पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाह एक ठाउँ उभिएकोमा खुसी व्यक्त गर्दै सोबिता गौतमले भनिन्, ‘आज दुईको उपस्थितिले देश हाँसेको छ ।'
काठमाडौँ — रास्वपा नेता सोबिता गौतमले पार्टीले मधेसको छोरालाई प्रधानमन्त्री बनाउन लागेको बताएकी छन् । मधेसमा जन्मिएका बालेन्द्र शाहलाई रास्वपाले प्रधानमन्त्री बनाउने उनको भनाइ थियो ।
जनकपुरमा सोमबार रास्वपाले गरेको चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा सचिवालय सदस्य गौतमले मधेसले मुलुकको नेतृत्व गर्नुपर्ने बताइन् ।
देशको अवस्था परिवर्तन गर्नका लागि मधेस अग्रपंक्तिमा उभिनुपर्ने गौतमको भनाइ थियो । देश बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रुपमा देख्न आतुर रहेको उनले बताइन् । उनले भनिन्, ‘यो देशको भाग्य परिवर्तनका लागि मधेसको अगुवाइ रहनैपर्छ । यो देशले आगामी निर्वाचनका लागि बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रुपमा देख्न तयार भएको छ।’
पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाह एक ठाउँमा उभिएपछ रास्वपाले पूर्णता पाएको उनको भनाइ थियो । उनले थपिन्, ‘आज दुईको उपस्थितिले देश हाँसेको छ । आशा पाएको छ । देशले भविष्य देखेको छ ।’
