जसले उम्मेदवार हुन दल र क्षेत्र बदले

२१ फागुनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ क्षेत्रमा मंगलबार मनोनयन दर्ता भइरहँदा धेरै नेताले दल तथा निर्वाचन क्षेत्र बदलेका छन् ।

माघ ७, २०८२

दुर्गा दुलाल

Those who changed parties and constituencies to become candidates

काठमाडौँ — विगतका निर्वाचनमा जस्तै यस पटक पनि अन्तिम समयमा दल बदलेर उम्मेदवार हुने, बागी उम्मेदवारी दिने र स्थान परिवर्तन गरी निर्वाचनको मैदानमा उत्रने क्रम चलेको छ । २१ फागुनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ क्षेत्रमा मंगलबार मनोनयन दर्ता भइरहँदा धेरै नेताले दल तथा निर्वाचन क्षेत्र बदलेका छन् ।

आकांक्षी धेरै हुने तर अन्तिममा टिकट नपाउँदा क्रियाशील रहेको दल छोडेर नयाँ दलमा उम्मेदवार बनेका हुन् । 

दल बदलेका उम्मेदवार

दल बदलेर सबैभन्दा अप्रत्याशित नतिजा नेपाल सद्भावना पार्टीका अनिलकुमार झाले दिए । तराई मधेश केन्द्रित दलमा लामो समय सक्रिय भएर राजनीति गर्दै आएका र पूर्वमन्त्रीसमेत रहेका झाले मंगलबार बिहान कांग्रेसका सभापति गगन थापासँग रौतहट–१ का लागि टिकट लिँदै उम्मेदवारी दर्ता गराएका थिए । उनका प्रतिस्पर्धीमा नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छन् ।

कांग्रेसका पुराना नेता वीरेन्द्रकुमार कनौडिया एमाले प्रवेश गरी कपिलवस्तु–३ बाट उम्मेदवार भएका छन् । पहिले कांग्रेस र पछि स्वतन्त्रबाट चुनाव जितेका अमरेशकुमार सिंह यस पटक रास्वपा प्रवेश गरेर सर्लाही–४ मा उम्मेदवार छन् । उनले कांग्रेस सभापति गगन थापासँग प्रतिस्पर्धा गर्ने भएका छन् । कांग्रेस नेता प्रमोदकुमार यादवले टिकट नपाएपछि एमाले प्रवेश गरी रूपन्देही–४ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

यादव २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रमा कांग्रेसबाट निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा भने लोसपाका सर्वेन्द्रनाथ शुक्लसँग पराजित भएका थिए । ‘मंगलबार बिहानसम्म मलाई टिकट दिने निश्चित जस्तै थियो, तर एकाएक अर्कैलाई टिकट दिएपछि आफूमाथि अन्याय भएको महसुस गरी त्यही पार्टीमा बस्न सकिनँ,’ उनले भने । उक्त क्षेत्रमा कांग्रेसले आशुतोष मिश्रलाई उम्मेदवार बनाएको छ ।

यसअघि प्रदेश सांसद रहेका लोसपाका कन्हैया बानियाँ रास्वपाबाट रूपन्देही–४ मा र कांग्रेसका विक्रम खनाल रास्वपाबाट पश्चिम नवलपरासी–१ मा उम्मेदवार बनेका छन् । कांग्रेसबाट टिकट अपेक्षा गरेका पूर्वप्रहरी उपरीक्षक विक्रमसिंह थापा रास्वपा प्रवेश गरेर कपिलवस्तु–२ मा उम्मेदवार बनेका छन् ।

राप्रपाका प्रकाश रजौरिया अन्तिम समयमा रास्वपा प्रवेश गरेर कपिलवस्तु–३ मा उम्मेदवार बने । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा जनमतका सतीशकुमार सिंह स्वाभिमान पार्टीबाट सप्तरी–२ मा, नेकपाका रहबर अन्सारी रास्वपाबाट बारा–४ मा, नेकपाका धर्मनाथ साहले एमालेबाट सिरहा–४ मा उम्मेदवारी दिएका छन् । जसपा नेपालका पूर्वमन्त्री मोहम्मद इस्तियाक राई एमालेबाट बाँके–२ मा उम्मेदवार भएका छन् ।

बागी उम्मेदवारी

नेकपाले टिकट नदिएपछि लुम्बिनीका पुर्वमुख्यमन्त्री कुलप्रसाद केसीले पार्टीका उम्मेदवार मेटमणि चौधरीविरुद्ध दाङ–१ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सिन्धुली–२ मा नेकपाका उम्मेदवार लेखनाथ दाहालविरुद्ध बागी उम्मेदवारी दर्ता भएको छ । जिल्ला पार्टीको निर्णय भन्दै पत्रकार महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसका युवा नेता आशिष शर्माले कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले कांग्रेसका अतहर कमाल मुसलमानविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । कांग्रेसका बाबुराम आचार्यले काठमाडौं–१ मा बागी उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले प्रबल थापालाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । २०७९ मा उक्त क्षेत्रबाट प्रकाशमान सिंह विजयी भएका थिए । यस पटक उनले टिकट पाएनन् ।

कांग्रेसका भूपेन्द्रजंग शाहीले पनि पार्टीबाट टिकट पाएका हर्षबहादुर बमविरुद्ध बागी उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाही छन् । उनीविरुद्ध पनि पार्टीका जीवन बुढाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

गगनदेखि पुष्पकमलसम्मले बदले क्षेत्र

काठमाडौं–४ बाट उठ्दै आएका कांग्रेस सभापति गगन थापा निर्वाचन क्षेत्र बदलेर सर्लाही–४ बाट उम्मेदवार भएका छन् । नेकपा संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वमा उम्मेदवारी दर्ता गरेका छन् । २०७४ को निर्वाचनमा दाहाल चितवन–३ बाट र २०७९ मा गोरखा–२ बाट विजयी भएका थिए । गत निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित रास्वपाकी सोबिता गौतमले चितवन–३ मा उम्मेदवारी दिएकी छन् ।

नेकपाका देवेन्द्र पौडेलले क्षेत्र फेर्दै नवलपरासी (सुस्ता पश्चिम)–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । पौडेल २०७९ मा बागलुङ–२ बाट निर्वाचित भएका थिए । कांग्रेसका प्रकाशशरण महत काठमाडौं छोडेर नुवाकोट पुगेका छन् । उनले नुवाकोट–१ बाट उम्मेदवारी दर्ता गरेका छन् । महत पहिलो पटक नुवाकोटबाट चुनाव लड्न लागेका हुन् । यसअघि २०७४ को चुनावमा उनले काठमाडौं–५ बाट उम्मेदवारी दिएका थिए । त्यतिबेला उनी पराजित भएका थिए । २०७९ मा काठमाडौं–५ मा कांग्रेसले प्रदीप पौडेललाई उम्मेदवार बनाएको थियो ।

एमाले सचिव भानुभक्त ढकाल मोरङ–३ छाडेर तेह्रथुम पुगेका छन् । उनी मोरङ–३ बाट २०७४ विजयी र २०७९ मा पराजित भएका थिए । नेकपा नेता नारायणकाजी श्रेष्ठले यसपालि सर्लाही–३ बाट उम्मेदवारी दिएका छन् । उनी २०७४ को निर्वाचनमा गोरखा–२ बाट पराजित भएका थिए । त्यसपछि गण्डकी प्रदेशबाट निर्वाचित हुँदै राष्ट्रिय सभा सदस्य बनेका थिए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि निर्वाचन क्षेत्र बदलेका छन् । उनी सप्तरी–२ बाट २०७४ मा विजयी र २०७९ मा पराजित भएका थिए, २०८० मा भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित भए । यसपालि भने सप्तरी–३ बाट उम्मेदवार बनेका छन् । 

राप्रपा नेता कमल थापाले निर्वाचन क्षेत्र बदलेर काठमाडौं–५ बाट उम्मेदवारी दिएका छन् । उनी २०७९ को निर्वाचनमा एमालेको सूर्य चिह्नबाट मकवानपुर–१ मा उम्मेदवार थिए । २०७४ मा मकवानपुर–१ मै राप्रपाबाट प्रतिस्पर्धामा थिए । ती दुवै निर्वाचनमा उनी पराजित भएका थिए ।

दुर्गा दुलाल दुर्गा दुलाल कान्तिपरका पत्रकार हुन् । उनी कानून, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully