१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा सुर्खेतका दुई, रुकुम पश्चिम र जाजरकोटमा भने उम्मेदवारको नाम टुंगिएको छैन ।
सुर्खेत — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले कर्णालीमा प्रत्यक्षतर्फका ८ निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएको छ ।
१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा सुर्खेतका दुई, रुकुम पश्चिम र जाजरकोटमा भने उम्मेदवारको नाम टुंगिएको छैन ।
प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । जसअनुसार सल्यानबाट जिल्ला सभापति केशबहादुर विष्ट उम्मेदवार बनेका छन् । उनी पूर्व जिल्ला समन्वय समिति प्रमुख हुन् भने पहिलोपल्ट संसदीय निर्वाचनमा भाग लिँदैछन् । डोल्पामा विशेष महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित कर्णबहादुर बुढाले उम्मेदवारी दिने टुंगो लागेको छ ।
दैलेख–१ बाट कांग्रेसले महासमिति सदस्य बासना थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा उपप्रमुखकी उम्मेदवार थिइन् । दैलेख क्षेत्र नम्बर २ मा पुनः दिक्पालकुमार शाही उम्मेदवार बनेका छन् । उनी गत प्रतिनिधिसभा निर्वाचनमा २० हजार १ सय ८३ मतसहित विजयी बनेका थिए । उनी नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यसमेत हुन् ।
कांग्रेसले हुम्लामा पूर्वसभापति जयपति रोकायालाई उम्मेदवार बनाएको छ भने कालीकोटमा पनि पूर्वसभापति हर्षबहादुर बम उम्मेदवार बनेका छन् । दुवैजना पहिलोपल्ट संसदीय निर्वाचनमा भाग लिन थालेका हुन् । त्यस्तै, जुम्लामा प्रतिनिधिसभा सदस्यको टिकट पाएका दिपबहादुर शाही र मुगुका खडकबहादुर शाही पनि पहिलोपल्ट चुनाव लड्दैछन् । उनीहरु पनि पूर्व जिल्ला सभापति हुन् ।
