एमालेबाट ५५ र नेकपाबाट ५९ नयाा अनुहार, नेकपा संयोजक दाहालको परिवारबाट तीन उम्मेदवार
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवारीमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएका छन् । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको एमालेबाट ५५ नयाँ अनुहार छन् । १६४ क्षेत्रमा मनोनयन दर्ता गराएको नेकपाबाट नयाँ अनुहारका उम्मेदवार ५९ जना छन् ।
एमाले र नेकपाले जेन–जीलाई समेत उम्मेदवार बनाएका छन् । एमालेबाट पर्सा–२ मा जेन–जी रीमाकुमारी यादव र नेकपाबाट बारा–४ मा जेन–जी अजय कुशवाहाले उम्मेदवारी दिएका छन् ।
पार्टीका तर्फबाट २५ युवालाई चुनावी प्रतिस्पर्धामा उतारिएको एमालेको भनाइ छ । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले नयाँ र युवा उम्मेदवारको संख्या ५४.५४ प्रतिशत रहेको दाबी गरे । नेकपा नेता वर्षमान पुनले आफ्नो पार्टीका तर्फबाट नयाँ र युवा गरी करिब ६० प्रतिशत उम्मेदवार भएको दाबी गरे । ‘नयाँ र पुरानालाई प्राथमिकतामा दिएर उम्मेदवार चयन गरेका छौं,’ उनले भने ।
एमाले र नेकपामा उम्मेदवारी दर्तामा महिला प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने माग उठे पनि एमाले ९ र नेकपाले ८ महिलालाई मात्र प्रत्यक्ष निर्वाचनको प्रतिस्पर्धामा उतारेका छन् ।
एमालेले गत मंसिरमा भएको ११ औं महाधिवेशनमा केपी शर्मा ओली प्यानलविरुद्ध प्रतिस्पर्धा गरेका नेता सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई, नेताहरू विन्दा पाण्डे, गोकुल बाँस्कोटा र रचना खड्कालाई टिकटबाट वञ्चित गरेको छ । सुरेन्द्रले महासचिव, विन्दाले उपाध्यक्ष, बाँस्कोटा र खड्काले सचिवमा प्रतिस्पर्धा गरेका थिए ।
महाधिवेशनमा सचिवमा प्रतिस्पर्धा गरेका नेता ठाकुर गैरेलाई सुरुमा टिकट दिइएको थिएन । उनी यसअघि निर्वाचित पाल्पा–२ मा उपाध्यक्ष विष्णु पौडेललाई पठाइएको थियो । तर पौडेल रूपन्देही–३ फर्केपछि गैरेले टिकट पाए । दैलेखबाट मतदान प्रक्रिया अपनाएर एक नम्बरमा सिफारिस भएका विष्णु रिजालले पनि टिकट पाएनन् । एमालेमा संस्थापन इतर पक्षलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयनमा अन्याय गरेको भन्दै आलोचना भइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ र गोकर्ण विष्ट गुल्मी–२, महासचिव शंकर पोखरेल दाङ–२, उपमहासचिव लेखराज भट्ट कैलाली–४, सचिवहरू रघुवीर महासेठ धनुषा–४, भानुभक्त ढकाल तेह्रथुम, महेश बस्नेत भक्तपुर–२, राजन भट्टराई काठमाडौं–४ र शेरधन राई भोजपुरमा प्रतिस्पर्धा गर्दै छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट उम्मेदवार भएका छन् । उम्मेदवारी दर्तापछि उनले भने, ‘रोल्पाबाट सुरु भएर रुकुममा सम्भवतः यो मेरो प्रत्यक्ष निर्वाचनको अन्तिम पनि हुन सक्छ । यो आफैंमा रेकर्डजस्तो बनेको छ । केन्द्रीय आधार इलाकाका रूपमा स्थापित रोल्पाबाट सुरु गरेर केन्द्रीय आधार इलाकाका रूपमा स्थापित रुकुममा आएर उम्मेदवारी दिनु आफैंमा मेरा लागि गर्वको विषय भएको छ ।’ दाहाल २०७९ को निर्वाचनमा गोरखा–२, २०७४ मा चितवन–३, २०७० मा काठमाडौं–१० र सिरहा–३, २०६४ मा रोल्पा–२ र काठमाडौं–१० मा उम्मेदवार थिए ।
यस पटक संयोजक दाहालको परिवारबाट अन्य दुई पनि उम्मेदवार छन् । छोरी रेनु दाहालले चितवन–३ र बुहारी बिना मगरले कञ्चनपुर–१ बाट मनोनयन दर्ता गरेका छन् । पूर्वसचिवालय सदस्य देवेन्द्र पौडेल नवलपरासी पश्चिम–२ मा उम्मेदवार छन् भने उनकी श्रीमती बलावती शर्मा समानुपातिकतर्फ महिला ‘क्लस्टर’ मा एक नम्बरमा छिन् । अर्का पूर्वपदाधिकारी दीनानाथ शर्माकी छोरी कल्पना शर्मा काठमाडौं–५ बाट उम्मेदवार भएकी छन् ।
नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ मा उम्मेदवार छन् । २०७९ को निर्वाचनमा उनी त्यही क्षेत्रबाट विजयी भएका थिए । नेकपा नेताहरू नारायणकाजी श्रेष्ठ सर्लाही–३, वर्षमान पुन रोल्पा, शक्ति बस्नेत जाजरकोट, गिरिराजमणि पोखरेल महोत्तरी–१, मात्रिकाप्रसाद यादव धनुषा–१, भीमबहादुर रावल अछाम–२ मा उम्मेदवार छन् ।
नेकपाका वरिष्ठ नेता वामदेव गौतमलाई अन्तिम समयमा रोकेर बर्दिया–१ मा विष्णुप्रसाद थारूलाई टिकट दिइएको छ । उम्मेदवार हुने चाहना राखेका नेता झलनाथ खनालले पनि टिकट पाएनन् ।
