मोरङ–६ : जहाँका मतदाता सधैं निर्णय बदल्छन्

बारम्बार प्रतिनिधि फेरिँदै आएको यो क्षेत्रमा मतदाताहरू पार्टीको नामभन्दा पनि आफ्ना दैनन्दिन समस्या समाधान गर्न सक्ने नेतातर्फ केन्द्रित देखिन्छन् ।

माघ १९, २०८२

पर्वत पोर्तेल

Morang-6: Where voters always change their minds

What you should know

विराटनगर — मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का गाउँ–टोलदेखि सहर बजारलाई अहिले चुनावी माहोलले छोपेको छ । चियापसलदेखि भट्टीसम्म र चोकदेखि चौतारासम्म ‘यसपटक कसलाई भोट हाल्ने ?’ भन्ने चर्चा भइरहेको हुन्छ ।

बारम्बार प्रतिनिधि फेरिँदै आएको यो क्षेत्रमा मतदाताहरू पार्टीको नामभन्दा पनि आफ्ना दैनन्दिन समस्या समाधान गर्न सक्ने नेतातर्फ केन्द्रित देखिन्छन् ।

२०४८ यता सात वटा आमनिर्वाचन, दुई संविधानसभा र एक उपनिर्वाचन भोगेको मोरङ–६ मा मतदाताले आठपटक मत खसालिसकेका छन् । तीमध्ये एक पटकबाहेक हरेकपटक फरक प्रतिनिधि फेरिएका छन् । १ लाख ३७ हजार ८ सय ३२ मतदाता रहेको यस क्षेत्रमा ‘फेरि पनि बदल्ने कि यसपटक टिकाउने ?’ भन्ने बहस सामान्य भइसकेको छ ।

विराटनगर महानगरसँग जोडिएको यो क्षेत्रमा रोजगारी, महंगी, सुकुम्बासी समस्या, फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा र युवाको भविष्य मुख्य मुद्दा बनेका छन् । स्थानीय मतदाता विगतका निर्वाचित प्रतिनिधिले भाषणमार्फत ठूल्ठूला आश्वासन बाँडेर पनि जीवनस्तर बदल्ने काम नगरेको गुनासो गर्छन् । ‘नेता त आउँछन्, भोट माग्छन्, तर जितेपछि देखिँदैनन्,’ विराटनगर– ५ मा  तरकारी पसल गर्ने सीतादेवी महतोले दुखेसो पोखिन्, ‘भोट दिएपछि नेताले बिर्सिहाल्छन् ।’ 

उद्योग क्षेत्रमा काम गर्ने युवाहरू रोजगारीको स्थायित्व र पारिश्रमिकको विषय उठाइरहेका छन् भने बस्तीका बासिन्दा शुद्ध खानेपानी र सुकुम्वासी समस्यामा अल्झिएका छन् ।

यसपटक कांग्रेसका शेखर कोइराला, एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीकी रूविना आचार्यलगायत २० जना उम्मेदवार मैदानमा छन् । तर धेरै मतदाताको साझा प्रश्न छ, ‘हाम्रा समस्या बुझ्ने, समाधान गरिदिने नेता चाहिएको छ । तपाईंहरू तयार हुनुहुन्छ ?’

कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकालमा संस्थापनइतर समूहको नेतृत्वकर्ता कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीविरोधी कित्ताका अगुवा ढकालबीच १७ वर्षपछि दोहोरिएको प्रतिस्पर्धालाई मतदाताले निकै चासोका साथ हेरेका छन् । ‘अनुभव त दुबैसँग छ, तर काम कसले गर्छ भन्ने हो,’  विराटनगर–१२ का स्थानीय मतदाता रामप्रसाद उप्रेती भन्छन्,‘यसपटक हाम्रो भोट काम गर्ने नेतालाई जान्छ ।’

कोइराला र ढकालसँगै नेकपाका राय र रास्वपाकी आचार्य पनि तीव्र प्रतिष्पर्धामा छन् । राय श्रमिक परिवारबाट राजनीतिमा आएका हुन् । आचार्य युवा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेकी हुन् । ‘बुढा र पुराना भन्दा पनि नयाँ र युवा उम्मेदवारप्रति यसपटक मतदाताको चाख बढी देखिएको छ’, स्थानीय जेन–जी मतदाता सुष्पा पाण्डेले भनिन् । 

नयाँ दल र युवा उम्मेदवारको उपस्थितिले केही उत्साह थपिए पनि चुनावी खर्चका कारण २५ वर्षीय जेन–जी उम्मेदवार राम खत्रीले उम्मेदवारी फिर्ता लिनु परेपछि ‘पैसाबिनाको राजनीति सम्भव छ कि छैन ?’ भन्ने प्रश्न पनि यतिबेला पेचिलो बनेको छ । मोरङ–६ का मतदाताले चियापसलका बहसलाई मतपेटिकासम्म कसरी पुर्‍याउलान् त्यसका लागि फागुन २१ कुर्नैपर्छ । 

चलायमान जनमतको इतिहास
मोरङ–६ का पुराना बासिन्दालाई सोध्दा उनीहरू पहिला निर्वाचन क्षेत्रको नम्बर सम्झन्छन्, अनि बल्ल प्रतिनिधिको नाम । कहिले मोरङ–७, कहिले मोरङ–६ भनिँदै आएको यो भूगोलको सीमांकन फेरिए पनि राजनीतिक स्वभाव भने उही छ, निर्णय बदलिरहने ।

प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो निर्वाचन २०४८ मा यही भूगोलबाट कांग्रेसका श्यामलाल तबदार विजयी भएका थिए । त्यसपछि २०५१ मा एमालेका गुरू बराल र २०५६ मा कांग्रेसका हरिनारायण चौधरी चुनिए । लगातार तीन निर्वाचनमा तीन फरक अनुहार निर्वाचित भएपछि स्थानीयले यो क्षेत्रलाई ‘कसैको विर्ता होइन’ भन्न थाले ।

यो स्वभाव २०६२–६३ को जनआन्दोलनपछि पनि फेरिएन । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदार विजयी भए । कांग्रेसका शेखर कोइराला पराजित भए । तर, गच्छदारले दुई क्षेत्र जितेपछि मोरङ–७ छाड्दा २०६५ मा भएको उपनिर्वाचनले फेरि नतिजा उल्टिँदा कोइराला विजयी भए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि कोइरालाले जित दोहोर्‍याए । त्यसबेला गच्छदारसँगको प्रतिस्पर्धा अन्तिम मतगणनासम्म तानिएको थियो । २०७४ मा एमालेका लालबाबु पण्डितले झिनो मतले जित्दा पनि यही क्षेत्रको चलायमान चरित्र देखियो । पण्डितले ३३ हजार ९ सय ४१ मत पाउँदा कोइरालाले ३३ हजार २ सय ६६ मत पाए ।

२०७९ मा भने मतदाताले फेरि निर्णय बदले । कोइरालाले ३५ हजार २ सय २४ मतसहित जित हात पारे भने पण्डित २२ हजार ९ सय ४६ मतमै रोकिए । त्यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान ९ हजार १ सय ४० मतसहित तेस्रो बने । समानुपातिक मतले पनि मतदाताको बदलिँदो रुचि देखायो । २०७२ पछि निर्वाचन क्षेत्र पुनर्संरचना हुँदा मोरङमा ६ क्षेत्र कायम गरिए । हालको मोरङ–६ मा बुढीगंगा गाउँपालिका, सुन्दरहरैंचा नगरपालिकाका २–७ र विराटनगर महानगरपालिकाका ४, ५, ६, ७, ९, ११ र १२ पर्छन् ।

कोइराला परिवारको विरासत
विराटनगर औद्योगिक सहर मात्र होइन, नेपाली कांग्रेसको राजनीतिक आधारभूमि पनि हो । २०४८ पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । तर, उनको शक्ति काठमाडौंभन्दा विराटनगरमै बढी महशुष हुन्थ्यो । उद्योगी, मजदुर, पार्टी कार्यकर्ता र सीमावर्ती राजनीतिसँगको उनको सम्बन्धले मोरङ कांग्रेसलाई लामो समय सुरक्षित किल्ला बनायो ।

२०६० पछि मोरङमा डा. शेखर कोइरालाको सक्रियता बढ्दै गयो । गिरिजाप्रसादको निधनपछि ‘विरासत कसले बोक्छ ?’ भन्ने बहस यहीँबाट चर्कियो । शेखर संसद् प्रवेश गरेसँगै मोरङ–विराटनगर कांग्रेसभिक्र शत्ति सन्तुलन बद्लिएको स्थानीय कार्यकर्ताले महशुष गरे ।

आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरणका कुरा उठाउँदै आएका शेखर भर्खरै सम्पन्न विशेष महाधिवेशनमा भने संस्थापनतिरै लागेका कारण यी ‘मध्यमार्गी’ नेताले समर्थक र आलोचक दुबै बढाए । २०४८ देखि २०८२ सम्म आइपुग्दा मोरङ कांग्रेस सत्ता अभ्यास र संगठन परीक्षणको मैदान बन्यो । हारका बेला पनि संगठन जोगाइराख्नु कोइराला परिवारको विशेषता रह्यो । तर, समयसँगै असन्तोष पनि बढ्यो । गुट–उपगुट, पुस्तान्तरण र ‘परिवारवाद’को आलोचना खुलेर हुन थाल्यो । मोरङमै हुर्किएका युवा नेताहरूले कोइराला बर्चस्वलाई चुनौती दिन थालेका छन् ।

कोइराला परिवारको प्रभाव पहिले जस्तो निर्विवाद छैन । तर, विराटनगर–मोरङको राजनीतिमा उनीहरूको उपस्थितिलाई नजरअन्दाज गर्न सकिँदैन । अहिले चियापसलदेखि टोलसभासम्म एउटै प्रश्न सुनिन्छ, विराटनगरबाट सुरु भएको यो राजनीतिक विरासत समयसँगै बदलिन सक्छ कि सक्दैन ?

प्रतिनिधिसभा निर्वाचन २०८२

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully