प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुने बताइन् ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचन नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नुपर्ने बताउँदै चुनावमा एक थोपा पनि रगत बग्नु नहुने र कुनै पनि नागरिक घाइते हुन नहुनेतर्फ प्रहरीलाई सचेत गराएकी छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुने बताइन् । उनले निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको कोशेढुंगाको संज्ञा दिँदै त्यसलाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको तथ्य पनि स्मरण गराइन् ।
प्रधानमन्त्रीले प्रहरीलाई सम्बोधन गर्दै भनिन्, ‘कुनै राजनीतिक प्रभाव, दबाब वा पूर्वाग्रहबाट माथि उठेर कानूनको मर्मअनुसार आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् । तपाईंहरूको निष्पक्षता नै लोकतन्त्रको सुरक्षाकवज हो ।’
उनले निर्वाचनका बेला प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताउँदै राजनीतिक प्रभाव, दबाब वा पूर्वाग्रहबाट माथि उठेर कानूनको मर्मअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिन् ।
