गृह मन्त्रालयले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा बसोबास गर्ने घरधुरीका १ लाख ६२ हजार १ सय ४ जना अत्यधिक चिसोबाट प्रभावित हुन सक्ने जोखिम पहिल्याएको छ । यी क्षेत्रमा हिमपात भएमा कतिपय गाउँमा मानिस घरबाट बाहिर निस्कन पनि नसक्ने अवस्थामा रहेको गृहकै विवरणमा उल्लेख छ ।
काठमाडौँ — हिमाली भेगमा बसोबास गर्ने करिब डेढ लाख मानिस चिसोबाट प्रभावित छन् । गृह मन्त्रालयले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा बसोबास गर्ने घरधुरीका १ लाख ६२ हजार १ सय ४ जना अत्यधिक चिसोबाट प्रभावित हुनसक्ने जोखिम पहिल्याएको छ । यी क्षेत्रमा हिमपात भएमा कतिपय गाउँमा मानिस घरबाट बाहिर निस्कन पनि नसक्ने अवस्थामा रहेको गृहकै विवरणमा उल्लेख छ ।
खासगरी माघ र फागुनमा ती क्षेत्रमा चिसोको उच्च जोखिम छ । यता, आसन्न निर्वाचन पनि २१ फागुनमा देशभर एकसाथ हुँदैछ ।
यसबारे निर्वाचन आयोगका अधिकारी चिसोका कारण निर्वाचन प्रभावित हुने/नहुनेबारे खुल्न चाहेका छैनन् । गृहमन्त्री ओमप्रकाश अर्याल पनि अहिले नै यस विषयमा सरकारले केही नसोचेको र भवितव्य आएमा त्यसबेलै उचित निर्णय हुने बताउँछन् ।
‘सरकारको ध्यान निर्वाचन सम्पन्न गर्ने भन्नेमा छ, त्यहीअनुसार तयारी भइरहेको छ,’ मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले भने, ‘यस्तो केही आइपर्यो भने त्यतिबेलै सोचौंला, अहिले यसबाहेक अर्को सोचमा सरकारले केही विचार गरेको छैन ।' गृह मन्त्रालयका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न घरधुरीका १ लाख ६२ हजार १०४ जना मानिस चिसोबाट प्रभावित छन् ।
कोशी प्रदेशको इलामका सन्दकपुर र माईजोगमाई गाउँपालिकामा पुसदेखि चिसो अत्यधिक बढेको छ । फागुनसम्मै यो पालिकामा अत्यधिक चिसो हुन्छ ।
यही अवधिमा ताप्लेजुङको फक्ताङलुङ र मिक्वाखोला गाउँपालिका, पाँचथर फालेलुङ याङवरकमा चैतसम्म संखुवासभाको भोटखोलामा पुसदेखि फागुनसम्म, सोलुखुम्बुको खुम्बुपासाङ गाउँपालिकामा पनि चिसो अत्यधिक बढ्ने गरेको छ ।
बागमती प्रदेशका रामेछापको उमाकुण्ड र दोरम्बा शैलुङ, रसुवाको गोसाईंकुण्ड, दोलखाको कालिञ्चोक, भीमेश्वर, बिगु, गौरीशंकरमा पनि पुसदेखि चैतसम्म चिसो हुन्छ ।
गण्डकी प्रदेश अन्तर्गत गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका, मनाङको नार्पाभूमि, नासोँ, चामे मनाङ, ङिस्याङे कात्तिकदेखि नै अत्यधिक चिसो छ ।
मुस्ताङको वारागुङ, घरपझोङ, थासाङ, लोमान्थाङ, लो–घेकरमा वैशाखसम्मै चिसो हुन्छ ।
कर्णालीमा हुम्लाको नाम्खा सिमकोट, खार्पुनाथ, सर्केगार्ड, ताजाकोट, चंखेली, अदानचुली गाउँपालिकामा चैतसम्म, मुगुको मुगुम गाउँपालिका, डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डोमा चैतसम्म, दैलेखको महावु र गुराँस,जाजरकोटको नलगाड नगरपालिका, बारेकोट, कुशे, जुनिचाँदे, जुम्लाका प्राय अधिकांश स्थानीय तहमा यो अवधिमा चिसो हुन्छ ।
गृह मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको दार्चुलाका ब्यास गाउँपालिकाका विभिन्न भागमा अत्यधिक चिसो छ । डडेलधुराको अमरगढी र गन्यापधुरा, बाजुराको गौमुल, हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ र त्रिवेणीका विभिन्न स्थानमा चिसो छ ।
बझाङको सुर्मा र साइपाल, बैतडीका दशरथचन्द, पुर्चौडी, पाटन, सुर्नया, अछामको मंगलसेन,साँफेबगर, कमलबजार पञ्चदेवल विनायक, रामारोशन, तुर्माखाँद, ढकारी, चौरपाटी, बान्निगढी, मेल्लेख पनि चिसोबाट प्रभावित पालिका हुन् ।
यी सबै गरेर १ लाख ६२ हजार १ सय ४ जनाको जनसंख्या यो भेगमा पर्ने गृहको तथ्यांकमा उल्लेख छ ।
कतिपय पालिकाका उच्च हिमाली भेगबाट चिसो अवधिभर अस्थायी थातथलो खोजेर मानिस सरिसकेका छन् । निर्वाचनमा बस्ती नै खाली गरेर झरेमा विकल्पमा के गर्ने भन्नेमा आयोगले कुनै निर्णय गरिसकेको छैन ।
गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमपातका कारण स्थायी थातथलो छाडेर केही महिनाका लागि भन्दै ताप्लेजुङ, पाँचथर, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दार्चुला र बाजुराका उच्च हिमाली बस्तीबाट सरकार १६ हजार बढी मानिस अस्थायी रूपमा केही महिनाका लागि न्यानो खोज्दै अन्यत्र जाने गरेको देखिन्छ ।
केही ठाउँमा सीमा सुरक्षा र शान्तिसुरक्षा अनि अपराध रोकथाम तथा नियन्त्रणमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिट मात्रै बाकी रहेर बस्ती नै खाली हुने गरेको पनि विगतमा देखिन्थ्यो ।
सरकारले २१ फागुनका लागि एकै चरणमा निर्वाचन घोषणा गरिसेककामा मंगलबार नै एकसाथ सबै जिल्लामा उम्मेदवारी दर्ता भइसकेको छ । अब निर्वाचन प्रचारप्रसारमा दलहरू जुटिसकेका छन् ।
