एमाले महासचिव पोखरेलले गरे दाङ-२ मा उम्मेदवारी दर्ता

२०७९ को निर्वाचनमा उनी यही क्षेत्रमा तत्कालीन माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग १ सय ९३ मतान्तरले पराजित भएका थिए ।

माघ ६, २०८२

दुर्गालाल केसी

UML General Secretary Pokharel files candidacy in Dang-2

दाङ — एमाले महासचिव मुख्यमन्त्री शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नम्बर २ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन्।

उनको प्रस्तावकमा एमाले नेताहरू शम्भु गौतम र समर्थक लक्ष्मण आचार्य छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनी पुन: क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्न लागेका हुन् । २०७९ को निर्वाचनमा उनी यही क्षेत्रमा तत्कालीन माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग १ सय ९३ मतान्तरले पराजित भएका थिए ।

पोखरेल २०७४ मा दाङ २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए । यस क्षेत्रमा कांग्रेसबाट किरणकिशोर घिमिरेले उम्मेदवारी दर्ता गर्दै छन् । उनी पहिलोपटक उम्मेद्वार भएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट केन्द्रीय सदस्य एवं दाङ जिल्ला ईञ्चार्ज निर्मल आचार्यले उम्मेदवारी दर्ता गर्दै छन् । आचार्य २०७० को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट पराजित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवारी दर्ता गर्दै छन् । आचार्य नयाँ उम्मेदवार हुन्। दाङ निवासी उनी समानुपातिक सूचीबाट नाम फिर्ता लिई प्रत्यक्ष निर्वाचन लड्न थालेका हुन् ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully