पुरानो संसद, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्दैनौं : रास्वपा सभापति लामिछाने

उनले म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेग रोक्ने हक हामी कसैलाई छैन भन्दै लेखेका छन्, 'यो देशको भविष्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोरभन्दा कठोर तपस्याका लागि बिल्कुल तयार छु ।'

माघ २०, २०८२

कान्तिपुर संवाददाता

We will not accept any manipulation, pressure, or threat to bring back the old parliament in a conspiratorial manner: RSP President Lamichhane

What you should know

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले संसद ब्युँताउन प्रयास भइरहेको संकेत गर्दै जनविद्रोहले उखेलेर फालेको पुरानो संसद, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की नस्विकार्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले निर्वाचनअघि केही दलहरूले गठबन्धन गर्ने प्रयास गरेको भन्दै लेखेका छन्, ‘मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं ।’

लामिछानेले आफूहरूलाई लोकप्रियतावादी, भिजनबिनाका, नीति–सिद्धान्तबिनाका भनेर कसैले रोइकराइ गर्नु नपर्ने पनि लेखेका छन् । उनले लेखेका छन्, ‘सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा दस्तावेज पढ्ने जाँगर विश्लेषणजीवीहरूलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ? विचार, सिद्धान्त, नीति सबै भएका भनिएका तपाईंहरूको नियत, कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस्, नपढाउनुस् ।’ उनले म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेग रोक्ने हक हामी कसैलाई छैन भन्दै लेखेका छन्, ‘यो देशको भविष्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोरभन्दा कठोर तपस्याका लागि बिल्कुल तयार छु । मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ, मलाई त्यसको परवाह छैन ।’

उनले देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यही निधारमा ताकेर गोली ठोक्नेहरूविरुद्ध क्रान्तिको घण्टी बजिसकेको दाबी गर्दै अब अन्तिम पर्दा उठ्न बाँकी रहेको र त्यो पर्दा आफूहरूले उठाउने दाबी गरेका छन् ।

कान्तिपुर

Link copied successfully