महामन्त्री गुरुराज घिमिरेले बेलुकासम्म सबै निर्वाचन क्षेत्रको टुंगो लागिसक्ने बताए।
काठमाडौँ — कांग्रेसभित्रको एकता प्रयासको असर टिकट वितरणमा परेको छ। अरु दलहरूले उम्मेदवार टुंगो लगाइसक्दा कांग्रेसले भने टिकट वितरण नै टुंग्याउन सकेको छैन। महामन्त्री गुरुराज घिमिरेले बेलुकासम्म सबै निर्वाचन क्षेत्रको टुंगो लागिसक्ने बताए।
पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग सहमतिका लागि बिहानदेखि चलिरहेको वार्ताले टिकट वितरणसमेत प्रभावित भएको छ।
देउवा सहमतिका साथ अघि बढ्न तयार भएपछि उनको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक तथा अर्का नेता शेखर कोइरालाको पक्षबाट मिनेन्द्र रिजाल टिकट वितरणमा सहभागी भएका छन्।‘देउवा पक्षबाट खाण र लेखक र शेखर कोइरालाको तर्फबाट मिनेन्द्र रिजालमार्फत टिकट वितरणका काम अघि बढिरहेका छन्,’ कांग्रेस संस्थापन पक्षका अर्का एक पदाधिकारीले भने, ‘आज बेलुकासम्म टुंगो लगाउनेछौं।’
हिमाली र उच्च पहाडी क्षेत्रमा आइतबार बेलुका नै टिकट वितरण मोटोमोटी टुंग्याइएको थियो। तर पार्टीभित्रको एकताका लागि कतिपय ठाउँमा संशोधन गर्नुपर्ने भएकाले सार्वजनिक गरिएको छैन।यता नेता शेखर कोइरालाको सचिवालयले भने विशेष महाधिवेशनबाट निर्वाचित कसैसँग पनि कुनै पनि माध्यमबाट सम्पर्क र कुराकानी नभएको जनाएको छ।
‘जहाँसम्म डा. शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको छ, त्यसमा सत्यता छैन,’ कोइरालाको सचिवालयले भनेको छ, ‘देशभरबाट टिकट माग्न आउने नेताहरूको भिड लागेको छ। तर कहाँ बसेर, कसरी र कुन मापदण्डमा टिकट बाँडिँदैछ, त्यसको अहिलेसम्म कुनै जानकारी छैन।’
