रामेछापमा ९६ मतदानस्थल र २२८ मतदान केन्द्र

रामेछापमा ९६ हजार ८९२ जना पुरुष र ९१ हजार ६० जना महिला गरी कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन्।

माघ २०, २०८२

नवराज श्रेष्ठ

Ramechhap, the constituency with the highest number of voters in the country, has 96 polling stations and 228 polling centers.

रामेछाप — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता सङ्ख्या तथा मतदानस्थल केन्द्रको विवरण सार्वजनिक गरेको छ।

आयोगका अनुसार देशभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन्। विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्रै रहेको रामेछाप देशकै सबैभन्दा धेरै मतदाता भएको क्षेत्र बनेको छ। 

रामेछापमा कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन्। तीमध्ये ९६ हजार ८९२ जना पुरुष र ९१ हजार ६० जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेले बताए । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाका ६४ वटै वडामा ९६ मतदानस्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। यो निर्वाचनमा मतदाता बढेसँगै दुई वटा मतदान केन्द्र थप भएको निर्वाचन अधिकृत लामिछानेले बताए ।

मतदातालाई सहज, सुरक्षित र व्यवस्थित रूपमा मतदान गर्न सकिने गरी मतदान स्थल र केन्द्र तोकिएको कार्यालयले जनाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाताको तथ्यांकअनुसार धेरै मतदाता हुने निर्वाचन क्षेत्रको सूचीमा दोस्रो स्थानमा अर्घाखाँची–१ र तेस्रो स्थानमा दोलखा–१ रहेका छन्। त्यस्तै, सबैभन्दा कम मतदाता सङ्ख्या मनाङ जिल्लामा छन्, जहाँ करिब ७ हजार मतदाता मात्र छन्।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully