शेरबहादुर देउवा र शेखर कोइराला पक्षबाट करिब ८५ जनाको सूची पठाइएकामा देउवा पक्षका ३५ र शेखर कोइराला पक्षका १९ जनाले टिकट पाए।
काठमाडौँ — कांग्रेसले यस पटक प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाएका मध्ये ९७ जना नयाँ अनुहार छन् । ४० वर्षमुनिका २६ जनाले मंगलबार उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका महिलाको संख्या भने ११ छ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले अझै केही कमीकमजोरी रहे पनि विगतको तुलनामा उम्मेदवारको छनोट ऐतिहासिक भएको बताए । ‘पूरै सुधार गर्न नसकिए पनि टिकट वितरणमा सबैभन्दा राम्रो, विवाद नभएको यस पटक नै हो,’ उनले भने ।
पार्टीको नेतृत्व पुस्तान्तरण भएसँगै टिकट वितरणको विकृति अन्त्य गर्ने प्रयास गरिएको प्रवक्ता देवराज चालिसेले बताए । ‘युवा, महिला, समावेशिता र नयाँ अनुहारको उल्लेख्य उपस्थिति छ । यसरी विगतमा कहिल्यै वितरण भएन । एउटै व्यक्तिलाई बारम्बार उम्मेदवार बनाउने र नयाँले अवसर नपाउने अवस्था अन्त्य गरियो,’ उनले भने ।
कांग्रेसले यस पटक कुनै दलसँग गठबन्धन नगरी उम्मेदवारी दर्ता गराएको छ । शेरबहादुर देउवाले कांग्रेसको सभापति सम्हालेदेखि नै चुनावमा कुनै न कुनै दलसँग गठबन्धन हुँदै आएको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपासहित मधेशकेन्द्रित दलहरूसँग विभिन्न क्षेत्रमा कांग्रेसको गठबन्धन थियो । कांग्रेसले २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलसँग गठबन्धन गरेको थियो ।
यस पटक भने पटक–पटक निर्वाचन लडेका धेरै नेताहरूले यस पटक टिकट पाएनन् । पूर्वसभापति देउवा नै यस पटक उम्मेदवार छैनन् । उनी २०४८ सालदेखि लगातार डडेलधुराबाट निर्वाचित हुँदै आएका थिए । यसपालिको चुनावमा उनी उठ्ने तयारीमा थिए । गत २७–३० पुसमा भएको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले निर्वाचन आयोगबाट मान्यता पाएपछि देउवाको संसदीय यात्रामा ‘ब्रेक’ लागेको हो ।
देउवा पक्षले आफ्नोतर्फबाट उम्मेदवारको सूची सभापति थापालाई बुझाउँदा उनको नाम पहिलो नम्बरमै राखिएको थियो । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणा देउवाको नाम भने सूचीमा थिएन । आरजुले पनि यसपालि टिकट पाइनन् ।
तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थितिमा पार्टीबाट मात्रै नभएर संसदीय क्षेत्रबाट पनि बिदा लिन देउवालाई सुझाउँदै आएका थिए । तर बालकृष्ण खाण र रमेश लेखकमार्फत देउवाले अन्तिम पटक भन्दै चुनाव लड्ने इच्छा देखाएका थिए ।
गृह जिल्ला डडेलधुराबाट देउवाको एकल नाम सिफारिस भएको थियो । तर संसद् पुगेर फेरि प्रधानमन्त्री बन्नका लागि चलखेल गर्न सक्ने भयले थापा र शर्माले टिकटमै बन्देज लगाउन खोजिरहेका थिए । त्यसै कारण देउवालाई टिकट दिने कि नदिने भन्नेबारेमा सोमबार राति १२ बजेसम्म पनि निर्णय लिइएको थिएन । टिकट पाउने सुनिश्चित नभएपछि देउवाले १२ः१९ बजेतिर आफू उम्मेदवार नहुने भनेर घोषणा गरे । डडेलधुराबाट नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले टिकट पाएका छन् ।
बीपी कोइरालाका छोरा शशांक कोइराला र गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले यस पटक टिकट पाएनन् । शशांक २०६४ र सिंह २०४८ सालदेखि संसदीय प्रतिस्पर्धा गरिरहेका नेता हुन् । सिंह उठ्दै आएको काठमाडौ–१ मा प्रवल थापा उम्मेदवार भएका छन् ।
२०४८ देखि लगातार प्रतिस्पर्धा गर्दै आएका विजयकुमार गच्छदारले भने यसपालि पनि सुनसरी–३ मा टिकट पाएका छन् । सुरुमा विजयकुमारलाई टिकट दिइएको थियो, पछि उनको भाइ पर्ने वेद गच्छदारलाई टिकट दिइएको थियो । संस्थापन पक्षको चाहनामा वेद थिए । गच्छदार दाजुभाइको समझदारीबाट विजयकुमारको उम्मेदवारी दर्ता भयो ।
पार्टीका एक पदाधिकारीका अनुसार देउवाले शेखर कोइराला र आफ्नो समूहबाट टिकट पाउनुपर्ने भनेर करिब ८५ जनाको सूची पठाएका थिए । त्यसमा विघटित प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित सबैको नाम थियो । सूचीबाटै देउवा पक्षका ३५ र शेखर कोइराला पक्षका १९ जनालाई टिकट दिइएको छ । विशेष महाधिवेशन पक्षधर १ सय ९ जनाले टिकट पाएका छन् ।
सिन्धुपाल्चोकका मोहन बस्नेत, ओखलढुंगाका रामहरि खतिवडा, सिन्धुलीका श्यामकृष्ण घिमिरे, कञ्चनपुरका रमेश लेखकलगायतले टिकट पाएनन् । खतिवडालाई अघिल्लो राति दिइसकिएको टिकट पछि खोसिएको थियो । २३ भदौको घटनाका बेला गृहमन्त्री रहेका लेखकमाथि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले छानबिनको दायरामा राखेको छ । बस्नेतविरुद्ध भने टेरामक्स प्रकरणमा मुद्दा चलिरहेको छ ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकाले नैतिक रूपमा आफू उम्मेदवार नहुने घोषणा गरेका थिए । उनी चुनाव लड्दै आएको सुर्खेत–१ मा खड्काले आफ्नै भाइ विष्णु खड्कालाई उम्मेदवार बनाएका छन् ।
पार्टी सभापति गगन थापा नै यस पटक काठमाडौं–४ छाडेर सर्लाही–४ पुगेका छन् । थापाले २०७० देखि चुनाव लड्दै आएको काठमाडौं–४ मा क्रिकेटका कमेन्टेटर सचिन तिमल्सिनाले टिकट पाएका छन् ।
काठमाडौंका–१० निर्वाचन क्षेत्रमा प्रदीप पौडेलबाहेक सबै नयाँ उम्मेदवार छन् । काठमाडौ–१ मा प्रवल थापा, काठमाडौं–२ मा कवीर शर्मा, काठमाडौं–३ मा रमेश अर्याल, काठमाडौं–४ मा सचिन तिमल्सिना, काठमाडौं–६ मा सबुजकृष्ण बानियाँ उम्मेदवार छन् । यस्तै काठमाडौं–७ मा प्रमोदहरि गुरागाईं, काठमाडौं–८ मा सपना राजभण्डारी जोशी, काठमाडौं–९ मा नानु बाँस्तोला र काठमाडौं–१० मा हिमाल कार्कीले टिकट पाएका छन् ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका महामन्त्री पौडेलले भने यसअघि जितेकै काठमाडौं–५ बाट टिकट लिएका छन् । गएको निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट निर्वाचित एक्ली महिला सीता गुरुङ यस पटक टिकटबाट वञ्चित भइन् । उनको क्षेत्र तेह्रथुममा सन्तोष सुब्बाले टिकट पाएका छन् । क्षेत्रीय कार्यसमितिबाट भने गगन थापाको एकल नाम सिफारिस गरिएको थियो ।
पूर्वउपसभापति धनराज गुरुङ, पूर्वसहमहामन्त्रीहरू जीवन परियार र उमाकान्त चौधरीले पनि यस पटक टिकट पाएनन् । गुरुङ र परियार शेखरनिकटका नेता हुन् भने चौधरी कृष्णप्रसाद सिटौलासँग नजिक छन् । प्रतिनिधिसभामा चुनाव लड्न प्रदेश सांसदबाट राजीनामा दिएका सिटौला समूहका कुन्दनराज काफ्लेले पनि टिकट पाएनन् ।
पूर्वकेन्द्रीय सदस्य पदमनारायण चौधरी, अजयकुमार चौरसिया, ईश्वरी न्यौपाने, कल्याण गुरुङ, ध्यानगोविन्द रञ्जित, गणेश लामालगायतले पनि टिकट पाएनन् । शशांकनिकट दीपक खड्काले टिकट नपाउने भएपछि चुनाव नलड्ने घोषणा गरेका थिए । उपसभापति विश्वप्रकाश शर्माले पहिले नै चुनाव नलड्ने घोषणा गरेका थिए । हृदयराम थानी, बद्री पाण्डे, बालकृष्ण खाण, बलबहादुर केसी, नारायण खड्का, जिपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, राजेन्द्रकुमार केसी, राजु थापा, मीनबहादुर विश्वकर्मा, रामनाथ अधिकारीलगायतले यस पटक चुनाव नलड्ने घोषणा गरेका थिए ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक भनेर अदालतमा रिट दर्ता गर्नेमध्येकै नेताहरूले पनि सभापति थापाकै हस्ताक्षरबाट टिकट लिएका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि कानुनी उपचार र सडकबाट प्रतिवाद गर्न चर्को आवाज उठाउनेमध्येका नेता विमलेन्द्र निधिले धनुषा–३ बाट, अर्का नेता महेन्द्र यादवले धनुषा–४ बाट थापाकै हस्ताक्षर भएको टिकटमा उम्मेदवार मनोनयन गरेका छन् ।
नुवकोट–१ बाट पूर्वप्रवक्ता प्रकाशशरण महत र कञ्चनपुर–२ बाट एनपी साउदले उम्मेदवारी दर्ता गराएका छन् । विजयकुमार गच्छदारले सुनसरी–३, ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी–४, महालक्ष्मी उपाध्याय ‘डिना’ ले मकवानपुर–१ र किशोरसिंह राठोरले बर्दिया–२ बाट मनोनयन दर्ता गरेका छन् ।
